१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
सडक डिभिजन कार्यालय काठमाडौंले नयाँबानेश्वर क्षेत्रमा साइकल लेनको ठाउँमा निर्माण गरेको फुटपाथ । तस्बिर : नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२०८० जेठ १८ बिहीबार ०९:०६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

साइकलको सवारी, यात्रीलाई भारी

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० जेठ १८ बिहीबार ०९:०६:००

साइकल लेन मासेर फुटपाथ निर्माण, महानगरसँग छैन साइकल लेनको योजना

विश्वका अधिकांश ठूला सहरमा साइकल प्रयोग संस्कारका रूपमा विकास भइरहेका वेला काठमाडौं महानगरसहित उपत्यकाका स्थानीय तहहरूमा भने ‘साइकलको सवारी भारी’ परिरहेको छ । 

स्थानीय सरकारले मात्रै होइन, संघीय सरकारले समेत ठूला सडकहरूमा साइकलका लागि ठाउँ छुट्याउन तथा लेन मार्किङ गर्न सकिरहेको छैन । कतिपय ठाउँमा साइकल लेन छुट्याए पनि लेन निर्माण गरिएको छैन भने कतै लेन मासेर फुटपाथ निर्माण भएको छ । साइकल चलाउन छुट्टै ठाउँ अभावका कारण उपत्यकामा साइकल यात्रा अत्यन्तै कष्ठ र जोखिमपूर्ण छ । सडक डिभिजन कार्यालय काठमाडौंले निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने नयाँबानेश्वर क्षेत्रमा साइकल लेनको ठाउँमा फुटपाथ निर्माण गरेको छ । फुटपाथका लागि छुट्टै ठाउँ भए पनि डिभिजनले लेन मासेर फुटपाथ निर्माण गरेको हो ।

डिभिजन प्रमुख नारायण निहुरेले साइकल लेन व्यवस्थित गर्नेबारे बजेट नभएकाले फुटपाथ विस्तार गरेको बताए । यद्यपि, साइकल लेनभन्दा बाहिर फुटपाथका लागि करिब आठ मिटर ठाउँ बाँकी छ । साइकल लेन राख्नुपर्ने ठाउँमा फुटपाथ बनाएपछि फुटपाथमा भने पार्किङस्थल बनेको छ । जसले ओहोरदोहोरमा सास्ती हुने गरेको पैदलयात्री बताउँछन् । ‘फुटपाथ चौडाइ ठूलो भएकाले, यसलाई विगतमा फुटपाथ र अन्य प्रयोजनका लागि (जस्तै साइकल ट्र्याक) छुट्याइएको थियो । अहिले साइड हिँड्ने अवस्था कमजोर भएकाले फुटपाथका रूपमा छोटो खण्डमा मात्र सुधार गरिएको छ,’ डिभिजन प्रमुख निहुरेले भने, ‘आगामी दिनमा साइकल लेनलाई यसको अपेक्षित मापदण्डका साथ सुधार गर्न आवश्यक छ ।’

भूषण तुलाधर, वातावरणविद् तथा सहरी यातायात सुधार अभियन्ता
सहरी सडक निर्माणमा लापरबाही भइरहेको छ । फुटपाथ बनाउनु राम्रो भए पनि साइकल लेन बनाउन छुट्याएको ठाउँमा फुटपाथ निर्माण गर्नु गलत हो । साइकल लेन मास्न मिल्दैन । भएका फुटपाथ पार्किङले खाइदिएका छन् । सहरी सडक निर्माणमा क्रमशः मुख्य सडक लेन, साइकल लेन, हरियाली, फुटपाथ हुनुपर्छ ।

सहरी सडक निर्माणमा लापरबाही
वातावरणविद् तथा सहरी यातायात सुधारका अभियन्ता भूषण तुलाधर सहरी सडक निर्माणमा लापरबाही भइरहेको बताउँछन् । उनले फुटपाथ बनाउनु राम्रो भए पनि सरकारले साइकल लेन बनाउने भनेर छुट्याएको ठाउँमा फुटपाथ निर्माण गर्नु गलत भएको बताए । ‘फुटपाथ बनाउनु राम्रो हो, तर साइकल लेन मास्न मिल्दैन,’ उनले भने, ‘छेउमा फुटपाथ छ, तर मोटरसाइकल र गाडी पार्किङले खाइदियो । सहरी सडक निर्माणमा मुख्य सडक लेन, त्यसपछि साइकल लेन, त्यसपछि हरियाली, त्यसपछि फुटपाथ हुनुपर्छ । तर, हामीकहाँ कुनै विषय ख्यालै गरिएको छैन ।’ 

सडक निर्माणसम्बन्धी अध्ययन विभागमा थन्कियो
उपत्यकाका सडकमा कहाँ–कहाँ साइकल लेन बनाउने भन्नेबारे करिब ६ वर्षपहिले अध्ययन पनि भएको थियो । काठमाडौं र ललितपुर महानगर, सडक विभाग, सडक डिभिजनलगायतले गरेको अध्ययन प्रतिवेदन लामो समयदेखि सडक विभागमा थन्किएको छ । त्यतिवेला अध्ययन भएपछि प्रतिवेदन सडक विभागलाई बुझाइएको थियो । प्रतिवेदन नहेरी साइकल लेन र फुटपाथ बनाउँदा धेरै त्रुटि भएरहेको अभियन्ता तुलाधरको भनाइ छ । उनका अनुसार हालको साइकल लेनमा धेरै डिजाइन त्रुटिहरू छन्, जसका कारण साइकलयात्रीहरूले प्रयोग गर्दैनन् । त्यसकारण पनि यसलाई सुधार गर्न आवश्यक रहेको तुलाधरले बताए । ‘यसबाहेक हामीले धेरैपटक सडक विभाग र भौतिक मन्त्रालयलाई भनेका छौँ,’ उनले भने, ‘तर, अहिले यो साइकल ट्र्याक हराएको छ, साइकल लेनलाई पनि कायम गरेको भए सडकको शोभा बढ्थ्यो ।’

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरले साना सडक मात्रै हेर्ने भएकाले साइकल लेन बनाउनेबारे योजना नरहेको बताए । ‘हामीसँग अहिले साइकल लेनको योजना छैन,’ उनले भने, ‘मुख्य सडक र ठूला सडकमा साइकल लेन केन्द्र सरकारले बनाउँछ ।’

भएका साइकल लेन पनि प्रयोगमा आएनन्
सरकारले नौ वर्षअघि माइतीघर–नयाँबानेश्वर–तिनकुने सडकखण्डमा साइकल लेन बनाएको थियो । तर, उक्त लेन हालसम्म कार्यान्वयन भएको छैन । साइकल चलाउन छुट्टै ठाउँ नबन्दा ठूला सवारीसाधनसँगै मुख्य सडकबाटै चलाउन बाध्य छन् । सरकारले सर्भिस लेनभन्दा बाहिरको भागलाई साइकल लेन बनाउने योजना अघि सारेको थियो । 

ललितपुरमा कोरेको लेन अव्यावहारिक 
ललितपुर महानगरले चार वर्षअघि नै ललितपुरका मुख्य सडकमा साइकल लेन बनाउने योजना अघि बढाएको थियो । केही मुख्य सडकमा साइकलका लागि डिभाइडर गाड्ने र रङ लगाए पनि व्यवस्थित र उपयुक्त हुन सकेको छैन । 

महानगरपालिकाले पाटन क्षेत्रमा पनि साइकल लेन निर्माण गरेको छ । तर, मुख्य सडककै छेउलाई साइकल लेन भनेर मार्किङ गर्दा दुर्घटनाको जोखिम र ट्राफिक जाम बढेको सर्वसाधारणको भनाइ छ । ललितपुरको सातदोबाटादेखि कुपन्डोलसम्म साइकल लेन भनेर हरियो चिह्न लगाएको छ । कतिपय ठाउँमा डिभाडर नै राखेर हरियो लगाएको छ । तर, यसले मुख्य सडकको क्षेत्रफल घट्ने हुँदा ठूला सवारी ओहोरदोहोरमा समस्या हुने गरेको छ । सहरी सडकको योजनाअनुसार ठूला सवारीसाधनकै ठाउँलाई साइकल लेन बनाउन मिल्दैन ।

तर, सर्भिस लेनकै छेउमा साइकल लेन बनाउनुपर्ने मापदण्ड भए पनि त्यसको कार्यान्वयन भएको छैन । डिजाइनअनुसार मुख्य सडक र सर्भिस लेनपछि मात्रै साइकल लेन बनाउन सकिन्छ । कतिपय सडकको संरचनाअनुसार साइकल लेन तोक्न सकिन्छ, तर मुख्य सडककै एक भागलाई हचुवामा साइकल लेन बनाएपछि त्यसले यातायात ओहोरदोहोरमा समस्या पार्ने विज्ञहरू बताउँछन् ।