१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
शान्ति तामाङ काठमाडाैं
Invalid date format o८:४१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दुई सातापछि भित्रियो  उपत्यकामा मेलम्चीको पानी

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४१:oo

समिति भन्छ– वर्षायाममा पानी आउनेमा ढुक्क छैन

आयोजना मर्मतका लागि करिब दुई साता बन्द गरिएको मेलम्चीको पानी पुनः काठमाडौं आउन थालेको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार १६ जेठमा मेलम्चीको पानी उपत्यका आइपुगेको हो ।

मेलम्ची खानेपानी आयोजना मर्मतका लागि ६ जेठमा पानीको मुहान बन्द गरिएको थियो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका– १ स्थित आयोजनाको सुरुङ दुई वर्षअघिको बाढीले क्षति पु¥याएको थियो । त्यसयता ‘हेडवक्र्स’लगायत संरचना मर्मत नभएका यस वर्ष बर्खाअघि मर्मत गर्न बन्द गरिएको हो । ‘सुरक्षाका केही ‘आइटम’ मर्मत गरेर पानी उपत्यका ल्याएका छौँ,’ समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने, ‘ठूलो गेग्रानसहित बाढी आएन भने बर्खामा मेलम्चीको पानी बन्द गर्नुपर्ने अवस्था रहँदैन ।’ 

दुई साता उपत्यकामा मेलम्चीको पानी रोकिँदा हाहाकार हुन थालिसकेको थियो । पानी पुनः आएपछि उपत्यकामा केही राहत भएको छ । बुधबारदेखि नियमित पानी वितरण सुरु भइसकेको समितिले जनाएको छ । ०७८ र ०७९ सालको बर्खा मेलम्चीको पानी उपत्यकामा ल्याइएको थिएन । असार र साउन ०७८ मा आएको बाढीका कारण करिब १० महिनासम्म मेलम्ची अवरुद्ध भएको थियो । आयोजनाको पुनर्निर्माणपछि ११ वैशाख ०७९ वैशाखबाट पानी वितरण थालिए पनि वर्षामा रोकिएको थियो । गत २४ मंसिरबाट पुनः पानी वितरण थालिएको थियो । वर्षायाममा समस्या आउन नदिन भन्दै ६ जेटमा पुनः पानी बन्द गरी मर्मत गरिएको हो । 

उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले भने वर्षायाममा समेत जम्मा १६ करोड लिटर पानी वितरण गर्दै आएको छ । सुक्खा मौसममा भने जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसमा पनि ४० प्रतिशत चुहावट भएर सात करोड ८० लाख लिटर मात्रै उपभोक्ताको घरमा पुग्ने गरेको तथ्यांक छ  । मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर प्रणालीमा थपिएको छ । 

सरकारले मेलम्ची खानेपानी आयोजनाको अस्थायी ‘हेडवक्र्स’को स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति गर्ने व्यवस्था मिलाउने बताएको थियो । तर, समितिले भने यस विषयमा अहिले नै ढुक्क रहने अवस्था नभएको जनाएको छ । ‘बर्खाको समयमा मेलम्ची खोलाको पानी धमिलो मात्र भयो भने उपत्यकामा पानी आउँछ । तर, ठूला ढुंगासहित बाढी आए बन्द गर्नुपर्ने हुन्छ । बर्खामा पनि ढुक्क भएर पानी ल्याउने अवस्था अझै बनिसकेको छैन,’ प्रवक्ता पन्तले भने । 

सरकारले आव ०८०/८१ को बजेट सार्वजनिक गर्दै मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको सुझावबमोजिम आयोजना दिगो रूपमा सञ्चालन गर्ने जनाएको थियो । अर्थमन्त्री प्रकाशशरण महतले बजेट वक्तव्यमार्फत उपत्यकाको खानेपानी आवश्यकताको दिगो व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी र ठोस्ने खोला तथा भक्तपुरको महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्यता अध्ययनलगायत पूर्वतयारी गर्नेसमेत बताएका थिए ।

यस्तै, उपत्यकाको चक्रपथभित्र नयाँ वितरण प्रणालीमार्फत पानी वितरण गर्ने घोषणा पनि भएको थियो । दोस्रो चरणअन्तर्गत कीर्तिपुर, भक्तपुर, ठिमी, जोरपाटी, टोखा, कपन र पेप्सीकोला क्षेत्रमा पाइपलाइन निर्माण सुरु हुने र पानीको सतह तथा भूमिगत स्रोतको संरक्षण गर्दै खानेपानी आपूर्तिको दिगो व्यवस्था मिलाइने विषय बजेटमा समावेश छ । यस्तै, स्थानीय तहसँगको सहकार्यमा उपत्यकाका विभिन्न स्थानमा ढुंगेधारा, इनार, पोखरीलगायत परम्परागत पानीको मूल संरक्षण गरिने पनि जनाइएको थियो । 

सरकारले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दोस्रो चरणको यांग्री र लार्के खोलाको पानी जोड्ने गरी संरचना निर्माण अघि बढाउने भएको छ । दुई वर्षअघि नै ०८१ सालमा यी दुई खोलाको पानी उपत्यका ल्याउने घोषणा भए पनि ०८१ सालबाट बल्ल काम सुरु हुने भएको हो ।