१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुना कुँवर काठमाडाैं
२०८० जेठ १८ बिहीबार ०६:२०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

मृतक कामदारका परिवारलाई बिमा र बोर्डबाट दिइने भुक्तानीलाई एकीकृत गरिँदै

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०८० जेठ १८ बिहीबार ०६:२०:००

वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु हुँदा वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीबाट पाउने रकम एकीकृत रूपमा मृतकका कामदारको परिवारलाई भुक्तानी गरिने भएको छ । सहयोग रकममा ठगी हुन थालेपछि नेपाल बिमा प्राधिकरण र वैदेशिक रोजगार बोर्डले एकीकृत रूपमा भुक्तानी गर्ने प्रणालीको विकास गर्ने तयारी थालेको नेपाल बिमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए ।

हालको व्यवस्थाअनुसार बोर्डबाट सहायता रकम पाउन मृतक कामदारका परिवारले अनलाइनमार्फत नै निवेदन दिन सक्नेछन् । बोर्डले पनि सीधै सम्बन्धित व्यक्तिको बैंक खातामा रकम राखिदिन्छ । त्यसैगरी, सोही निवेदनका आधारमा बिमा कम्पनीले पनि भुक्तानी दिने व्यवस्था गर्न लागिएको उनले बताए । पीडितले बोर्डमा निवेदन दिँदा नै सबै कागजपत्र बुझाइसकेका हुन्छन् । सोही कागजपत्रमा बिमा कम्पनीको पनि पहुँच हुने गरी संरचना बनाउने तयारी गरिएको उनले बताए । बोर्डले भुक्तानी गर्ने कागजपत्रकै आधारमा कम्पनीले पनि अनलाइनमार्फत नै पीडितको खातामा सीधै रकम बुझाउनुपर्ने व्यवस्था गर्न लागिएको उनले बताए । 

हालको व्यवस्थाअनुसार भने पीडितले बोर्ड र बिमा कम्पनीले छुट्टाछुट्टै निवेदन दिनुपर्छ । बिमा कम्पनीको स्थानीय शाखा कार्यालयले नै भुक्तानी गर्ने व्यवस्था छ । तर, यसरी भुक्तानी गर्दा बिमा कम्पनीका शाखा प्रमुखले पीडितलाई जबर्जस्ती बिमा गर्न लगाउने सार्वजनिक भएको थियो । 

गत वैशाखदेखि सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका लागि सामाजिक सुरक्षा पनि अनिवार्य गरेपछि कामदार विदेश जाने समयमा पनि कल्याणकारी कोष, बिमा र सामाजिक सुरक्षाबापतको रकम भुक्तानी गर्न मिल्ने व्यवस्था गर्न लागिएको उनले बताए । 

 परिवारले रकम पाउन थाले  
वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएपछि बिमा र कल्याणकारी कोषबाट प्राप्त गर्ने सहयोग रकम परिवारले पाउन थालेका छन् । दाङकी रबिना थापाले नयाँ पत्रिकामा समाचार आएपछि बिमा कम्पनी र वैदेशिक रोजगार बोर्डबाट पाउनुपर्ने सबै रकम आफ्नै बैंक खातामा जम्मा भएको बताइन् । टेलिफोनमार्फत जानकारी दिँदै उनले भनिन्– ‘नेसनल लाइफ इन्स्योरेन्सले करिब १३ लाख र बोर्डले सात लाख नेपाल बैंकको खातामा नै पठाइदिएको छ ।’

रबिनाका श्रीमान् २६ वर्षीय गंगाबहादुर थापा कुवेतबाट छुट्टीमा आउँदा निधन भएको थियो । श्रीमान्को मृत्यु भएसँगै दलालहरूले उनलाई बिमा कम्पनी र बोर्डबाट पाउने रकम दिलाइदिन्छु भन्दै कमिसनको माग गरेका थिए । दलालहरूले रबिनालाई फकाएर काठमाडौंसम्म ल्याइपुर्‍याएका थिए । तर, सामी कार्यक्रममार्फत दलालले कमिसनका लागि सहयोगको नाटक गरेको थाहा पाएपछि उनी दलालको आँखा छलेर घर फर्किएकी थिइन् । रकम प्राप्त गर्न दाङस्थित सामी कार्यक्रमले सहयोग गरेको उनले बताइन् । बिमा र बोर्डबाट पाएको रकमलाई छोरा र आफ्नो नाममा मुद्दती खातामा जम्मा गरेको उनले सुनाइन् । 

धनुषा जनकपुरका स्वर्गीय मोस्तकिम नदाफका भाइ नइम नदाफले पनि बिमा कम्पनी र बोर्डबाट रकम पाएको बताए । वैदेशिक रोजगारीका लागि कतार गएका मोस्तकिम गत असोजमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो । दाजुको मृत्युपछि परिवारलाई बोर्डले कल्याणकारी कोषमार्फत सात लाख रुपैयाँ भुक्तानी गरेको भाइ नइमले बताए । तर, ज्योति लाइफ इन्स्योरेन्सले भने बिमा रकम भुक्तानी गर्न आनाकानी गरेको थियो । तर, नयाँ पत्रिकाले पीडितसँग सोधपुछ गरेको थाहा पाएपछि कम्पनीले रकम दिएको उनले बताए । 

बिचौलियाले ठगेको समाचार प्रकाशन भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बिमा प्राधिकरण, वैदेशिक रोजगार बोर्ड र वैदेशिक रोजगार विभागलाई श्रमिकका परिवारले पाउने सुविधाको विषयमा सोधपुछ गरेको थियो । साथै, मन्त्रालयले मृतक श्रमिकको परिवारले रकम स्वतः पाउने हुनाले कसैलाई भनसुन गर्नु नपर्ने भन्दै सर्वसाधारणका लागि सूचना जारी गरेको थियो ।

त्यस्तै, नियामक निकाय नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीसँग स्पष्टीकरण मागेको थियो । मृतक कामदारको परिवारले पाउनुपर्ने बिमा रकम सम्बन्धित शाखा कार्यालयबाट सहज रूपमा उपलब्ध गराउन प्राधिकरणले कम्पनीलाई परिपत्र गरेको थियो । 

 मृतक कामदारका परिवारले पाउने सुविधा के–के छन् ?
वैदेशिक रोजगार नियमावली, ०६४ को दफा २८ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गएका कामदारको श्रम अवधिमा मृत्यु भएमा परिवारले वैदेशिक रोजगार बोर्डबाट सात लाख रुपैयाँ सहयोग पाउने व्यवस्था छ । त्यस्तै, मृतकका छोराछोरीले आठ कक्षासम्म अध्ययनका लागि वार्षिक आठ हजार र सोभन्दा उपल्लो तहमा अध्ययनरत भए वार्षिक १२ हजार सहयोग पाउँछन् । त्यस्तै, मृतक कामदारको श्रीमान्/श्रीमती, छोराछोरी, आमा र बुबाले पाँच प्रकारका घातक रोग (किड्नी फेल, मुटुरोग, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स)मा ५० हजार रुपैयाँसम्म उपचार खर्च पाउँछन् । मृतकको शव बोर्डले घरसम्मै ल्याइदिन्छ भने दाहसंस्कारका लागि परिवारलाई २५ हजार रुपैयाँसम्म उपलब्ध पनि गराउँछ । 

वैदेशिक रोजगारीका क्रममा घाइते भएका कामदारले पनि स्वास्थ्य अवस्थाअनुसार न्यूनतम सात हजारदेखि अधिकतम सात लाख रुपैयाँसम्म आर्थिक सहयोग पाउँछ । मृतक कामदारका परिवारले वैदेशिक रोजगारी म्यादी जीवन बिमाबापत कम्तीमा १० लाखदेखि बढीमा १४ लाख रुपैयाँसम्म (मृतकको उमेर र श्रम स्वीकृतिको अवधिअनुसार) पाउने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

कम्पनीले बिमितको उमेरअनुसार बिमा रकम भुक्तानी गर्छ । १८ देखि ३५ वर्षका कामदारले तीन हजार सात सय आठ रुपैयाँ, ३६ देखि ५० वर्षका कामदारले चार हजार नौ सय ३१ रुपैयाँ र ५० देखि ६० वर्षका कामदारले नौ हजार चार सय ६३ रुपैयाँ बिमा शुल्क भुक्तानी गर्नुपर्छ । त्यस्तै, वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको कल्याणकारी कोषमा १५ हजार जम्मा गर्नुपर्छ । श्रम स्वीकृति अवधि सकिएका कामदारले कुनै पनि सुविधा पाउँदैनन् ।