१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
पर्शुराम काफ्ले नयाँ दिल्ली
२o८१ बैशाख ३० आइतबार १२:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डलाई दिल्लीले कसरी गर्दै छ स्वागत ? 

Read Time : > 2 मिनेट
पर्शुराम काफ्ले, नयाँ दिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:२o:oo

पछिल्ला वर्षयता बढेको भारतको अन्तर्राष्ट्रिय व्यक्तित्व र यो वर्षको सुरुवातीयता प्रधानमन्त्री नरेन्द्र मोदीको कूटनीतिक व्यस्तता माझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतले आज नयाँदिल्लीमा स्वागत गर्दै छ। 

भारतको नेतृत्व जी– ७, जी– २०, सांघाई कर्पोरेसन अर्गनाइजेसन (एससिओ) जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चहरूमा मात्र नभएर भारत यतिवेला प्रमुख अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि विभिन्न प्रकारले सामेल छ। 

भारतीय नेतृत्वको छिमेकबाहिर व्यस्तता बढे पनि उसले पछिल्लोपटक भुटानका राजा जिग्मी गेसर नाम्ग्याल वाङ्चुकलाई स्वागत गरेकोमा आज नेपालका प्रधानमन्त्रीलाई रातो कार्पेट बिच्छ्याउँदै छ। 

भारतका लागि छिमेक र त्यसमा पनि नेपालको महत्वमा तलमाथि भएको होइन। जानकारहरूका अनुसार भारतीय नेतृत्वसँग यतिवेला छिमेकी समकक्षीहरूसँग संवाद गर्ने समयको सीमितता छ। 

भारतको कूटनीतिक व्यस्तता यतिसम्म देखिन्छ कि यसपटक भारतीय विदेशमन्त्री डा. जयशंकर छिमेकी नेपालको प्रधानमन्त्रीको भ्रमणका वेला भारतबाहिर छन्। भारतीय प्रधानमन्त्री मोदीको अर्को महिना हुने अमेरिकाको राजकीय भ्रमणको तयारीलगायतका लागि जयशंकर अमेरिकातर्फको यात्रामा छन्। नेपालतर्फबाट हेर्दा असहज र अस्वाभाविक लागे पनि भारतको अन्तर्राष्ट्रिय व्यक्तित्वको यो यथार्थलाई आत्मसात् गर्नैपर्छ। 

अन्तर्राष्ट्रिय मञ्चहरूको आयोजक, सक्रिय सहभागी, कतिपय घटनाक्रममा महत्वपूर्ण खेलाडीका रूपमा उसको बाह्य व्यस्तता र संलग्नता छँदै छ, अर्को वर्ष लोकसभाको चुनावको सम्मुखमा आइपुग्दा भारतीय नेतृत्वको व्यस्तता अझै थपिनेछ । त्यस हिसाबले नेपाली नेतृत्वका लागि भारतीय नेतृत्वसँग महत्वपूर्ण मुद्दामा छलफलका लागि यो ऐतिहासिक अवसर पनि हो। 

हिजोको एउटा अनौपचारिक बसाइमा भारतका लागि पूर्वनेपाली राजदूत रणजित रायले सुनाए, ‘अहिले भारतीय नेतृत्वको व्यस्तता निकै बढेको छ। पाँच वर्षअघि र अहिले भारतको प्रोफाइल र व्यस्तता बढेको छ। हिजोको भारत आज छैन।’ 

नेपाल–भारत सम्बन्धका जानकार  पूर्वजनरल अशोक मेहता पनि भन्दै थिए, ‘हाम्रो प्राथमिकतामा छिमेक छँदै छ, तर अहिले राजनीतिक नेतृत्वकाे व्यस्तता छिमेकभन्दा बाहिर धेरै छ । तर, भारतले छिमेकमा र अझ बढी नेपालमा संलग्नता बढाउनुपर्छ । श्रीलंकासँगको सम्बन्धमा चमत्कार गरेका विदेशमन्त्री डा. जयशंकरले अब नेपालसँगको संलग्नता बढाउनुभयो भने दुई देशको सम्बन्धमा नयाँ आयाम थपिन्छ।’ 

छिमेकमा पछिल्लोपटक भारतले श्रीलंकासँगको सम्बन्ध सञ्चालनलाई प्राथमिकतामा राख्यो। त्यसपछि भुटानसँग उसको संलग्नता थपियो। श्रीलंकालाई चीनबाट फर्काएर भारतसँग नजिक ल्याउने सफलताको श्रेय दिल्लीको कूटनीतिक समुदायले विदेशमन्त्री जयशंकरको कूटनीतिक कौशललाई दिने गरेको छ।  त्यसलाई उत्साह मानेका यहाँको रणनीतिक र कूटनीतिक समुदायले नेपालसँग थप विश्वास अभिवृद्धि गर्न मिहिनेत गर्नुपर्छ भन्ने धारणा राख्दछ । विशेष गरेर नेपालको राजनीतिक स्थिरताका लागि भारतको चासो र संलग्नता  राजनीतिक तहमा बढाउनुपर्ने मत दिल्लीमा देखिन्छ। 

छिमेक सम्बन्धमा चिन्तनमनन गर्नेहरूको साझा मत छ कि यसका लागि प्रधानमन्त्री र विदेशमन्त्रीको तहमा नेपालमा पनि भ्रमण भयो भने र  राजनीतिक क्रियाकलापहरू बढ्यो भने नेपालमा सरकार र समग्र देशकै स्थिरतामा योगदान पुग्नेछ । यसो गरिरहँदा नेपालको संवेदनशीलतालाई बिर्सन नहुनेमा पनि उनीहरूको साझा मत देखिन्छ। 

नेपाल–भारत आर्थिक साझेदारीमा जोड दिँदै आएका लेखक एवं विश्लेषक अतुल ठाकुर भन्छन्, ‘दुई देशले परम्परागत असहजतालाई पन्छाएर  दुईपक्षीय सहजतामा बढी जोड दिनुपर्छ र दिनेछन् भन्ने लाग्छ। आर्थिक साझेदारीमा दुवैको जोड हुनुपर्छ।’

नेपाल र भारतबीच यसपटक दिल्लीमा साझा हितका ऊर्जा व्यापार, कनेक्टिभिटी, वाणिज्य तथा व्यापार, लगानी, पर्यटन, हवाई रुट, जनस्तरको सम्बन्धमा छलफल हुन्छ र पूर्वतयारी गरिएका सम्झौताहरूमा हस्ताक्षर पनि हुनेछ। तर, यसपटक दुवै पक्ष विवादका विषयहरू होइन, सहकार्यका विषयमा बढी केन्द्रित हुन खोजेको देखिन्छ । इपिजी प्रतिवेदनमा भारतको अरुचि नेपालले बुझेको छ। 

गोर्खा भर्ती रोकिएको विषयमा भारत र नेपाल दुवै छलफल गर्ने मुडमा अहिले छैनन् । वार्षिक रूपमा करिब एक हजार तीन सयजना नेपाली युवाको भारतीय सेनामा भर्ती रोकिएको तीन वर्ष भएको छ । यो विषय संवादबाट सुल्झाउनुपर्नेछ, तर छलफलमा छैन ।

नेपालका चीन र अमेरिकाको बढ्दो संलग्नता भारतले बुझेको छ। यद्यपि, बदलिँदो समयमा यसको यथार्थलाई उसले महसुस गरेको छ। भारतसँग नेपालको सम्बन्धको अपरिहार्यता, सम्बन्धको बहुआयामिकता र सुदृढ सम्बन्धको निर्विकल्प अवस्थालाई दुवैले हार्दिक रूपमा अनुभूत गरेका छन्। 

नेपाल र भारतबीच सुल्झिन बाँकी सीमा समस्यालाई स्थापित कूटनीतिक संयन्त्रमा छलफल बढाउनुपर्छ भन्नेमा दुवै देश सहमत छन्। त्यसही सैद्धान्तिक सहमति यो भ्रमणमा पनि दोहोरिनेछ। दुवैले एक–अर्काको सुरक्षा चासो सम्बोधन गर्न पुनः प्रतिबद्धता पनि यसबीचमा गर्नेछन्। 

दुवैतिर विश्वासिलो सुरक्षा सहकार्यको अवस्थालाई दुवै नेतृत्वले आत्मसात् गरेको बुझिन्छ। इतिहासले थापेरेको बोझको भारीले थिचिने होइन, वर्तमानमा अवसरको उपयोग गर्न यो भ्रमण सहयोग भयो भने नेपाल–भारत सम्बन्धमा एउटा इँटा थप्नेछ। यही पृष्ठभूमिमा प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीले आज स्वागत गर्दै छ। 


 

ad
ad