
चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै छन् । उनीसँग सरकारी टोली ४९ सदस्यीय र बाहिरबाट गरेर एक सयभन्दा बढी सहभागी हुने परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
गत मंसिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथमिकतामा राखेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डको यो पहिलो औपचारिक भारत भ्रमण हो । भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत जाने कार्यक्रम तय भएको छ ।
परराष्ट्रमन्त्री साउदका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ । मन्त्री साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको उद्घाटनलगायत कार्यसूची तय भएको र थप विषयमा छलफल जारी रहेको जानकारी दिएका छन् ।
यस्तै, नेपालको ऊर्जा तथा जलविद्युतकाे क्षेत्रमा भारतीय लगानी प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गबारे भ्रमणका क्रममा छलफल हुनेछ । नेपालले भ्रमणका क्रममा दीर्घकालीन रूपमा बिजुली व्यापारको विषयलाई प्राथमिकताका साथ अगाडि सारेको छ । हरेक वर्ष नवीकरण गर्नुपर्ने र सुरुदेखि नै प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले त्यसमा प्रक्रियागत झन्झट रहँदै आएको छ ।