१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

साढे चार करोड गैरकानुनी सम्पत्ति जोड्ने उपसचिवविरुद्ध मुद्दा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:५६:oo

झन्डै साढे चार करोडको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका पूर्ववरिष्ठ निरीक्षक (उपसचिवसरह) शशिभूषणकुमार यादवविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सार्वजनिक सेवामा कार्यरत रहँदा अनुचित लाभ लिएर गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारको दाबी छ। ०७८ मंसिरमा सेवानिवृत्त भएका उनी सेवामा रहँदा पनि विवादित मानिन्थे। 

अख्तियारले उनी सार्वजनिक सेवा प्रवेश गरेको ८ जेठ ०४६ देखि ०७९ असार मसान्तसम्मको आम्दानी र खर्च तथा लगानीको विश्लेषण गरेको थियो। 

उक्त अवधिमा उनको समग्र आयव्ययको विश्‍लेषण गर्दा खर्च तथा लगानीतर्फ आफू र एकासंगोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, बिमाको प्रिमियम भुक्तानी, सेयर खरिद, अध्ययन खर्च, विदेश भ्रमण, ऋण र सापटीको साँवाब्याज भुक्तानी, पारिवारिक घरखर्च, विभिन्न शीर्षकमा राजस्व र कर तिरेको र बैंक मौज्दातसमेत गरी कुल सात करोड २४ लाख ५६ हजार रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ। 

सोही अवधिमा उनको पारिश्रमिक र तलबबाट जीवन निर्वाह खर्च कटाई बचत, जग्गा बिक्री, श्रीमतीको पारिश्रमिक बचत, कृषि आयबाट बचत, घरभाडा, बुहारीको पारिश्रमिक बचत, बिमा फिर्ता, विदेश तालिम आयबाट बचत, ऋण सापटी, उपचार खर्च, सञ्चित बिदाको रकम, कर्मचारी सञ्चय कोष फिर्ता रकम, नागरिक लगानी कोष, श्रीमतीको अवकाशबाट प्राप्त रकम, निजको पेन्सन आयबाट बचत र छोराको तलब बचतसमेत गरी जम्मा दुई करोड ७७ लाख २२ हजार आय आर्जन देखिएको थियो। 

‘निजको वैध आय दुई करोड ७७ लाख २२ हजारको अनुपातमा सोही अवधिमा निजले सात करोड २४ लाख ५६ हजार खर्च तथा लगानी गरेको देखिँदा निजको कुल वैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा निजको आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादात्म्यता देखिन नआई चार करोड ४७ लाख ३४ हजारबराबर सम्पत्ति ऋणात्मक देखिई वैधानिक स्रोत पुष्टि हुन सकेन,’ आरोपपत्रमा अख्तियारले भनेको छ, ‘निजको वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति अमिल्दो र अस्वाभाविक देखिएबाट वैधानिक रूपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको निज र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्चस्तरको जीवनयापन गरेको प्रमाणित हुन आयो,’ सोही रकमलाई बिगो कायम गरी अख्तियारले उनीविरुद्ध मुद्दा दर्ता गरेको छ। 

सम्पत्ति जफत प्रयोजनका लागि अख्तियारले उनकी पत्नी रिता रानी र पुत्रद्वय अविनाश यादव र विकास यादवलाई पनि प्रतिवादी कायम गरेको छ।