
धादिङको बेनीघाट रोराङ गाउँपालिका– २ मासखर्कमा भिरबाट लडेर आठ महिनाकी गर्भवती १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
‘श्रीमती अप्सरा आठ महिनाको गर्भवती थिइन् । म मकै गोड्न मेला गएको थिएँ । आमाछोरै भिरबाट लडेको थाहा पाएर आएँ । तर, आमाछोरा कसैलाई पनि बचाउन सकिनँ । दुवैको ज्यान गयो,’ अप्सराका श्रीमान् उमेश चेपाङले भने ।
घाँस काट्न जाँदा आमासँगै डोकोमा हालेर छोरा साजन पनि लगेको र भिरबाट छोरा लडेपछि ज्यान बचाउने क्रममा आमाछोराको ज्यान गएको हुन सक्ने बेनीघाट रोराङ गाउँपालिका– २ का वडाध्यक्ष हेमराज भुजेलले बताए ।
करिब दुई सय मिटर तल खसेका दुई वर्षीय साजनको घटनास्थनमै ज्यान गएको उनले बताए । गोठालाहरूले देखेपछि अप्सराको भने उद्धार गरिएको थियो । तर, मलेखुस्थित टिचिङ अस्पताल ल्याउने क्रममा बाटोमै उनको पनि ज्यान गएको वडाध्यक्ष भुजेलले जानकारी दिए । अप्सराको पेटमा भएको शिशुको पनि ज्यान गइसकेको र शवको पोस्टमार्टमका लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।