मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
ग्वार्को चोकमा निर्माणाधीन फ्लाई ओभर । फाइल तस्बिर
शान्ति तामाङ काठमाडाैं
२०८० जेठ १६ मंगलबार १०:०३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बजेटले समेट्यो मेयर साहको अभियान : बागमती, विष्णुमतीलगायतका नदी–किनारका अनधिकृत बस्ती हटाइने 

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०८० जेठ १६ मंगलबार १०:०३:००

- बागमतीमा पानीको न्यूनतम बहाब सुनिश्चित गर्न शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा ड्याम निर्माण गरिने
- व्यवस्थित सहरीकरणका लागि ललितपुरको गोदावरी तथा सुनाकोठी, काठमाडौंको तारकेश्वर तथा इचंगुनारायण र चन्द्रागिरि नगरपालिकामा खुला क्षेत्र, हरियाली पार्क र व्यवस्थित पूर्वाधारसहितका आवासीय क्षेत्र विकास गर्ने
- काठमाडौंका ४४ वटा व्यस्त चोकमा ‘स्मार्ट ट्राफिक लाइट’ जडानसमेत गर्ने
- सिंहदरबार पश्चिमी खण्ड, बबरमहल, केशरमहललगायत १० वटा पुरातात्विक सम्पदाको प्रबलीकरण सम्पन्न गर्ने

सरकारले बागमती र विष्णुमतीलगायत उपत्यकाका नदी–किनारामा रहेका अनधिकृत बस्ती हटाउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुमबासीको पहिचान र उनीहरूको वासस्थानका लागि वैकल्पिक व्यवस्थापन गरी नदी–किनारामा रहेका अनधिकृत बसोवास हटाउने बताएका हुन् । सरकाको निर्णयसँगै काठमाडौं महानगरका मेयर बालेन्द्र साहको नदी–किनारामा रहेको अनधिकृत बस्ती हटाउने अभियानलाई साथ पुगेको छ । नदी–किनारमा रहेका अनधिकृत बस्ती हटाउन मेयर साहले पटक–पटक प्रयास गरे पनि सफल हुन सकेका थिएनन् । यो विषयमा केन्द्र सरकारले सहयोग नगरेको मेयर साहले आरोप लगाउँदै आएका थिए । 

यसैगरी, सरकारले ‘बागमती नदीको सान, सभ्यताको उत्थान’ भन्ने नाराका साथ नदी सफाइ अभियानलाई पनि निरन्तरता दिने बताएको छ । उपत्यकाको जलाधार संरक्षण एवं सुक्खायाममा समेत बागमती नदीमा पानीको न्यूनतम बहाब सुनिश्चित गर्न शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा नागमती ड्याम निर्माण कार्य सुरु गर्ने बताइएको छ । 

मेलम्चीको पानी बाह्रै महिना धारामा 
सरकारले मेलम्ची खानेपानी आयोजनाको अस्थायी हेडवक्र्स स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति गर्ने व्यवस्था मिलाउने बजेटमार्फत घोषणा गरेको छ । बजेट सार्वजनिक गर्दै मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको सुझावबमोजिम आयोजनाको दिगो सञ्चालन गरिने जनाइएको छ । यसैगरी, सरकारले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दोस्रो चरणको यांग्री र लार्के खोलालाई पनि जोड्ने गरी संरचना निर्माण अघि बढाउने जनाएको छ । अर्थमन्त्री महतले बजेट वक्तव्यमार्फत काठमाडौं उपत्यकाको खानेपानी आवश्यकताको दिगो व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी र ठोस्ने खोला तथा भक्तपुरको महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्यता अध्ययनलगायत पूर्वतयारी सम्पन्न गर्नेसमेत बताएका छन् । 

आव ०८०/८१ को बजेटमा उपत्यकाको चक्रपथभित्र नयाँ वितरण प्रणालीमार्फत पानी बाँड्ने उल्लेख गरिएको छ । दोस्रो चरणअन्तर्गत कीर्तिपुर, भक्तपुर, ठिमी, जोरपाटी, टोखा, कपन र पेप्सीकोला क्षेत्रमा पाइपलाइन निर्माण सुरु हुनेछ । पानीको सतह तथा भूमिगत स्रोतको संरक्षण गर्दै खानेपानी आपूर्तिको दिगो व्यवस्था मिलाइने भएको छ भने स्थानीय तहसँगको सहकार्यमा उपत्यकाका विभिन्न स्थानमा ढुंगेधारा, इनार, पोखरीलगायत परम्परागत पानीको मूल संरक्षण गरिनेछ ।

भूकम्पबाट क्षतिग्रस्त भएका २५ वटा सम्पदालाई पनि सरकारले यसै आवभित्र पुनर्निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । नुवाकोट दरबार क्षेत्रसहित पुनर्निर्माण बाँकी रहेका २५ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण गरिने अर्थमन्त्री महतले बताए । त्यस्तै, धादिङ, गोर्खा, नुवाकोट जिल्लामा रहेका गुम्बा निर्माणलाई पनि प्राथमिकता दिने उनले घोषणा गरे । यसैगरी, भूकम्पले क्षति पुर्‍याएका र पुनर्निर्माण जारी रहेका सिंहदरबार पश्चिमी खण्ड, बबरमहल, केशरमहललगायत १० वटा पुरातात्विक सम्पदाको प्रबलीकरण सम्पन्न गर्ने भएको छ । 

पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याइने
सरकारले विश्वसम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याउने भएको छ । धार्मिक, सांस्कृतिक स्थललाई समेटेर धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गरिने अर्थमन्त्री डा. महतले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/०८१ को बजेट वक्तव्यमा उल्लेख छ । सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन गरी पर्यटन प्रवद्र्धन गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । यस्तै, गुठी जग्गा संरक्षणका लागि एकीकृत अभिलेख तयार गरिने भएको छ ।

कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाई ओभर 
उपत्यकाको धेरै नै सवारी जाम हुने मुख्य तीन चोक कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा सरकारले ‘फ्लाई ओभर’ निर्माण गर्ने भएको छ । यस्तै, काठमाडौंका ४४ वटा व्यस्त चोकमा ‘स्मार्ट ट्राफिक लाइट’ जडानसमेत गर्ने भएको छ । सरकारले ग्वार्कोको निर्माणाधीन फ्लाई ओभर आगामी आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने भएको छ । सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने र सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्थासमेत गरिने बजेटमा उल्लेख छ । उपत्यकाको सहरी विकासका लागि बृहत् गुरुयोजना तयार गर्ने भएको छ । उपत्यकाभित्र व्यवस्थित सहरीकरणका लागि ललितपुरको गोदावरी तथा सुनाकोठी, काठमाडौंको तारकेश्वर तथा इचंगुनारायण र चन्द्रागिरि नगरपालिकामा खुला क्षेत्र, हरियाली पार्क र व्यवस्थित पूर्वाधारसहितका आवासीय क्षेत्र विकास गर्ने भएको हो ।