१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Friday, 09 May, 2025
२o८o जेठ १५ सोमबार १४:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन वर्षमा बनाउनुपर्ने पुल सात वर्षमा पनि बनेन, दबाबका लागि स्थानीय रिले अनशनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १४:१६:oo

ठेक्का सकार गरेको तीन वर्षमा बन्नुपर्ने पुल सात वर्षमा पनि नबनेपछि स्थानीयले तत्काल पुल निर्माणको माग गर्दै रिले अनशन थालेका छन्।

रौतहटको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर–गैँडाटार जोड्ने चाँदी नदीको पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले समस्या भोग्दै आएका छन्। तीन वर्षमा काम सम्पन्न गर्नुपर्ने उक्त पुल सात वर्ष पुग्न लाग्दासमेत बन्न सकेको छैन।

चाँदी खोलाको पुल समयमा बनाउन रौतहट क्षेत्र नम्बर ४ का संघीय सांसद देवप्रसाद तिमल्सिनाले पटकपटक संसदमा कुरा उठाउँदै आएका छन्। चाँदी खोलाको काम समयमा नगर्ने ठेकेदारलाई सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले पटकपटक म्याद थप गरेका कारण ठेकेदारको मनोमानी बढेको चन्द्रपुर– ३ का वडाध्यक्ष बोधनाथ देवकोटाको भनाइ छ।

उक्त पुल निर्माणको जिम्मा पप्पु शिव शंकर जेभीले पाएको थियो। पुलको लम्बाइ चार सय ६९ मिटर र चौडाइ साढे सात मिटर रहनेछ। ११ वटा स्पाम रहने पुल दुईपटक म्याद थप गरेर ०७६ असारमा सम्पन्न गर्ने सम्झौता थियो। पहिलोपटक डेढ वर्ष तथा पछिल्लोपटक ६ महिनाका लागि म्याद थप भएको हो।

पटकपटक म्याद थप भए पनि सोअनुसार काम भएको छैन। निर्माण कम्पनीको चरम लापरबाहीले समयमा पुल निर्माण सम्पन्न हुन नसकेको गैँडाटारका स्थानीय लालबहादुर दोङले बताए। निर्माण कम्पनीले प्रतिबद्धताअनुसार काम नगरेको र अझै चारवटा स्पाम ढलान गर्न बाँकी रहेको उनले बताए। निर्माण कम्पनी तथा डिभिजन सडक कार्यालयलाई पटकपटक ताकेता गरेपछि काम सुरु गरे पनि सुस्त गतिमा भइरहेको चन्द्रपुर नगरपालिका– ३ का स्थानीय गोविन्द तिमल्सिनाले बताए।

पप्पु शिवशंकर जेभीले २२ करोड ४४ लाख रुपैयाँमा पुल निर्माणको जिम्मा पाएर ०७३ पुसदेखि काम थालनी गरेको निर्माण कम्पनीका ठेकेदार दयारामप्रसाद साहले बताए। उनका अनुसार कोरोना, निर्माण सामग्रीको अभाव, बजेटजस्ता विविध कारणले निर्माणमा ढिलाइ भएको हो। तीन वर्षमा बन्नुपर्ने पुलको काम सात वर्षमा करिब ७० प्रतिशत मात्र सम्पन्न भएको छ।

पुल नबन्दा हरेक वर्ष वर्षायाममा गैँडाटारबाट चन्द्रनिगाहपुर आउने क्रममा चाँदी खोलाले बगाएर सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्। ‘फेरि बर्खा आयो। पुल बनेन। त्यसैले हामीले रिले अनशन थालेका हौँ,’ अनशनमा बसेका स्थानीय गोविन्द तिमल्सिनाले भने। 

ठेकेदारसँग मिलेमतो गरेको भन्दै स्थानीयले चन्द्रनिगाहपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख र साइट इन्जिनियरको सरुवा गर्नसमेत माग गरेका छन्।