१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर, प्रदर्शनलाई हिंसात्मक नबनाऊ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१९:oo

कोसी प्रदेशको नामकरणको विषयमा भइरहेका विरोध प्रदर्शनका घटनाक्रमप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार विज्ञप्ति जारी गर्दै आयोगले विरोध प्रदर्शनका क्रममा भएका घटनाको अनुगमन गरिरहेको बताएको छ। वैशाख १४ गते विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा  १६ सशस्त्र प्रहरी र ३७ नेपाल प्रहरी घाइते भएका आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र संविधानले प्रत्याभूत गरेका नागरिकका अधिकारहरूको सुनिश्चित गर्नु राज्यको दायित्व भएको प्रस्ट्याउँदै आयोगले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकार र सुरक्षा निकायलाई सूचित गरेको छ। प्रदर्शनकारीलाई पनि आयोगले आफ्ना मागहरू शान्तिपूर्ण र मर्यादित ढंगले राख्न र विरोध प्रदर्शनलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ।

‘नागरिकको शान्तिपूर्ण भेला हुने र विचार राख्ने अधिकारको सम्मान गर्न, कुनै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउँदा कानुनसम्मत विधि र मानव अधिकारमैत्री व्यवहार गर्न, विवादको विषयलाई वार्ता र संवादको माध्यमबाट टुंग्याउन, आमनागरिकले आफ्नो पेसा, व्यवसाय र गतिविधि निर्वाध रूपले गर्न सक्ने गरी भयरहित वातावरण सिर्जना गर्न र मानव अधिकारका मूल्यमान्यताको ख्याल गरी प्रदर्शकारीहरूमाथि संयमित व्यवहार गर्न आयोग नेपाल सरकार, कोसी प्रदेश सरकार, सुरक्षा निकाय तथा सम्बद्ध सबैलाई आग्रह गर्दछ। यसैगरी, आफ्ना मागहरू राख्दा विधिसंगत, शान्तिपूर्ण र मर्यादित ढंगले राख्न, आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार प्रभावित हुने गतिविधि नगर्न तथा विरोध प्रदर्शनलाई हिंसात्मक नबनाउन आयोग प्रदर्शनकारीहरूलाई अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।