मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सिभिल अस्पतालमा अनलाइनबाट ओपिडी टिकट काट्ने व्यवस्था भए पनि लाइन लागेरै टिकट काट्दै सर्वसाधारण । फाइल तस्बिर
मञ्जु टेलर काठमाडाैं
२०८० जेठ १४ आइतबार १०:१५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एक प्रतिशतभन्दा कमले मात्रै अनलाइनमार्फत काट्छन् ओपिडी टिकट

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०८० जेठ १४ आइतबार १०:१५:००

ठूला अस्पतालमा अनलाइन टिकेटिङ

सरकारी अस्पतालमा बहिरंग (ओपिडी) सेवाका लागि अनलाइनबाट टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निर्देशन दिएका छन् । सरकारी अस्पतालमा टिकटका लागि हुने भिडभाड कम गर्न अनलाइन सेवा सञ्चालनमा ल्याउन मन्त्री बस्नेतले ५ जेठमा निर्देशन दिएका हुन् । 

टिकटका लागि घन्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन यसअघि नै अनलाइन टिकट सेवा सञ्चालनमा ल्याएका अस्पतालहरूमा समेत सेवा प्रभावकारी हुन सकेको छैन । ओपिडी र अन्य सेवाका लागि लाइन बसेर टिकट लिँदा हुने भिडभाड कम गर्न भन्दै केही अस्पतालले अनलाइन सेवा सुरु गरे पनि १ प्रतिशतभन्दा कमले मात्रै सेवा लिइरहेको तथ्यांक छ ।

दुई वर्षअघि वीर अस्पतालले एपमार्फत अनलाइनबाट ओपिडीको टिकट लिन मिल्ने व्यवस्था गरे पनि १ प्रतिशतभन्दा कमले मात्र सेवा लिँदै आएका छन् । ओपिडीका लागि मात्रै दैनिक १८ सयदेखि २५ सयभन्दा बढी बिरामी पुग्ने अस्पतालमा अनलाइन टिकट लिएर दैनिक बढीमा ३५ जना अस्पताल पुग्ने गरेका छन् । ओपिडी सेवाका लागि काउन्टरमा टिकट लिनेको भिड घटाउनका लागि अनलाइन एफमार्फत सुविधा दिए पनि प्रयोगमा नआउँदा भिड घटाउन नसकिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेल बताउँछन् । उनी भन्छन्, ‘वीर अस्पतालको एपमार्फत टिकट लिएर ओपिडी जाँच गर्ने सुविधा ल्याएको दुई वर्ष भइसक्यो । अनलाइनबाट टिकट लिन सकिन्छ भनेर काउन्टरअगाडि सहयोगका लागि काउन्टर पनि सञ्चालनमा ल्याएका छौँ । तर, बिरामीहरू लाइन बसेरै टिकट लिइरहेका छन् ।’

साताको ६ दिन ओपिडी सेवाका लागि सेवाग्राहीहरू बिहान सात बजेदेखि टिकटका लागि लाइनमा बस्दै आएका छन् । भिड व्यवस्थापनका लागि अस्पतालले ६ वटा काउन्टरबाट सेवा दिइरहे पनि टिकटकै लागि घन्टौँसम्म लाइन बस्छन् । बेलुका पाँच बजेसम्म खुला हुने ओपिडीमा जाँच गराउन बिरामीलाई दिउँसै चार बजेसम्म टिकट लिन सक्ने व्यवस्था छ । तर, २४सै घन्टा घरबाटै सजिलै एपमार्फत सेवा लिन सकिने भए पनि सेवाको सदुपयोग नगर्दा समस्या भइरहेको न्याम्सका उपकुलपति डा. भूपेन्द्र बस्नेतले बताए । उनी भन्छन्, ‘बिरामीको चापअनुसार अस्पतालहरूमा ठाउँ पर्याप्त छैनन् । अस्पतालमै आएर टिकट लिँदा एकातिर अस्पतालमा भिडभाड बढी हुन्छ भने अर्कोतिर सेवामा पनि ढिलाइ हुन्छ । बिरामीसँग आउने कुरुवासमेत गरी दैनिक कम्तीमा १० हजारले भिजिट गर्ने अस्पतालमा उपलब्ध सेवासमेत प्रयोगमा नआउँदा समस्या उस्तै देखिएको हो ।’

'वीर हस्पिटल’ एपमा सबै सुविधा 
‘वीर हस्पिटल’ नामक एपबाट उपचार गराउनुपर्ने विभागको टिकट बिरामीले सजिलैसँग लिन सक्ने उपकुलपति डा. बस्नेत बताउँछन् । उनका अनुसार टिकटको शुल्क पनि अनलाइनबाट तिर्न सकिने, ल्याबको रिपोर्ट मेलमा उपलब्ध हुने भए पनि प्रयोगमा नआउँदा समस्या भइरहेको छ ।

अत्यधिक भिडभाड रहने वीर अस्पतालमा ओपिडी, इमर्जेन्सी र भर्ना हुने बिरामीसमेत गरी दैनिक पाँच हजारभन्दा बढीले सेवा लिन्छन् । गत वर्षको तथ्यांक हेर्दा वर्षभरिमा तीन लाख ७९ हजार नौ सय ८७ जनाले ओपिडीमा र अन्यमा समेत गरी चार लाख ३३ हजार एक सय आठजनाले सेवा लिएका छन् । 

अनलाइनबाट टिकट काटे पनि अस्पताल आएर टोकन लिनुपर्ने झन्झट 
अनलाइनबाट ओपिडीलगायतका काम गरे पनि ओपिडी वार्डमा फेरि टोकन लिएर पालो कुर्नुपर्ने भएपछि बिरामीहरूले झन्झन्ट मान्ने गरेका छन् । भरतपुर क्यान्सर अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार मंसिर ०७८ देखि नै अनलाइन टिकट सेवा सुरु गरे पनि दैनिक बढीमा सयजनाले मात्रै सेवा लिने गरेका छन् । उनी भन्छन्, ‘बिमा र जनरल दुवै सेवा लिने बिरामीका लागि सेवा दिइरहेका छौँ ।’ अनलाइनबाट काटेको टिकटको प्रिन्ट गरेर ल्याउनुपर्ने र ओपिडीमा टोकन लिएर पालो कुनुपर्ने भएकाले अनलाइन टिकटको प्रयोग निकै न्यून भइरहेको उनले बताएका हुन् । भरतपुर अस्पतालमा १५ देखि १७ सय बिरामी दैनिक ओपिडीमा आउने गरेका छन् । 

तुलनात्मक रूपमा सिभिल र गंगालालमा अनलाइन टिकट प्रभावकारी 
सधैँ भिड रहने बानेश्वरस्थित सिभिल अस्पताल र बाँसबारीस्थित गंगालाल हृदयकेन्द्रले तुलनात्मक रूपमा अनलाइन टिकट सेवा प्रभावकारी रूपमा चलाइरहेका छन् । अन्य अस्पतालको तुलनामा यी दुई अस्पतालमा अनलाइनबाट सेवा लिनेको संख्या बढी छ । अनलाइन सेवा प्रभावकारी भए पनि टिकट लिनेको संख्या पनि कम नहुने अस्पतालले जनाएको छ ।