१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Monday, 15 July, 2024
बाफलस्थित हर्टल्यान्ड एकेडेमीमा ‘डेमोक्रेटिक डे’का दिन मकै खेतीमा सहभागी हुँदै विद्यार्थी । तस्बिर : संजित परियार
शिवहरि घिमिरे काठमाडाैं
२o८o जेठ १४ आइतबार o७:३२:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जहाँ पढाइसँगै बारीको काम पनि सिकाइन्छ

Read Time : > 5 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार o७:३२:oo

विद्यार्थीले लगाउँछन् सिजनअनुसार खेती, नाफाघाटाको हिसाबकिताब पनि आफैँ राख्छन्

कोही हुर्कँदै गरेका हरिया मकैका बोटमा उकेरा लगाउँदै जरामा पानी र मल राख्दै छन् । कोही भटमास र फर्सीका बिरुवा रोप्न व्यस्त देखिन्छन् । त्यसको केही पर भवनको कोठामा कोही फिल्म हेर्न मस्त छन् । बाहिरपट्टि रहेको खुला ठाउँमा कोही चेस, लुँडो, फुटबललगायत खेलमा मग्न छन् । कोही लाइब्रेरी विभागभित्र किताबमा एकाग्र छन् । कोही रंगीबिरंगी चित्र कोरिरहेका छन् त कोही सारंगी रेट्दै म्युजिक र डान्समा झुमिरहेका छन् । व्यस्त सहर काठमाडौंकै एउटा स्कुलभित्र बिहीबार देखिएको दृश्य हो यो ।

बाफलस्थित हर्टल्यान्ड एकेडेमीले बिहीबार ‘डेमोक्रेटिक डे’ मनाउने गर्छ । यस दिन स्कुलमा विद्यार्थीको रोजाइ चल्छ । सातामा पाँच दिन शिक्षकको रोजाइअनुुसारको शिक्षा र एक दिन भने विद्यार्थीको रोजाइमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन हुने भएकाले यस दिनलाई ‘डेमोक्रेटिक डे’ भनिएको छ । बिहीबार नयाँ पत्रिकाकर्मी स्कुल प्रांगणमा पुग्दा विद्यार्थीहरू आ–आफ्नै धुनमा देखिन्थे । स्कुल डे«समा सजिएका कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको कापी–किताब थिएन । उनीहरू थरीथरी क्रियाकलापमा व्यस्त थिए । उनीहरूलाई ‘डेमोक्रेटिक डे’ पर्वझैँ लाग्छ । गीत गाउन, बारीमा काम गर्न, खेल्न, ल्याबका काम गर्न, कम्प्युटर सिक्न, डान्स गर्न, किचेनमा कामलगायत गतिविधिमा सहभागी हुन पाउँदा विद्यार्थीहरू निकै खुसी देखिन्छन् ।

किताबका भन्दा फरक कुरा सिकाउने भएकाले बिहीबारको कक्षा निकै रमाइलो हुने कक्षा ८ मा अध्ययनरत संजोग बस्नेत बताउँछन् । ‘बिहीबार हामी अरू दिनभन्दा फरक कुरा सिक्ने अवसर पाउँछौँ,’ उनले सुनाए, ‘आज मैले एक घन्टा मकैबारीमा काम गरेँ, कम्प्युटर ल्याबमा कम्प्युटर सिकेँ, म्याथम्याटिक्स गेम खेल्ने, चेस खेल्ने, गीत गाउनेलगायत काम गरेँ ।’ कक्षा ९ मा अध्ययरत निरुता रेग्मीलाई पनि बिहीबारको कक्षा छुट्टै लाग्छ । बिहीबार उनले एक घन्टा स्कुलपछाडि रहेको बारीमा गोडमेल गरिन् । खुर्सानी र भान्टाको बिरुवा रोपिन् । त्यसपछि उनी साइन्स ल्याबमा बसेर प्रयोगात्मक कुरा सिकेर अन्तिममा लँुडो खेलेर पढाइ सकिन् । ‘बिहीबार हाम्रा लागि कुनै पर्वजस्तै हो, किनभने हामीले यस दिन आफूले चाहेको कुरा सिक्न पाउँछौँ, यसमा शिक्षकले कुनै दबाब दिनुहुन्न ।’ कक्षा १० मा अध्ययनरत एन्जिला केसीले पनि बिहीबारका दिन आफूहरूको सिर्जनशीलता प्रयोग गर्ने र बाहिरी कुरा सिक्ने अवसर मिलेको बताइन् । 

हर्टल्यान्ड एकेडेमी करिब आठ रोपनी क्षेत्रफलमा बनेको छ । कृषि गतिविधि सिकाउन करिब दुई रोपनी क्षेत्रफल जग्गा सहुलियत भाडामा लिइएको छ । ०५६ देखि सुरु भएको विद्यालयले बिहीबार फरक प्रकारको सिकाइ क्रियाकलाप सञ्चालन गर्दै आएको १३ वर्ष भयो । विद्यार्थीलाई किताबीज्ञान मात्रै नभएर उनीहरूको जीवनमा काम लाग्ने कुराहरू सिकाउन स्वतन्त्र सिकाइको अवधारणाअनुसार यस्तो गतिविधि सुरु गरिएको हो । 

विद्यार्थीलाई बिहीबार व्यावहारिक सिकाइका लागि बाजा, ट्रम, मादल, बाँसुरीलयात सामग्री राखिएको छ । त्यस्तै, डान्स सिक्नेहरूका लागि छुटै विभाग छ । कृषि तथा खेतीपाती सिक्न छुट्टै बारी छ । किचेनसम्बन्धी काम सिक्न क्यान्टिन छ । विद्यार्थीलाई सम्झाइबुझाइ गर्न मनोपरामर्श विभागसमेत छ । हरेक विभागको लिडर तोकिएको छ । बिहीबार १० देखि बेलुकी ४ बजेसम्म विद्यार्थीहरूले एक एक घन्टाको दरले लगभग सबै विभागमा गएर सिक्न र मनोरञ्जन लिन पाउँछन् । बिहीबार ‘क्लास फ्री डे’ पनि हो, जुनसुकै कक्षाका विद्यार्थी पनि आफूलाई रुचिको क्रियाकलापमा भाग लिन पाउँछन् ।

विद्यालयका प्रशासक भीमसिंह साउदले बिहीबारको कक्षा सञ्चालनका लागि छुट्टै स्रोतसाधनसमेत रहेको बताए । उनका अनुसार रहेक विभागमा शिक्षकहरू तोकेर विद्यार्थीलाई स्वेच्छाअनुसारको कुरा सिकाइन्छ । 

स्कुलले बिहीबारको सिकाइ क्रियाकलापलाई व्यवस्थित बनाउन विभाग छुट्याएको छ । करिब १० वटा विभाग विभाजन गरेर शिक्षण सिकाइ क्रियाकलाप व्यावहारिक बनाएको स्कुलका प्रिन्सिपल करणसिंह गोयलले बताए । उनका अनुसार बिहीबारको सिकाइ विद्यार्थीको रोजाइअनुसार नै गरिन्छ । 

मनोपरामर्श विभाग, आर्ट एन्ड क्राफ्ट, म्याथ ल्याब, लाइब्रेरी, साइन्स, कम्प्युटर, कुकिङ टेक्नोलोजी, कृषि, स्पोर्टस्लगायत विभाग छन् । यी विभागमा शिक्षक तोकेर बिहीबारको सिकाइ अघि बढाइन्छ । विद्यार्थी जे सिक्न चाहन्छन्, त्यही क्रियाकलापमा सहभागी हुन पाउँछन् । त्यहाँ शिक्षकको रोहवर रहन्छ । ‘हामीले अपनाउँदै आएको यस्तो सिकाइ क्रियाकलापप्रति विद्यार्थीको रुचि बढ्दो छ, अन्य दिन शिक्षकले भनेको विद्यार्थीले मान्नुपर्छ, तर बिहीबार विद्यार्थीले भनेको शिक्षकले मान्नुपर्छ,’ गोयलले भने, ‘यो दिन बच्चाका लागि चाडबाडजस्तै दिन हो । बिरामी भएको बच्चा पनि उठेर स्कुल आउँछन् ।’ 

करिब दुई रोपनी जग्गामा विद्यार्थीहरूले सिजनअनुसारको खेती गर्छन् । उनीहरूले लगानी र उत्पादनपछिको नाफाघाटाको हिसाब पनि राख्छन् । उनीहरूले गरेको मकै, धान र तरकारी खेती शिक्षक र अभिभावकले किन्छन् । सुरुको लगानीदेखि त्यसको उत्पादनपछि प्रतिफल लिँदासम्मको नजिता आफैँले अनुभव गर्न पाउने भएकाले विद्यार्थीका लागि यो ठूलो व्यावहारिक सिकाइ भएको प्रशासक साउदले बताए । हर्टल्यान्ड एकेडेमीले अन्य निजी विद्यालयले जसरी चर्को शुल्क असुल्दैन । कक्षा १० सम्म मासिक दुई हजारदेखि तीन हजारसम्म शुल्क लिन्छ । विद्यालयले प्रदान गर्ने सेवासुविधा र शिक्षण सिकाइको हिसाबले यो निकै कम शुल्क भएको प्रिन्सिपल गोयलको दाबी छ । उनका अनुसार विद्यालयले हरेक कक्षामा २५ जना मात्रै विद्यार्थी भर्ना लिने गरेको छ । हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने पाँच सय हाराहारी विद्यार्थी छन् ।

साताको एक दिन व्यावहारिक ज्ञान सिकाउँदै काठमाडौंका विद्यालय 

चाबहिल महांकालमा रहेको जनकल्याण माविमा कक्षा ९ मा अध्ययनरत अंकित गौतम शुक्रबार झोला र पुस्तक नबोकी स्कुल गए । यो दिन उनले मःमः, सेलरोटी र आलुको अचार बनाउन सिके । ‘झोला नबोके पनि व्यावहारिक कुरा सिकें, यो सीप घर व्यवहारमा प्रयोग गर्न सक्छु,’ उनले भने । अंकितसँगै शिला खड्काले पनि घर, बगैँचा र आँगन सरसफाइसम्बन्धी ज्ञान सिकिन् । 

नयाँबानेश्वर शान्तिनगरस्थित सिद्धेश्वर माविमा कक्षा ८ मा अध्ययनरत समर थापा पनि शुक्रबार झोला नबोकी स्कुल जान थालेका छन् । किताब र कापी नबोकी स्कुल पुग्दा अनौठो महसुस भएको उनी बताउँछन् । अघिल्लो शुक्रबारदेखि ‘बुक फ्री फ्राइडे’ लागू भएपछि विद्यार्थीहरू खुसी छन् । झोला नबोकी स्कुल गएपछि अन्य कुरा सिक्न पाइन्छ भन्ने उनीहरूलाई थाहा भइसकेको छ । ‘झोला बोकेर आउँदा–जाँदा थकाइ लाग्थ्यो, तर झोला नबोकी स्कुल आउँदा जाँदा फरक महसुस भएको छ,’ उनले भने, ‘किताबको सट्टामा अरू कुरा सिक्न पाउँदा खुसी लागेको छ ।’ ८ कक्षामा अध्ययनरत अनुष्का पाठक किताबभन्दा बाहिरको कुरा सिक्न पाउँदा रमाइलो लाग्ने बताउँछिन् । शुक्रबार शिक्षकहरूले गीत गाउन, कविता लेख्न, कागजको पारासुट बनाउन, कविता लेख्नलगायत व्यावहारिक ज्ञान सिकाएको उनले बताइन् ।

बालेन्द्र साह, मेयर, काठमाडौं महानगरपालिका
पुस्तकविहीन शुक्रबार कार्यक्रमअन्तर्गतको तालिमबाट विद्यार्थीले व्यावहारिक र जीवनोपयोगी सीप प्राप्त गर्न सक्नेछन् । विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य हो । 

दरबार हाइस्कल, पद्मोदय मावि, रत्नराज्य स्कुल, जनकल्याण माध्यमिक विद्यालयलगायत उपत्यकाका उत्कृष्ट सामुदायिक विद्यालयहरूले हरेक शुक्रबार विद्यार्थीलाई फरक एवं व्यावहारिक ज्ञान सिकाउन थालेका छन् । अन्य दिनको भन्दा फरक कुरा सिक्न पाइने भएपछि विद्यार्थीमा कौतुहलता बढेको जनकल्याण माध्यमिक विद्यालयकी गणित संयोजक मञ्जु मगरातीले जानकारी दिइन् । उनका अनुसार काठमाडौं महानगरले हरेक शुक्रबार कक्षा ४ देखि १० कक्षासम्म क्विज गराउने भनेर तालिका पठाएको छ । सोहीअनुसार समूहमा राखेर विद्यार्थीलाई क्विज गर्न लगाएको मगरातीले बताइन् । ‘बुक फ्री डे’ निकै प्रभावकारी हुने देखिएको छ । फरक कुरा सिक्न पाइने भएपछि विद्यार्थी पनि जागरुक बनेका छन्,’ उनले भनिन्, ‘बरु थप गृहकार्यको आवश्यकता छ ।’ 

काठमाडौं महानगरले शिक्षामा सीप योजनालाई अघि सार्दै हरेक शुक्रबार कक्षा १० सम्म ‘बुक फ्री डे’ बनाउनुपर्ने नियम लागू गरिसकेको छ । ५ जेठमा यो नियम लागू भएसँगै विद्यालयले विद्यार्थीलाई व्यावहारिक र जीवनोपयोगी ज्ञानसीप सिकाउन थालेका छन् । सधैँ किताब–कपीको भारी बोकेर स्कुल हिँड्ने विद्यार्थी शुक्रबार नजिकिएसँगै खुसी हुन थालेका छन् । अरू दिन स्कुल जान कर गर्नुपर्ने बालबालिका शुक्रबार भने खुसीखुसी जाने गरेको अभिभावकहरू बताउँछन् । ‘हरेक दिन किताब र कापीको झोला बोक्दा उनीहरू थाकेका हुँदा रहेछन्, स्कुल जाने वेला अनुहार नै उज्यालो बनाउँदैनथे, तर अचेल शुक्रबार आएपछि स्कुल जाँदा खुसी हुन्छन्,’ शान्तिनगरका धीरज बस्नेतले भने, ‘त्यो दिन छोराछोरीले स्कुलमा पनि नयाँ कुरा सिक्न पाउँछन् भन्ने सुन्दा हामीलाई पनि खुशी लाग्छ ।’ 

‘बुक फ्री डे’ सुरु भएसँगै शिक्षकहरूले पनि किताबी गृहकार्य दिन छाडेका छन् । बरु उनीहरूलाई शुक्रबार गराउने परियोजनाबारे आवश्यक सामान जुटाउन सहयोग गर्न थालेका छन् । सिद्धेश्वर माविकी विज्ञान शिक्षक हेमलत्ता डाँगीले विद्यार्थीले झोला बोकेर नआउँदाको दिन शिक्षकलाई पनि सहज हुने र फरक किसिमको शिक्षण सिकाइ क्रियाकलापको अभ्यास गर्न सघाउ पुग्ने बताइन् । ‘अन्य दिन विद्यार्थीलाई किताबी कुरामै बढी ध्यान दिएर पढाउनुपर्छ, तर शुक्रबार फरक कुरा सिकाउन पाइन्छ, यसले शिक्षकहरूलाई पनि सहज र सिर्जनशील बनाउँछ,’ उनले सुनाइन्, ‘हामीले आ–आफ्नो विषयअनुसार विद्यार्थीलाई परियोजना सिकाउँछौँ । 

‘बुक फ्री डे’को पहिलो दिन अन्य दिनमा भन्दा कम विद्यार्थी आएका थिए । दरबार हाइस्कुल, रत्नराज्य स्कुल, जनकल्याण मावि, सिद्धेश्वर मावि, ज्ञानोदय माविलगायतमा अन्य दिनभन्दा कम विद्यार्थी आएको जनाइएको छ । पढाइ नहुने भएपछि विद्यार्थीको उपस्थिति दर घटेको विद्यालयहरूले जनाएका छन् । 

अर्को वर्षदेखि निजीमा पनि लागू हुने
विद्यार्थीलाई मनोरञ्जन, व्यावहारिक ज्ञान र इच्छाअनुसारको सिकाइ क्रियाकलाप गर्न महानगरले यस्तो नियम ल्याएको हो । यो कार्यक्रम कार्यान्वयन गर्न महानगरले प्रत्येक माध्यमिक विद्यालयलाई एक लाखका दरले बजेट वितरण गरिसकेको छ । यो बजेट आगामी वर्ष बढाएर कम्तीमा दुई लाख बनाउने महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बताए । अर्को वर्षदेखि निजी विद्यालयलाई पनि यो नियम अनिवार्य गरिने उनको भनाइ छ ।

ad
ad
ad
ad