१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शुक्रबार संसद् बैठकमा नाराबाजी गर्दै एमाले सांसदहरू । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
कमलराज भट्ट काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:o९:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जलहरी प्रकरणले संसदमा अवरोध

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:o९:oo

माओवादी सांसद लेखनाथ दाहालले बुधबार संसद्मा बोलेको विषयलाई लिएर एमालेले शुक्रबार संसद् अवरुद्ध गर्‍यो, सरकारको नीति तथा कार्यक्रममाथि जवाफ दिने प्रधानमन्त्रीको कार्यतालिका रोकियो

पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्तिले शुक्रबार प्रतिनिधिसभा पूर्ण रूपमा प्रभावित बन्यो । पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीमाथि निराधार आक्षेप लगाएको भन्दै एमालेले संसद् अवरोध गर्‍यो । 

५ जेठमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि जारी छलफल सकाएर प्रधानमन्त्रीले जवाफ दिने र सदनबाट पारित गर्ने तयारीसहित बिहान ११ बजे बैठक सुरु भएको थियो । तर, सुरुवातमै एमालेले जलहरीमा सत्तापक्षले निराधार आक्षेप लगाएको भन्दै अवरोध गर्‍यो । फेरि बैठक बस्न सकेन र प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम नै भएन । 

सुरुमै एमालेका सांसदले ‘जलहरी सुन हो कि पित्तल सरकारले जवाफ दिनुपर्ने, सांसदले माफी माग्नुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने’ तीनवटा माग अघि सार्दै पूरा नभएसम्म सदन अगाडि बढ्न नसक्ने भन्दै रोस्ट्रम घेराउ गरे । ‘माफी माग र रेकर्डबाट हटाऊ’ भन्दै नाराबाजी गरे ।

जलहरीमा छानबिन र संसदीय प्रक्रिया सँगै अगाडि बढाउन अनुरोध गर्दा पनि एमाले नाराबाजीबाट पछि नहटेपछि सभामुख देवराज घिमिरेले २५ मिनेटसम्म लम्ब्याएको बैठकलाई २० मिनेटका लागि स्थगित गरे । दलहरूलाई सहमतिमा ल्याउन सभामुखले आफ्नो कार्यकक्षमा छलफल थाले । 

तर, सहमतिको प्रयासले सार्थकता पाउन नसकेपछि बैठक पौने १ बजे स्थगित गरेर ३ बजेलाई सारियो, फेरि ६ बजेलाई सारियो । विभिन्न चरणको छलफलमा पनि दलहरू सहमत हुन नसकेपछि सभामुखले शनिबार अपराह्न ४ बजेसम्मका लागि बैठक सारेका छन् । दलका नेताहरूका अनुसार जलहरी प्रकरणमा अझै सहमति जुटिसकेको छैन । ‘धार्मिक विषयसँग जोडेर प्रमुख प्रतिपक्षीविरुद्ध जनतामा भ्रम पार्ने विषय हो । छानबिन गरेर भ्रष्टाचारीलाई कारबाही नगर्ने, जिम्मेवारी पूरा नगर्ने अनि सदनमा आफ्ना सांसद लगाएर एमालेलाई गाली गर्ने प्रवृत्ति छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘यसमा हामीले कुरा राख्यौँ, तर सत्तापक्ष तयार भएन ।’ 

माओवादी प्रमुख सचेतक हितराज पाण्डे एमालेको माग सम्बोधन गर्न सकिने खालको नभएको बताए । ‘सांसदले आफ्नो विषयवस्तु सदनमा राख्न पाउने अधिकार हो । असंसदीय शब्द बोलेको छ भने सभामुखले रेकर्डबाट हटाउन निर्देशन दिने अभ्यास हो । जलहरीको विषय महालेखा प्रतिवेदनमा पनि उल्लेख छ । यो विषय अख्तियारमा पनि छानबिनको क्रममा छ । छानबिनको विषयमा संसद्मा सरकारले केही बोल्न सक्ने भएन । हामीले यही कुरा राख्यौँ, उहाँहरूले मान्नुभएन, कुरा मिलेन,’ उनले भने । 

पाण्डेले विभिन्न तहमा छलफल भइरहेको भन्दै शनिबार सहमतिमा पुग्ने आशा व्यक्त गरे । ‘सरकारलाई गलत देखाउन चाहने, तर प्रतिपक्षीलाई केही भन्न नहुने भाष्य निर्माण गर्न खोजिएको छ । यो राम्रो होइन,’ उनले भने । माओवादीले संसदीय छानबिन समिति बनाएर जलहरीको विषय टुंग्याउन प्रस्ताव गरे पनि एमालेले छानबिन समिति बनाएर लम्ब्याउन नमिल्ने जिकिर गर्‍यो । 

कसरी भयो विवाद ?
एमाले अध्यक्ष केपी ओलीको ‘नीति तथा कार्यक्रम पुनर्लेखन हुनुपर्छ’ भन्ने सम्बोधनको प्रतिवादमा बुधबारको बैठकमा माओवादी सांसद लेखनाथ दाहालले ओलीको पालामा विभिन्न काण्डैकाण्ड भएको उल्लेख गरेका थिए । त्यतिखेरको निराशालाई उत्साहमा बदल्ने गरी आएको नीति तथा कार्यक्रमबाट राम्रो काम गर्न लागेको चिन्ता लागेर ओलीले मिथ्यांकमा आधारित भ्रम छरेको र सार्थक बहसको थलो बन्द टिप्पणी दाहालले गरेका थिए ।

‘उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारका काण्ड आए ? यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरिदको दुई अर्ब भ्रष्टाचार, पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लगाइदिएका भ्रष्टाचारलगायत सयौँ काण्ड छन्,’ दाहालले भनेका थिए, ‘आफू सरकारमा हुँदा जे गर्न सकिएन, त्यो अहिलेको सरकारले गर्दै छ, नीति तथा कार्यक्रमले जनता अपेक्षा र राष्ट्रिय आवश्यकता प्रतिनिधित्व गर्छ भन्ने लागेर चरम पूर्वाग्रह राख्नुको कुनै अर्थ छैन ।’ दुई दिनपछि शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलको नेता ओलीको नेतृत्वमा एमालेले यो विषयमा आपत्ति जनाउँदै सदनमा अवरोध तथा नाराबाजी गर्‍यो ।

इमानका शत्रुहरूले दुष्प्रचार गरे : ओली
अस्ति माओवादी सांसदले रोस्ट्रममा उभिएर बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो कहाँ गयो त्यो ? पशुपतिमा सुनको जलहरी भनेर पित्तल जलहरी चढाएर भ्रष्टाचार गर्‍यो भनेर भने ।

आज त्यस विषयमा सांसद अवरुद्ध छ, हुनैपर्छ । किनभने यस्तो बकवास एउटा जँड्याहाले पनि बोल्दै हिँड्दैन । आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्‍यो भन्ने ? यस्तो खालको बकवास संसद्जस्तो गरिमामय ठाउँमा गर्ने ? दुई अर्ब औषधिको पैसामा खायो भन्ने ? त्यसको कि त पुष्टि हुनुपर्‍यो, पुष्टि हुने त कुनै सम्भावना छैन ।

त्यसमा पनि एमाले र त्यसमा पनि मैले जसले जिन्दगीभर भ्रष्टाचारविरुद्धको अभियान चलाएको छु त्यही मान्छेका विरुद्ध । यो त इमानका शत्रुहरूले गर्ने हो । यो त देशद्रोही तत्वहरूले देशमा कोही पनि इमानदार छैन भन्ने स्थापित गरेर देशप्रतिकै वितृष्णा जगाउने यो देशद्रोही काम हो ।

ad
ad