मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विद्यालय भवन नबन्दा सालबास माध्यामिक विद्यालयका बालबालिकालाई अस्थायी टहरामा पठनपाठन र भारतीय दूतावासको सहयोगमा निर्माणाधीन मिन्दुका माध्यामिक विद्यालय भवन।  तस्बिर : अर्जुन श्रेष्ठ/नयाँ पत्रिका 
२०८० जेठ १२ शुक्रबार १३:५१:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय दूतावासले जिम्मा लिएका विद्यालय भवन अलपत्र, टहरामा कष्टकर ३१ महिना

Read Time : > 2 मिनेट
२०८० जेठ १२ शुक्रबार १३:५१:००

जस्ताको छानो र जस्ताकै बारले बेरिएको अस्थायी टहरा। आधी कोठामा टन्टलापुर घाम, आधीमा छाया, कोइलाजस्तै भत्भती पोल्ने तातेको टहराको जस्तापाता। त्यही कक्षाकोठामा असिनपसिन बनेर पढ्दै गरेका स–साना बालबालिका। भूकम्पले ढलेको विद्यालय भवन नबन्दा विद्यार्थीको पढाइ मात्र प्रभावित बनेन, उनीहरूको बिमारको कारण बन्यो। 

‘धेरैचोटि बिरामी भइसकेँ । चर्काे घाममा जस्ताको रापिलो ताप आउँछ । जाडोमा सिरेटो चल्छ । अस्थायी टहरामा पढ्न हामीलाई त सजाय दिएजस्तै भएको छ,’ धादिङको ज्वालामुखी गाउँपालिका– ७ चैनपुरमा रहेको सालवास माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा संगीता नेपालीले आफ्नो पीडा सुनाइन् । अहिले गर्मी मौसम छ। उनी भन्छिन्, ‘घामले तातेको जस्ताले पसिनै छुटाउँछ । हावाहुरी त्यस्तै चल्छ । पानी परेको वेला त पढ्नै सकिन्न।’ 

शिक्षक, शिक्षिकाहरूले नयाँ विद्यालय चाँडै बन्छ, पढाइ सहज हुन्छ भन्दै विद्यार्थी माझ आश्वासन बाँडेको वर्षाैँ भयो। तर, भूकम्प गएको यति लामो समयमा बितिसक्दा पनि विद्यालयको ढलेको भवन उठेन। उनले थपिन्, ‘कोठामा ज्यान, बाहिर ध्यान, बाहिरको हल्लाले उस्तै डिस्टर्भ गर्छ। गाडी आइरहन्छ, धुलो, धुवाँ अनि हल्लाले पढ्नै गाह्रो हुन्छ।’

सालवास माध्यमिक विद्यालयमा मात्र होइन, विद्यालय भवन नबनेका धादिङका सबै विद्यालयको समस्या उस्तै छ। निर्माणाधीन विद्यालय भवनले पूर्णता नपाउँदा मिन्दुका माध्यमिक विद्यालय निर्माणाधीन भवनमा पठनपाठन भइरहेको छ।

विद्यार्थी सुस्मिता थपलिया भन्छिन्, ‘भाषणमा गुणस्तरीय शिक्षाको कुरा प्रशस्तै हुन्छन् । बालबालिका भविष्यका कर्णधार हुन् । तर, कतै टहरा त कतै निर्माणाधीन भवनमा जोखिम मोलेर अध्ययन गर्नुपर्ने बाध्यतामा हामी विद्यार्थी छौँ। जसको लापरबाही भए पनि विद्यार्थीको भविष्यमाथि यो खेलवाड हो। विज्ञान प्रयोगशालामा भएका सामग्री, ल्याबहरू प्रयोग गर्न पाएका छैनौँ। एउटा शौचालय छ, महिनावारी हुँदा कति धेरै समस्या हुन्छ । समस्याहरू प्रशस्तै छन्। भनिसाध्य छैन।’ 

अस्थायी टहरा र भाडाको घरमा विद्यालय

अस्थायी टहरामा अध्यापन गराउँदा पठनपाठन प्रभावित बनेको सालवास माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम इटनी बताउँछन्। स–साना बालबालिका अस्थायी टहरोमा पढिरहेका छन्।

उनले भने, ‘भारतीय दूतावासले एक वर्षभित्रमा विद्यालय भवन बनाइदिने भनेपछि भूकम्पले थलिएको भवन भत्काइयो। तर, ०७७ कात्तिक १९ गते सम्झौता गरिए पनि अहिलेसम्म निर्माणाधीन भवनले पूर्णता पाउन सकेको छैन । ३१ महिना निकै दुःखले विद्यालय सञ्चालन गरियो । घामपानी, हावाहुरी, खप्नै नसक्ने चिसो, धुवाँधुलो धेरै खायौँ। विद्यार्थीलाई बन्दै गरेको भवन देखाउँदै पढाइरहेका छौँ। शिक्षाको गुणस्तरमा प्रभाव परेको छ। विद्यालय भवन बनाउन तीन उपठेकेदार फेरिएर अहिले चौथो ठेकेदारमार्फत काम भइरहेको छ। अबचाहिँ चाँडै नयाँ भवनमा सर्न पाउने आस लागेको छ।’ 

भारतीय दूतावासले जिम्मा लिएको भवन नबन्दा व्यक्तिको घर भाडा लिएर विद्यालय सञ्चालन गर्नुपरेको सिद्धलेक गाउँपालिका– १ बैरेनीमा अवस्थित मिन्दुका माध्यमिक विद्यालयका प्रधानाध्यापक जनार्दन नेपालले बताए। एक वर्षमा बनाउनुपर्ने भवन तीन वर्ष हुँदासमेत बनेन। 

उनले भने, ‘विद्यालयले मासिक २० हजारभन्दा धेरै भाडा तिर्छ । विद्यालय भवन अभावका कारण तीन वर्षदेखि व्यक्तिको घर भाडा लिएर विद्यालय चलाइरहेका छौँ। निःशुल्क शिक्षा भनिरहेका हामी अभिभावकसँग पैसा उठाएर घर भाडा तिर्न बाध्य छौँ। निर्माणाधीन भवनले पूर्णता नपाउँदा विद्यालय र अभिभावकलाई भार त परेकै छ। त्योभन्दा बढी शिक्षाको गुणस्तरमा प्रभाव परेको छ,’ उनले भने। 

असारसम्म सबै निर्माणाधीन विद्यालयले पूर्णता पाउँछन् 

भारतीय दूतावासले बनाउने भनेका १० वटै विद्यालय भवन असार मसान्तसम्म बनिसक्ने दूतावासको तर्फबाट कन्सल्ट्यान्टका इन्जिनियर आरोग्य ज्ञवालीले बताए।

१८ महिनामा विद्यालय भवन बनाइसक्नुपर्ने हो, तर ४१ महिनामा पनि निर्माणाधीनकै चरणमा छ । उनले भने, ‘श्यामसुन्दर निर्माण सेवा र भ्याली जेभी कन्ट्रक्सनले ठेक्का पारेको हो। भ्याली कन्स्ट्रक्सनले करिब २५ प्रतिशत मोबिलाइजेसन रकम लिएर काम थाल्यो, तर विद्यालय बनाएन। कालोसूचीमा पर्ने भएपछि अर्काे श्याम सुन्दर निर्माण सेवाले टेकओभर गर्‍यो। भ्यालीले गाउँमा ठेक्का लगाएर कामदारलाई नदिएको पैसाका कारण काममा उनीहरूले अवरोध गरे। तर, मुख्य कारण भ्याली कन्स्ट्रक्सन नै हो।’ 
 
उनले थपे, ‘दुर्गम ठाउँ, कच्ची सडक, सामान पुर्‍याउन कठिन छ, सामान अभावका कारण पानी परेको वेला काम गर्न सकिँदैन, ट्रकको सिन्डिकेटलगायतका कारण पनि विद्यालय भवन वेलैमा निर्माण गर्न सकिएन । तर, पछिल्लो समय द्रुत रूपमा काम भइरहेको छ । निर्माणाधीन भवनले पूर्णता पाउने अन्तिम चरणमा पुगेको छ । वर्षाका कारण थप समस्या भएन भने यही असार मसान्तसम्म धादिङको १० वटै विद्यालय भवन हस्तान्तरण गर्छाैँ।’
 
त्यस्तै, धादिङमा भूकम्पले क्षति पुगेका विद्यालय भवन सकभर छिटो निर्माण सम्पन्न गर्न पहल भइरहको शिक्षा विकास तथा समन्वय इकाइ, धादिङका इन्जिनियर सन्दीप अधिकारी बताउँछन्। तर, विविध कारण देखाएर ढिला सुस्ती भइरहेको छ । उनले भने, ‘हामीले पनि समन्वय गर्ने हो । समस्या देखिए केन्द्रमा रिपोर्टिङ गर्ने हो, कार्वाही गर्ने हाम्रो अधिकार र क्षेत्राधिकार भित्र पर्दैन । तर विभिन्न चरणको छलफलपछि पछिल्लो समय भारतिय दुतावासले विद्यालय भवन निर्माणको काम छिटो छरितो गरेको छ । अब विद्यार्थीले छिट्टै नयाँ भवनमा बसेर पढ्न पाउँछन्।’