मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १२ शुक्रबार १०:३७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

धमाधम खाल्डाखुल्डी पुर्दै सडक डिभिजन : प्राधिकरण र पिआइडीले खनेका खाल्डा नपुर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १२ शुक्रबार १०:३७:००

सडक डिभिजन काठमाडौंले केही समययता उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्ने कार्यलाई तीव्रता दिएको छ । बर्खा लाग्नुअघि नै मुख्य सडकका खाल्डाखुल्डी पुरिसक्ने गरी डिभिजनले काम थालेको हो ।

डिभिजनका अनुसार नेपाल विद्युत् प्राधिकरण र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले खनेकाबाहेक सबै खाल्डा पुरिनेछ । सडक विभागले असारअघि नै खाल्डाखुल्डी पुर्न निर्देशन दिएपछि डिभिजनले सक्रियता देखाएको हो । जेठभित्रै उपत्यकाका सडकका खाल्डा पुरिसक्ने डिभिजनका प्रमुख नारायणप्रसाद निहुरेले जानकारी दिए । उनका अनुसार प्राधिकरण र पिआइडीले खनेका सडकका खाल्डा पुर्ने उनीहरूकै जिम्मामा पर्छ । अन्य कारण र सवारी ओहोरदोहोरका कारण खाल्डाखुल्डी परेका सडक मात्रै डिभिजनले टालेको छ । डिभिजनले बैशाखयता मुख्य मुख्य सडकका खाल्डाखुल्डीहरू प्याच (पुर्ने) गरी मर्मत गर्न सुरु गरेको थियो । 

डिभिजन काठमाडौंले शंखमूल–बानेश्वर–गौशाला, गौशाला–रातोपुल, थापाथली–त्रिपुरेश्वर–सुन्धारा, वीर हस्पिटल–जमल–केशरमहल–लैनचौर, लैनचौर–पानीपोखरी–महाराजगन्ज, सोह्रखुट्टे–बालाजु, नक्साल–कृष्ण पाउरोटी–कमलपोखरी–रातोपुल, मित्रपार्क–लामपोखरी–धुम्बाराही, डिल्लीबजार–चारखाल–बालुवाटार, हाँडीगाउँ–विशालनगर, टेकु–सोल्टीमोड–कलंकी, सीतापाइला–छाउनी, सुन्धारा–भद्रकाली–रत्नपार्क–भोटाहिटीगायतका सडकखण्डमा रहेका खाल्डाखुल्डीहरू प्याच गरी मर्मत गरेको छ । तर, पिआइडी र प्राधिकरणले तार तथा खानेपानीका पाइप भूमिगत गर्न खनेका सडक आफैँ मर्मत गर्नुपर्ने छ । 

प्राधिकरण र पिआइडीले काम सकिएपछि पनि सडक मर्मत नगर्दा उपत्यकाका करिडोर सडक अस्तव्यस्त बनेका छन् । कालीमाटी– कलंकी सडकमा पनि प्राधिकरणले खाल्डाखुल्डी पारेर छाडेको छ । यस्तै, कीर्तिपुर, भक्तपुरको सल्लाधारी, ललितपुरको पाटन क्षेत्र, पेप्सीकोला–वीरेन्द्रचोकमा पनि प्राधिकरणले सडक भत्काएर छाडेको छ । बागमती नदी करिडोर र विष्णुमती करिडोरमा तार भूमिगत गर्न खनेको सडक मर्मत भएको छैन भने ठाउँ ठाउँमा धरापपूर्ण खाल्डाहरू छन् ।

सम्बन्धित निकायले नै मर्मत गर्नुपर्छ : विभाग
सरकारी निकायले नै आफ्नो कामका लागि जथाभावी सडक खनेर अलपत्र छाड्दा ओहोरदोहोरमा सास्ती पुगेको भन्दै सडक विभागले यथाशीघ्र मर्मत गर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक सुशीलबाबु ढकालले जुन निकायले सडक भत्काएको हो, त्यही निकायले नै सडक मर्मत गरेर पुरानै अवस्थामा पु¥याउनुपर्ने बताए ।