
वर्षा र सहकालको देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा भोटो देखाएसँगै बिहीबार सम्पन्न भएको छ । जात्राको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतले भोटो अवलोकन गरेका थिए ।
रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भई दुई महिनासम्म चलेको थियो । जात्राको पहिलो दिन ललितपुरको पुल्चोकस्थित मत्स्येन्द्र बहालमा रहेको रथलाई तानेर गाःबहालमा पुर्याइएको थियो । गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै रथयात्रा जावलाखेलमा पुर्याएको तेस्रो दिन भोटो देखाइएको हो । बिहीबार भोटो देखाएसँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा पुर्याइएको छ ।
३२ पानेजु संघका कोषाध्यक्ष मदन शाक्यका अनुसार परापूर्वकालमा विवादित बनेको किसानको भोटोलाई प्रमाण पुर्याएका आधारका दिन भोटो देखाउने प्रचलन सुरु भएको विश्वास छ । आजसम्म पनि प्रमाण पुर्याएर भोटो लिन कोही आएका छैनन् । उनका अनुसार प्रमाणसहित आउनेलाई भोटो दिन रातो मत्सेन्द्रनाथको रथ यात्रा सकिएपछि भोटो देखाउने चलन छ । यो जात्रालाई पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ ।
किंवदन्तीअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले मत्सेन्द्रनाथको जात्रा सुरु गराएका थिए । हिन्दू धर्मावलम्बी मत्स्येन्द्रनाथलाई ऐतिहासिक करुणामयका रूपमा पूजा गर्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्च बुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन् ।
संस्थान प्रमुख लछुनाले देखाउन पाइनन् भोटो
मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाइन्छ । राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थान प्रमुख, ललितपुरले भोटो देखाउने प्रचलन रहे पनि यो वर्ष भने त्यसो हुन सकेन । यो वर्ष संस्थान प्रमुख महिला भएकै कारण संस्थानका लेखापाल पवन आचार्यले भोटो देखाउने जिम्मेवारी पाए ।
हालसम्म रथको खटमाथि महिला चढेको इतिहास नरहेको भन्दै महिला प्रमुख भए पनि लेखापाल आचार्यले अवसर पाएको हुन सक्ने पानेजु संघका कोषाध्यक्ष शाक्यले बताए । ‘रथमा पहिलादेखि महिला चढेको देखेको छैन । अहिले योग्यताअनुसार पद दिनुपर्ने भएको छ । त्यही भएर हाकिम महिला भएर आए पनि देउताको काममा जसले हुन्छ, उसले गर्ने हो नि,’ शाक्यले भने ।
महिलाले भोटो देखाउन नहुने परम्परा रहेको बताउँदै आए पनि महिलाले रथ भने तान्ने गरेका छन् । ६ जेठमा महिलाले मात्र रथ तानेका थिए । लगनखेलको छेउदेखि इटिटोलसम्म महिलाले रथ तानेका हुन् । यसअघि खिमा ओली संस्थान प्रमुख हुँदा पनि महिलाले भोटो देखाउन पाउनुपर्ने भन्दै लबिङ भए पनि कोरोनाका कारण भोटो नदेखाई मत्स्येन्द्रनाथलाई बुङमती लगिएको थियो ।