मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २६ शुक्रबार
  • Friday, 09 June, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ०९:५३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मस्तिष्क र मेरुदण्ड जोड्ने उपकरण राखेर पक्षघातको उपचार  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ०९:५३:००

नयाँ अनुसन्धानले पक्षघातका बिरामीको उपचार मस्तिष्क र मेरुदण्डमा उपकरणको प्रयोगबाट सामान्य अवस्थामा फर्काउन सकिने प्रमाणित गरेको छ । स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजीका डा. ग्रेगोइर कोर्टिन र उनका सहकर्मीले मस्तिष्क र मेरुदण्डको बीचमा प्रत्यक्ष न्युरोलोजिकल लिंक सिर्जना गर्ने ‘ब्रेन–स्पाइन इन्टरफेस’को विकास गरेका हुन् ।

शरीरमा विभिन्न कारणले हुने क्षतिले स्नायुबाट मस्तिष्कमा संकेत पठाउन नसक्दा शरीरका भाग नचल्ने अर्थात् प्यारालाइसिसको अवस्थालाई उपकरणको माध्यमबाट सामान्य अवस्थामा फर्काउन सकिने अनुसन्धानले पुष्टि गरेको हो । पक्षघातबाट प्रभावित बिरामीलाई सामान्य अवस्थामा फर्काउन ‘ब्रेन–स्पाइन इन्टरफेस’ अर्थात् मस्तिष्क र मेरुदण्डको छुटेको सम्पर्कबाट व्यक्तिलाई सामान्य अवस्थामा फर्काइएको हो । प्राकृतिक रूपमा स्नायुहरूको माध्यमबाट शरीरभित्रै हुने यो प्रक्रियालाई बिरामीमा भने उपकरणको प्रयोग गरेर गर्न सकिने बनाइएको हो, जुन ब्याकप्याकका रूपमा बोक्न मिल्ने बनाइएको छ । 

गर्ट–जान ओस्कम
मेरो इच्छा फेरि हिँड्ने थियो र विश्वास थियो कि यो सम्भव छ । यसका साथै मैले शरीरका भाग चलाउन निकै प्रयास गरेँ, जसले प्राकृतिक तरिकाले हिँड्न सहयोग पुगोस् ।

नेचर नामक जर्नलमा प्रकाशित यो अनुसन्धानले उपकरणको माध्यमबाट पक्षघातको उपचार गर्न सकिने पहिलो प्रविधि भएको जनाएको हो । यो अनुसन्धान एक दशकअघि चीनमा मोटरसाइकल दुर्घटनापछि पक्षघात भएका ४० वर्षीय गर्ट–जान ओस्कममा गरिएको थियो । पक्षघातका कारण उनको हातखुट्टाका साथै कम्मरदेखि घाँटीसम्मको भाग नचल्ने भएको थियो ।

उपकरणको प्रयोगबाट आफैँ हिँड्न सक्ने भएपछि उनले भनेका छन्, ‘मेरो इच्छा फेरि हिँड्ने थियो र मलाई विश्वास थियो कि यो सम्भव छ । यसका साथै मैलै शरीरका भाग चलाउन निकै प्रयास गरेँ, जसले प्राकृतिक तरिकाले हिँड्न सहयोग पुगोस् ।’ उपकरणको सहयोगमा उनी दैनिक कम्तीमा सय मिटर हिँड्न सक्छन् भने हातको सहायता नलिई केही मिनेट उभिन सक्ने भएका छन् । अनुसन्धानले भने खुट्टामा इलेक्ट्रोनिक पल्स बढाउन हिँड्न आवश्यक रहेको देखाएको थियो । तर, केन्द्रीय स्नायु प्रणालीसँग जोडिएका मस्तिष्क र मेरुदण्डमा उपकरण जोडिने भएकाले सुरुवातमा बिस्तारै हिँड्नुपर्ने अनुसन्धानकर्ताले बताएका छन् । 

‘ब्रेन–स्पाइन इन्टरफेस’माथि धेरै लामो समयदेखि अनुसन्धान भइरहे पनि मानिसमा पहिलोपटक प्रयोग गरिएको थियो । उपकरणको माध्यमबाट बिस्तारै मानिसलाई उभिन, हिँड्न र सिँढी चढ्न अभ्यास गराएर हिँड्न सकिने गरी निर्माण गरिएको हो । अनुसन्धानको पहिलो चरणमै यो उपकरण उपयोगी साबित भएकाले पक्षघातका बिरामीको उपचारमा ठूलो उपलब्धि भएको बताइएको छ ।