
संखुवासभाको खाँदबारी नगरपालिका– १ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका– १ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका– १ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन् । उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन् । गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । गदाल बिहीबार मात्र नेपाल प्रहरीको तीनमहिने तालिम सकेर खाँदबारी आएको खुलेको छ । गएराति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ । बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको कारण भने खुल्न नसकेको डिएसपी गोदारले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस