मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १ शनिबार
  • Saturday, 13 April, 2024
टेकराज थामी काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ०९:३७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भएको सम्पत्ति लिएर छोरीज्वाइँ जापानमा : नेपालमा रहेका रोगी बाबुआमा अलपत्र, सम्पत्ति फिर्ता गर्न आनाकानी 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ०९:३७:००

भएको सम्पत्ति लिएर छोरीज्वाइँ जापान बेपत्ता भएपछि रोगी वृद्धवृद्धा नेपालमा अलपत्र परेका छन् । कैलाली टीकापुर नगरपालिका– ८ की ७९ वर्षीया सुर्जा शाह अल्जाइमरबाट पीडित छिन् । उनलाई दुई वर्षदेखि धुम्बराहीस्थित सेकेन्ड इनिङ स्याहार केन्द्रमा राखिएको छ ।

होस गुमाएकी उनी न बोल्न सकिछन्, न हिँड्डुल गर्न नै । उनका श्रीमान् ८४ वर्षीय शेरबहादुर शाह पनि बिरामी छन् । उपचारका लागि उनलाई अस्पताल लगिरहनुपर्छ । उनी अहिले काठमाडौंमै कहिले आफन्त, त कहिले कान्छी छोरी अर्चना शाहको शरणमा बस्दै आएका छन् । 

लक्ष्मी शाही (जो जाापानमा छिन्)

अर्चनाका अनुसार आमा सुर्जाको नाममा टीकापुर नगरपालिका– ८ र ९ मा रहेको तीन रोपनी जग्गा र घर ११ वर्षअघि जेठी छोरी लक्ष्मी शाही र उनका श्रीमान् कलेन्द्र शाहीले जालसाजीपूर्वक आफ्नो नाममा पारेका थिए । जापान बस्दै आएका उनीहरू त्यसयता नेपाल फर्केका छैनन् ।

सुर्जा र शेरबहादुरको उपचारमा २५ लाख रुपैयाँभन्दा धेरै खर्च भइसकेको छ । तर, उनीहरूले न घर जग्गा फिर्ता गरेका छन्, न बुबा–आमाको उपचारमा खर्च नै पठाएका छन् ।

भएजति सम्पत्ति लिएर दिदी–भिनाजु जापान बसेपछि बुबाआमाको उपचारमा समस्या आएको अर्चानाले बताइन् । ‘लक्ष्मी मेरी जेठी दिदी हुन् । उनले बुबाआमालाई झुक्याएर भएभरको सम्पत्ति आफ्नो नाममा लिइछिन् । जापान बस्दै आएका उनीहरूले सम्पत्ति फिर्ता गरेका छैनन् । बुबाआमाको उपचार लाखौँ रुपैयाँ सकियो । अहिले पनि उपचारमा प्रत्येक महिना ५० हजार रुपैयाँभन्दा धेरै खर्च भइरहेको छ । तर, दिदीभिनाजुले न सम्पत्ति फिर्ता गरेका छन्, न उपचारमा खर्च नै पठाएका छन्,’ उनले भनिन् ।

पैसा अभावका कारण बुबाआमाको उपचारमै समस्या भएपछि अर्चनाले लक्ष्मीविरुद्ध परराष्ट्र मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं महानगरपालिका, टीकापुर नगरपालिका, महिला आयोगमा उजुरी दिएकी छिन् । तर, समस्या हल हुन नसकेको उनको भनाइ छ । ‘बुबाआमाको सम्पत्ति मात्रै फिर्ता गरे पनि त्यही बेचेर राम्रोसँग उपचार गराउँथ्यौँ । तर, पटकपटक आग्रह गर्दा पनि दिदीले मानेकी छैनन् । उपचारमा लाखौँ रुपैयाँ सकियो । अहिले पनि प्रत्येक महिना ५० हजार रुपैयाँभन्दा धेरै खर्च हुन्छ । तीन वर्ष भयो हामीले आफ्नै खर्चमा उपचार गरेको । केही सीप नलागेपछि हामीले परराष्ट्र मन्त्रालयदेखि स्थानीय तहसम्म उजुरी गर्‍यौँ । तर, समस्या समाधान हुन सकेको छैन,’ उनले भनिन् ।

अर्चनाका अनुसार लक्ष्मी र उनकी श्रीमान् कलेन्द्र जापान इवाट प्रदेशस्थित मोरिवकमा बस्दै आएका छन् । उनीहरूले मोरिवकमा रेस्टुरेन्ट चलाउँदै आएका छन् । हडपेको सम्पत्ति फिर्ता नभएपछि लक्ष्मीका भाइ विवेक मोरिवक नै पुगेका थिए । भेटका क्रममा लक्ष्मीले बुबाआमाको सम्पत्ति नेपाल फर्केपछि मात्रै फिर्ता गर्ने बताएकी छिन् । भाइ विवेकसँग भएको रेकर्डेड अडियो संवादमा लक्ष्मीले भनेकी छिन्, ‘बुबाआमाको सम्पत्ति म खादिनँ । फिर्ता गर्छु । मेरो अहिले व्यवहार बिग्रिएको छ । त्यो सल्टिनासाथ नेपाल आउँछु । त्यसलगत्तै सम्पत्ति फिर्ता गर्छु ।’

तर, लक्ष्मीले सम्पत्ति फिर्ता गर्ने आश्वासन दिएको वर्षौँ भइसकेको अर्चनाको भनाइ छ । ‘बुबाआमाको सम्पत्ति लिएर हिँडेपछि दिदीभिनाजु भेट्न भाइ विवेक जापान नै पुग्यो । बुबाआमाको अवस्थाबारे जानकारी गरायो । सम्पत्ति फिर्ता गर्न पटक–पटक आग्रह गर्‍यो । कुराकानी हुँदा अहिले नै सम्पत्ति फिर्ता गरिदिने जस्तो गर्छिन् । तर, हालसम्म न सम्पत्ति फिर्ता गरेकी छिन्, न बुबाआमाको उपचारमा खर्च नै पठाएकी छिन्,’ अर्चनाले भनिन् ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ४ उपदफा १ मा ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जत आमदअनुसार पालपोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हो । कानुन उल्लंघन गर्ने छोराछोरीलाई सोही ऐनको दफा २६ को उपदफा १ अनुसार तीन लाख रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ । सोही दफाको उपदफामा ५ मा ‘ज्येष्ठ नागरिकको चल–अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वा हकवालाले निजलाई आफूसँगै राखी पालनपोषण तथा हेरचाह गर्नुपर्नेछ’ भनी उल्लेख गरिएको छ । 

यदि परिवारबाट अलग गरे वा अवहेलना गरे प्रहरीमा जाहेरी दिन सक्ने पनि सोही ऐनको दफा ५ मा उल्लेख छ । जाहेरीपछि कसुर गर्नेविरुद्ध एक वर्षदेखि पाँच वर्ष कैद र बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनको दफा २६ मा व्यवस्था गरिएको छ । ऐनको दफा २६ को उपदफा २ मा भनिएको छ, ‘हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रका प्रमुख, सञ्चालक, कर्मचारी वा अन्य कुनै व्यक्तिले ज्येष्ठ नागरिकको सम्पत्ति लिने बदनियतले कुनै काम गर्नु गराउनुहुँदैन । कसुर गरेको कसुरको मात्राअनुसार एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुनेछ ।’

बहिनी अर्चना शाह भन्छिन्—लक्ष्मी मेरी जेठी दिदी हुन् । उनले बुबा–आमालाई झुक्याएर भएभरको सम्पत्ति आफ्नो नाममा लिइछिन् । जापान बस्दै आएका उनीहरूले सम्पत्ति फिर्ता गरेका छैनन् । बुबा–आमाको उपचारमा लाखौँ रुपैयाँ सकियो । अहिले पनि उपचारमा प्रत्येक महिना ५० हजार रुपैयाँभन्दा धेरै खर्च भइरहेको छ । तर, दिदीभिनाजुले न सम्पत्ति फिर्ता गरेका छन्, न उपचारमा खर्च नै पठाएका छन् ।