मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख २ आइतबार
  • Sunday, 14 April, 2024
२०८० जेठ १२ शुक्रबार ०९:०१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मध्य एसियामा चीनको बलियो उपस्थितिको अर्थ

Read Time : > 2 मिनेट
२०८० जेठ १२ शुक्रबार ०९:०१:००

चीनको ऐतिहासिक सहर सियानमा मे १८ र १९ मा चीन–मध्य एसिया शिखर सम्मेलन सम्पन्न भयो । चिनियाँ राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा आयोजित सम्मेलनमा कजाकिस्तान, किर्गिजस्तान, ताजकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका नेताहरूको सहभागिता थियो । तीन दशकअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता चीन र मध्य एसियाका पाँच राष्ट्रबीच पहिलोपटक शिखर सम्मेलन भएको हो । त्यसैले, यसले विश्वकै ध्यान खिचेको छ ।

सम्मेलनमा चीन–मध्य एसिया सम्बन्धलाई नयाँ युगअनुरूप अघि बढाउने र यस क्षेत्रको स्थिरता र विकासको सम्भावनालाई बढावा दिने प्रतिबद्धता जनाइयो । केही सञ्चार माध्यमले भने सम्मेलनलाई मध्य एसियामा चीन–रुस प्रतिस्पर्धा बढेको संकेत गरे । तिनले मध्य एसियामा चीन र रुसबीच संघर्ष सुरु भएको र यसले दुई देशको सम्बन्धलाई असर गर्ने भाष्य निर्माण गर्ने प्रयास गरे । 

अफगानिस्तानबाट अमेरिकी सेनाको लज्जास्पद फिर्ती, जारी रुस–युक्रेन संकट र मध्य एसियाली मुलुकमा पश्चिमा शक्तिको कमजोर उपस्थितिबीच चीन यस भेगको एक महत्वपूर्ण खेलाडीका रूपमा उदाएकामा विवाद छैन । तर, मध्य एसियामा चीनको बढ्दो उपस्थिति रुस वा अरू कुनै पनि शक्तिको हित प्रतिकूल छ त ? बिलकुल छैन । यस्तो दाबीले मध्य एसियाली देशको कूटनीतिक क्षमतालाई खारेज मात्र गर्दैन, मध्य एसियाली देश र रुसप्रति चीनको विदेश नीतिबारे राम्रो बुझाइको अभाव पनि झल्काउँछ । त्यसबाहेक, यसमा चीन, मध्य एसियाली देश र रुसबीचको सौहार्दपूर्ण सम्बन्धमा तनाव सिर्जना गर्ने प्रयास पनि देखिन्छ ।

पाँच मध्य एसियाली देश स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हुन्, जोसँग ठोस लाभ दिन सक्ने कुनै पनि पक्षसँग सम्बन्ध राख्ने र सहकार्यात्मक सम्झौता गर्न पाउने सार्वभौम अधिकार छ । चीन र पाँच मध्य एसियाली देशले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । यसैअनुरूप चीनले आफूसँग सिमाना जोडिएका तीन मध्य एसियाली देशसँग इतिहासदेखिको सीमा समस्या शान्तिपूर्ण वार्ताबाट समाधान गरेको छ । फलस्वरूप, तीन हजार तीन सय किलोमिटर लामो साझा सिमानालाई मैत्रीपूर्ण र सहयोगात्मक सीमामा परिणत गरेको छ । 

चीन र मध्य एसियाली मुलुकबीचको व्यापार र लगानीले रुसको स्वार्थलाई हानि पु¥याउनुको साटो सबैको साझा हितको बढोत्तरी हुन्छ

पछिल्लो समय चीन र मध्य एसियाली देशबीचको व्यापार र लगानीमा निरन्तरको तीव्र वृद्धि देखिएको छ । यसले सबै संलग्न राष्ट्रको आर्थिक र सामाजिक विकासमा सकारात्मक योगदान पुर्‍याएको छ । कूटनीतिक सम्बन्ध स्थापना भएको वर्ष अर्थात् सन् १९९२ मा चीन र पाँच मुलुकबीच ४६ करोड डलरको व्यापार भएको थियो भने सन् २०२२ मा यो हालसम्मकै उच्च ७०.२ अर्ब डलर पुगेको थियो ।

त्यस्तै, सन् २०२२ को अन्त्यसम्ममा मध्य एसियामा चीनको प्रत्यक्ष लगानी १५ अर्ब डलर नाघ्यो । यी तथ्यांकअनुसार, चीन पाँचै मध्य एसियाली देशको सबैभन्दा ठूलो व्यापारिक तथा लगानी साझेदार हो । साथै, सबै पक्षले तिनको राष्ट्रिय विकास रणनीतिमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)’ लाई जोड्न सक्रियतासाथ काम गरिरहेका छन् । चीन र मध्य एसियाली देशले ‘तीन दुष्ट शक्ति’(हिंसात्मक आतंकवाद, जातीय पृथक्तावाद र धार्मिक अतिवाद) विरुद्धको संघर्षमा प्रभावकारी रूपमा सहकार्य गरेका छन् । 

चीन–मध्य एसियाली मुलुकबीचको सहयोग रुसको स्वार्थलाई हानि पुर्‍याउने गरी भएको छैन । बरु, यस क्षेत्रमा चीनको उपस्थितिले रुसलगायत सबै पक्षको आपसी लाभ र साझा हितमा बढोत्तरी भएको छ । आर्थिक रूपमा सन् २०२२ मा चीन र रुसबीचको व्यापार १९० अर्ब डलर नाघेको थियो, जुन अघिल्लो दशकको तुलनामा ११६ प्रतिशतले वृद्धि हो ।

पश्चिमी प्रतिबन्ध र दबाबको सामना गरिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मार्चमा चिनियाँ समकक्षी सीसँगको भेटमा मस्को र बेइजिङबीचको व्यापार र आर्थिक सहयोग रुसको प्राथमिकतामा रहेको बताएका थिए । सुरक्षाका मामिलामा मध्य एसियाली क्षेत्रमा चीन र रुस दुवैको साझा चासो छ । भौगोलिक हिसाबले मध्य एसियाका पाँचमध्ये तीन देश कजाकिस्तान, किर्गिजस्तान र ताजिकिस्तानसँग चीनको सीमा जोडिएको छ । रुसले दक्षिणतर्फ रहेका यी क्षेत्रलाई आफ्नो परम्परागत ‘प्रभाव क्षेत्र’ र रणनीतिक ‘संक्रमण क्षेत्र’ मान्ने गरेको छ । यस्तो संवेदनशील क्षेत्र सुरक्षित र स्थिर राख्नु चीन र रुसको राष्ट्रिय स्वार्थसँग मेल खान्छ । 

जारी युक्रेन संकटको परिप्रेक्ष्यमा, पश्चिमी शक्तिले रुसलाई कमजोर बनाउने र घेर्ने कडीका रूपमा मध्य एसियालाई प्रयोग गर्ने प्रयास गरे । यद्यपि रुसको बलियो प्रभावका कारण त्यो सफल हुने सम्भावना न्यून छ । एक त मध्य एसियाली देशले युक्रेन युद्धमा तटस्थ अडान लिएका छन् । त्यसमाथि मध्य एसियाली राष्ट्रहरू श्रम आप्रवासन, बजार पहुँच, यातायात र ऊर्जा स्रोतका लागि रुसमा अत्यधिक निर्भर छन्, जसले गर्दा तिनले रुसलाई चिढ्याउने गरी पश्चिमी शक्तिको स्वार्थलाई सघाउनेछैनन् । अर्कातर्फ रुसी नेतृत्वको युरेसियन इकोनोमिक युनियन –इएइयू)ले मध्य एसियाली मुलुक र रुसबीचको क्षेत्रीय आर्थिक एकीकरणमा उलेख्य सघाउ पुर्‍याएको छ । रुस–युक्रेन संकटमा चीनको मूल अडान पनि शान्तिको पक्षमा छ । 

यी सबै पक्षलाई मध्यनजर गर्दा, चीन, मध्य एसिया र रुसबीचको सम्बन्ध आपसी सहयोग, पारस्परिक लाभ र एकअर्काको हितप्रतिको सम्मानले निर्देशित छन् । सबैले साझा लक्ष्य हासिल गर्न र क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिमा योगदान गर्न मिलेर काम गरिरहेकाले यहाँ ‘जिरो–सम (एकले जित्न अर्कोले हार्नैपर्ने)’ भनिने पश्चिमी मानसिकता संलग्न छैन । 

(बेइजिङमा रहेको सिजिटिएनका लागि काम गर्ने पत्रकार तथा टिप्पणीकार सु चिनियाँ विदेश नीति, चीन–अमेरिका सम्बन्ध, प्रविधि र अर्थतन्त्र विषयमा कलम चलाउँछिन्) रसियन टुडे (आटी) बाट