मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
द इकोनोमिक्स
२०८० जेठ १२ शुक्रबार ०७:५५:००
Read Time : > 4 मिनेट
विश्व प्रिन्ट संस्करण

इलोन मस्कको स्टारलिंकसँग त्रसित चीन

अमेरिकाले स्टारलिंकमार्फत पृथ्वीको तल्लो कक्षको अन्तरिक्ष क्षेत्र ओगट्दै गएकोमा चीन त्रसित छ । ऊ पनि स्टारलिंकजस्तै आफ्नै उपग्रह समूह निर्माण गर्न चाहन्छ ।

Read Time : > 4 मिनेट
द इकोनोमिक्स
२०८० जेठ १२ शुक्रबार ०७:५५:००

चीनको जनमुक्ति सेना (पिएलए)ले स्टारलिंकबाट सावधान रहन सतर्क गराएको छ । कुनै तार वा सार्वजनिक संरचनाविनै उच्च–ब्यान्डविथयुक्त इन्टरनेट सेवा प्रदान गर्ने यी सेटलाइट (भूउपग्रह)को विशाल समूह (मेगा–कन्स्टिलेसन) अमेरिकी निजी कम्पनी स्पेस–एक्सबाट सञ्चालित छ । स्पेस–एक्स अमेरिकी अर्बपति इलोन मक्सको निजी अन्तरिक्ष कम्पनी हो, जसले भविष्यमा मंगलग्रहमा मान्छे पुर्‍याउने लक्ष्य लिएको छ । तर, चीनको सेनाले वासिंटनका अधिकारीले स्टारलिंकको फाइदा उठाइरहेको भनेर सचेत गराएको हो । गतवर्ष रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि उसलाई स्टारलिंक उपलब्ध गराउँदा पनि पिएलए सञ्चालित अखबारले स्टारलिंकलाई ‘आधिपत्यवादी अमेरिका’को मतियार करार गरेको थियो । जबकि स्पेस–एक्सलाई मद्दतका लागि अनुरोध युक्रेनले नै गरेको थियो । 

स्टारलिंक युक्रेनको युद्धमा निकै महत्वपूर्ण साबित भएको छ । यसका स्याटेलाइट लिंकहरूले युक्रेनलाई सैनिकबीच कुराकानी गर्न, निसाना पहिचान गर्न र विश्वलाई देखाउन भिडियोहरू अपलोड गर्न सक्षम बनाएको छ । यो प्रणालीलाई अवरुद्ध (जाम) गराउन गाह्रो छ । चीनको दृष्टिकोणबाट हेर्दा यसले उसको मित्रराष्ट्र रुसलाई मात्र घाटा पुर्‍याउँदैन, स्वशासित टापु ताइवानका बारेमा पनि चिन्ता उत्पन्न गर्छ । यदि ताइवानलाई स्टारलिंकमा पहुँच दिइयो भने यसले चिनियाँ आक्रमणलाई त्यसभन्दा कठिन बनाउनेछ । 

तर, चीनको चिन्ता यसभन्दा पनि पर छ । अमेरिकाले स्टारलिंकमार्फत पृथ्वीको तल्लो कक्षको अन्तरिक्ष क्षेत्र ओगट्दै गएकोमा चीन त्रसित छ । चीन पनि यो क्षेत्रको शक्ति बन्न चाहन्छ । र, उ स्टारलिंकजस्ता प्रणालीद्वारा सुसज्जित हुन चाहन्छ । त्यसैले चीन स्टारलिंकको आफ्नो संस्करणमा काम गरिरहेको छ ।

जब ताइवानको कुरा आउँछ, विश्लेषकहरूलाई लाग्छ कि चीनले आक्रमण गर्दा ताइवानलाई बाँकी विश्वसँग जोड्ने समुद्रमुनिका १४ वटा इन्टरनेट केबल विच्छेद गरेर सुरु गर्न सक्छ । ताइवान समुन्द्रमा केबल थप्दै छ । ऊ चिनका सेना अवतरण हुन सक्ने स्थल कसरी सुरक्षित गर्ने भनेर योजना बनाइरहेको छ ।

उनीहरूले ताइवानबाहिरसहित ७०० स्थानमा एन्टेनाहरूको परीक्षण पनि गरिरहेका छन् । यी एन्टेना स्टारलिंकले प्रयोग गर्ने जस्तै अन्तरिक्षको तल्लो कक्षमा घुमिरहेका भूउपग्रहको माध्यमबाट संकेतहरू पठाउन र प्राप्त गर्न सक्षम हुनेछन् । ताइवानको थिंक ट्यांक इन्स्टिच्युट फर नेसनल डिफेन्स एन्ड सेक्युरिटी रिसर्चका जेङ यिसुओका अनुसार आक्रमणबाट बच्नका लागि एन्टेनाहरूलाई सकेसम्म गतिशील बनाउन खोजिएको छ ।

स्टारलिंक युक्रेनको युद्धमा निकै महत्वपूर्ण साबित भएको छ । यसका स्याटेलाइट लिंकहरूले युक्रेनलाई सैनिकबीच कुराकानी गर्न, निसाना पहिचान गर्न र विश्वलाई देखाउन भिडियो अपलोड गर्न सक्षम बनाएको छ । यो प्रणालीलाई अवरुद्ध (जाम) गराउन गाह्रो छ । चीनको दृष्टिकोणबाट हेर्दा यसले उसको मित्रराष्ट्र रुसलाई मात्र घाटा पुर्‍याउँदैन, स्वशासित टापु ताइवानबारे पनि चिन्ता उत्पन्न गर्छ ।

चीनसँग भूउपग्रह खसाल्ने क्षमता छ । तर, स्टारलिंकसँग चार हजारभन्दा धेरै भूउपग्रह छन् र ऊ तिनलाई दसौँ हजार पु¥याउने लक्ष्यमा छ । चीनले ताइवानलाई स्टारलिंकमा पहुँच नदिन स्पेसएक्सका संचालक इलोन मस्कलाई आफूतर्फ मिलाउन सक्ने सम्भावना पनि छ । मस्कको अर्काे ठूलो कम्पनी टेस्लाको सांघाईमा ठूलो कारखाना छ । गतवर्ष उनले ताइवानको विवाद सुल्झाउन चीनलाई ताइवानमाथि केही नियन्त्रण दिन सुझाव दिएका थिए । (स्पेसएक्सले ताइवानलाई स्टारलिंक चाँडै विस्तार हुने स्थानको सूचीमा राखेको छ । तर, उसले त्यहाँ व्यावसायिक रूपमा नै सञ्चालित हुन आवेदन भने दिइसकेको छैन ।) 

ताइवानले अरूमाथिको निर्भरता कम गर्न खोजिरहेको छ । उसको अन्तरिक्ष एजेन्सीले आफ्नै लो–अर्बिट कम्युनिकेसन स्याटेलाइट विकास गरिरहेको छ । पहिलो स्याटेलाइट सन् २०२५ मा प्रक्षेपण गर्ने अपेक्षा गरिएको छ ।लो–अर्बिट (तल्लो कक्ष)मा चीनको महत्वाकांक्षा निकै ठूलो छ ।

चीन सरकारले सन् २०२० मै संयुक्त राष्ट्रसंघीय निकाय इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनमा १२ हजार नौ सय ९२ स्याटेलाइटका समूहका लागि कागजात पेस गरेको हो । त्यसको एक वर्षपछि चीनले चाइना स्याटेलाइट नेटवक्र्स ग्रुप लिमिटेडको स्थापना गरी स्याटेलाइट इन्टरनेट विकास गर्ने जिम्मा दियो । अहिले कम्तीमा सातवटा सरकारी एवं निजी चिनियाँ कम्पनीले स्याटेलाइट फ्याक्ट्रीहरू निर्माण गरिरहेका छन् । उनीहरू छिटै हेरक वर्ष सयौँ साना सञ्चार उपग्रह उत्पादन गर्न सक्षम हुने अपेक्षा गरिन्छ ।

 बेइजिङका अधिकारी अन्तरिक्ष–दौडको मानसिकतामा रहेको देखिन्छ । सन् २०२२ मा द लिबरेसन आर्मी डेलीले अन्तरिक्ष कक्ष (अर्बिट) र रेडियो फ्रिक्वेन्सीहरू ‘दुर्लभ रणनीतिक स्रोत’ भएका र तिनमाथि स्टारलिंकले ‘एकाधिकार’ स्थापित गर्न खोजेको भनेर चेतावनी दिएको थियो । गत वर्ष चीनको मुख्य अन्तरिक्ष ठेकेदार कम्पनीका अध्यक्ष वु यान्सेङले चीनले ‘अन्तरिक्ष शक्ति’ बन्न तीव्र गतिमा अघि बढ्नुपर्ने बताएका थिए ।

अन्तरिक्षको समस्यालाई अमेरिका र चीनबीच संवादको कमीले चर्काएको छ । यो कुराचाहिँ खतरनाक हो । तल्लो कक्षमा भिडभाड बढ्दै जाँदा खराब मुठभेडको सम्भावना बढ्दै गएको छ ।

गत अप्रिलमा प्रधानमन्त्री ली कियाङले तीनवटा स्टार्टअपको भ्रमण गरेर यो उद्योगको महत्वमा जोड दिए । उनले भ्रमण गरेकोमध्ये एउटा ग्यालेक्सी स्पेस पनि थियो, जुन भूउपग्रह निर्माता हो । उसले निर्माण गरेका ६ थान उपग्रह गत वर्ष तल्लो कक्षमा प्रक्षेपण गरिसकिएको छ ।

चीनका सर्वाेच्च नेता सी चिनफिङको जनमुक्ति सेनाको आधुनिकीकरण गर्ने चाहनाका कारण पछिल्लो गतिविधि सुरु भएको हो । उनका जनरलहरूले युद्धभूमिलाई नियाल्न अमेरिकाले कसरी सञ्चार र सूचना उपकरण प्रयोग गर्छ भन्नेबारे लामो समयदेखि अध्ययन गरिरहेका थिए । सी अन्तरिक्ष र साइबर स्पेसको उल्लेख नगरी सूचना प्रविधिको प्रयोग गरेर जमिन, वायु र समुद्रमा संयुक्त अभियान सञ्चालन गर्न सक्षम एक उच्च रूपमा सुसूचित रक्षादल सिर्जना गर्न चाहन्छन् ।

आकाशमा भूउपग्रहको भिडभाड बढ्दै छ
स्पेसएक्सबाहेक पृथ्वीको तल्लो कक्षमा चीनका थुप्रै छिमेकी हुनेछन् । ६५० उपग्रह सम्मिलित उपग्रह मण्डल निर्माण पूरा गर्ने तर्खरमा रहेको ‘वनवेब’मा बेलायत सरकारको हिस्सेदारी छ । अमेजनका संस्थापक जेफ बेजोसको लगानीमा निर्माण भइरहेको ‘कुइपर’ उपग्रह मण्डलले चाँडै आफ्नो पहिलो परीक्षण उपग्रह प्रक्षेपण गर्दै छ । रुसले जस्तै इयूले पनि आफ्नै उपग्रह प्रणालीको योजना बुनिरहेको छ । विश्वका शक्तिहरूले स्याटेलाइट इन्टरनेटलाई रणनीतिक क्षमताको रूपमा हेर्न थालेका छन् । 

स्पेसएक्सलाई एउटा महत्वपूर्ण लाभ छ । तल्लो कक्षमा उपग्रह धेरै लामो समयसम्म टिक्दैनन्, त्यसैले कम्पनीले तिनीलाई नियमित रूपमा प्रतिस्थापन गर्नुपर्छ । यसका लागि ठूलो संख्यामा रकेट प्रक्षेपण गर्नुपर्ने हुन्छ । स्पेसएक्ससँग यसका लागि विश्वको सबैभन्दा राम्रो प्रणाली छ । उसको फाल्कन–९ रकेटको आंशिक पुनः प्रयोग गर्न सकिन्छ । अहिले उसले स्टारसिप नामक निकै ठूलो र पूर्ण रूपमा पुनः प्रयोगीय अन्तरिक्षयानमाथि काम गरिरहेको छ, जसले एकपटकमा सयौँ उपग्रह प्रक्षेपण गर्ने क्षमता राख्छ । केही चिनियाँ कम्पनीले पनि त्यस्तै रकेट निर्माण गर्ने प्रयास गरिरहेको देखिन्छ । 

यी सबै गतिविधिले चीनलाई चिन्तित तुल्याएको छ । लिबरेसन आर्मी डेलीले पृथ्वीको तल्लो कक्षमा ५० हजार उपग्रहका लागि मात्र ठाउँ रहेको र स्टारलिंकले त्यसको ८० प्रतिशतभन्दा बढी भाग ओगट्न सक्ने चिन्ता गरेको छ । बेलायतको थिंक ट्यांक रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटकी जुलियाना सुएस यो गणना त्यति सरल नभएको बताउँछिन् । ‘तल्लो कक्षलाई राजमार्गको रूपमा कल्पना गर्नुहोस्,’ उनी भन्छिन् । यो राजमार्गले सञ्चालित कति कारलाई थेग्न सक्छ भन्ने कुराको हिसाब लगाउनुपर्ने हुन्छ । धेरै कुरा उपग्रहहरूको आकार र तिनको परिक्रमा मार्गमा निर्भर गर्नेछ ।

सन् २०२१ मा स्टारलिंकका दुइटा स्याटेलाइट चिनियाँ अन्तरिक्ष स्टेसनसँग ठोक्किने मार्गमा प्रवेश गरेका थिए । कम्तीमा चीनको आरोप यही छ । यो आरोपको अमेरिकाले भने खण्डन गरेको छ । अमेरिकास्थित थिंक ट्यांक कार्नेगी इन्डोमेन्ट फर इन्टरनेसनल पिसका बेन्जामिन सिल्भरस्टाइन यी दुई शक्तिले कक्षको गणनामा फरक–फरक तरिका प्रयोग गरेको हुन सक्ने बताउँछन् । त्यसैले सहजताअनुसार उनीहरूको दृष्टिकोण पनि फरक–फरक हुन सक्छ । केचाहिँ स्पष्ट छ भने समस्यालाई जसरी तल्लो कक्षमा ट्राफिकको मापदण्डको कमीले चर्काएको छ, सञ्चारको कमीले पनि उसैगरी चर्काएको छ । अमेरिका र चीनबीच यस्ता विषयमा पहिले कुरा हुने गथ्र्याे, तर सन् २०१७ यता त्यस्तो बैठक भएकै छैन । यो कुराचाहिँ खतरनाक हो । तल्लो कक्षमा भिडभाड बढ्दै जाँदा खराब मुठभेडको सम्भावना बढ्दै गएको छ ।