Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० जेठ १२ शुक्रबार ०७:५२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कमोडिटिज मार्केटको लाइसेन्स वितरण गर्न आलटाल

Read Time : < 1 मिनेट
२०८० जेठ १२ शुक्रबार ०७:५२:००

नेपाल धितोपत्र बोर्डले कमोडिटिज मार्केटको लाइसेन्स वितरण गर्न आलटाल गर्दै आएको छ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न तीव्रता दिएको बोर्डले कमोडिटिज मार्केटको लाइसेन्सका लागि बनेको मूल्यांकन समितिको काम भने निकै सुस्त छ ।

कमोडिटिज मार्केटका लागि चारवटा कम्पनीको आवेदन परेको छ । दुईवटा कम्पनीले लाइसेन्स पाउने गरी खुला गरेको आवेदनमा मल्टिडेटिभेटिभ एक्सचेन्ज लिमिटेड, मल्टिएसेट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्ज, नेपाल मल्टिकमोडिटिज एक्सचेन्ज रहेका छन् । 

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोकिए पनि कमोडिटिज मार्केटका लागि लाइसेन्स प्रक्रियालाई बोर्डले कायमै राखेको छ । तर, यस विषयमा बोर्डले कुनै ठोस निर्णय लिएको छैन । कमोडिटिज समितिमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणीन्द्र गौतमको नेतृत्वको मूल्यांकन समिति गठन भएको छ । उक्त समितिमा अर्थ मन्त्रालयबाट बोर्डमा सञ्चालक रहेका सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकबाट बोर्डमा सञ्चालक रहेका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री सदस्य रहेका छन् ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका गिरी र दीपा दाहाल रहेका सदस्य छन् । मूल्यांकन समितिकै एक सदस्यका अनुसार यस विषयमा कुनै पनि प्रक्रिया अघि बढेको छैन । उनले भने, ‘अहिलेसम्म कुनै ठोस काम भएको छैन, पहिला स्टकको टुंग्याएर यसमा जाने भन्ने थियो, अब त्यो रोकियो खासै केही भएको छैन ।’

बोर्ड अध्यक्ष रमेशकुमार हमालले भने मूल्यांकन समितिले आवेदन कम्पनीको फाइल हेर्ने काम भइरहेको बताए । उनले भने, ‘यसमा मूल्यांकन समितिले काम गर्न थालिसकेको छ, मूल्यांकनअनुसार लाइसेन्स पाउनेछन् ।’ धितोपत्र बोर्डले कमोडिटिज एक्सचेन्जका लागि ३० चैतमा लाइसेन्स वितरणका लागि आवेदन १० दिनको समय दिएर आवेदन माग गरेको थियो ।