Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ०७:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१० अर्ब कर छुटसम्बन्धी मुद्दा : दुई सातादेखि निरन्तर सुनुवाइ, फैसला आउने तयारीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ०७:३०:००

विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माउपरका तीन मुद्दामा फैसला सुनाउने तयारी गरेको छ । उनी कर फर्स्योट आयोगको सदस्यसमेत रहेका वेला गरेको भ्रष्टाचारसहितका मुद्दामा सुनुवाइ सकिएको छ भने न्यायाधीशहरू फैसलाका लागि फाइल तथा कागजात अध्ययन गरिरहेका छन् । 

‘दुवै पक्षको बहससहित एमिकस क्युरीले पनि राय दिइसकेका छन् । श्रीमान्हरूले अध्ययन गर्दै हुनुहुन्छ । यो मुद्दाका कारण पेसी चढेका अन्य थुप्रै मुद्दा हेर्न नभ्याइनेमा परिरहेको छ । अब छिट्टै फैसला हुनेछ,’ विशेष अदालतका एक अधिकारीले भने । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले यो मुद्दालाई २४ वैशाखदेखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्दै आइरहेको छ । शुक्रबारबाहेक प्रत्येक दिन यो मुद्दा पेसी चढिरहेको छ । 

विशेषले यस मुद्दामा एमिकस क्युरीको राय माग गरेको थियो । दुईजना कानुन व्यवसायी नेपाल बार एसोसिएसनबाट र अन्य दुईजना विशेष अदालत बारबाट झिकाउने आदेश भएको थियो । नेपाल बारबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र अधिवक्ता मोतीलाल गौतमले इजलासलाई राय दिएका थिए भने विशेष बारले अधिवक्ताद्वय सुरेन्द्रबहादुर थापा र शरदप्रसाद कोइरालालाई पठाएको थियो । 

‘यो मुद्दामा थुप्रै कानुन व्यवसायी हुनुहुन्छ, वरिष्ठ अधिवक्ताहरू हुनुहुन्छ । मुद्दासमेत तीन–तीनवटा छ । अन्य प्रतिवादीका कानुन व्यवसायीको बहस पनि भयो । त्यसैका कारण सुनुवाइको समय लम्बिएको हो,’ विशेष अदालत स्रोतले भन्यो । शर्मासमेत प्रतिवादी रहेको राजस्व चुहावटका दुईवटा र गैरकानुनी सम्पत्ति आर्जनको एउटा मुद्दा विशेषमा विचाराधीन छ । १६ जेठ ०७९ मा विशेषले यी तीनवटै मुद्दालाई साथै राखेर सुनुवाइ गर्ने भन्दै बहस नोट पेस गर्न आदेश दिएको थियो । त्यसयता तीनै मुद्दा साथसाथ पेसी तथा सुनुवाइ भइरहेका थिए । हाल भने न्यायाधीशहरू अन्तिम फैसला दिने गरी छलफल र अध्ययन गरिरहेका छन् । 

हालसम्मकै सबैभन्दा बढी बिगो मागदाबीसहितको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ साउन ०७४ मा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै चूडामणि शर्मासहित लुम्बध्वज महत र उमेशप्रसाद ढकाललाई प्रतिवादी कायम गरी मुद्दा दायर गरेको थियो । महत अध्यक्ष रहेको कर फर्स्योट आयोग, २०७१ बाट फर्स्योटका लागि सम्झौता भएका करदातामध्ये केहीलाई बदनियतपूर्वक १० अर्ब दुई करोड रुपैयाँभन्दा बढी कर छुट तथा मिनाह गरेको भेटिएको थियो । शर्मा र ढकाल आयोगका सदस्य थिए । आयोगलाई दिइएको म्यान्डेटभन्दा बाहिर गई आफूलाई फाइदा हुने गरी करदाताहरूसँग सम्झौता गरेका कारण राज्यलाई आउनुपर्ने राजस्व नउठेको दाबी अख्तियारले गरेको थियो । 

त्यस्तै, सोही वर्ष १५ माघमा फेरि आन्तरिक राजस्व विभागका महानिर्देशकका रूपमा कार्यरत हुँदा शर्माले गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी अर्को मुद्दा दायर भएको थियो । ०४५ मा सरकारी सेवामा प्रवेश गरेका उनले ०७३ सम्म सात करोड ९३ लाख रुपैयाँभन्दा बढी रकमबराबरको सम्पत्ति जोडेको र खर्च गरेको भेटिएको थियो । अख्तियारको अनुसन्धानअनुसार उनको वैध आय तीन करोड ६३ लाख रुपैयाँ हुनुपर्नेमा चार करोड ३० लाख रुपैयाँभन्दा बढी रकमको स्रोत खुलेको थिएन । यस मुद्दामा शर्माका साथै जफत प्रयोजनका लागि उनकी पत्नी कल्पना उप्रेती शर्मालाई समेत प्रतिवादी कायम गरी अख्तियारले मुद्दा दायर गरेको छ । 

शर्माविरुद्धको अर्को मुद्दा दुई वर्षअघि दायर भएको थियो । अख्तियारले ९ असार ०७८ मा कर फर्स्योट आयोगका पदाधिकारीका हैसियतमा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो । कर फर्स्योट सम्झौता गर्दा मनोमानी किसिमले गरेको पुष्टि भएपछि तीनैजनाविरुद्ध एक अर्ब ३३ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो ।