मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौं डिल्लीबजारको भित्री सडकमा धमाधम कालोपत्रे गर्दै मजदुर । तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२०८० जेठ ११ बिहीबार ०९:३०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कालोपत्रेमाथि बर्सेनि कालोपत्रे, गुणस्तरमा सधैँ प्रश्न

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० जेठ ११ बिहीबार ०९:३०:००

वर्षभरि आलटाल गर्ने र आर्थिक वर्षको अन्त्यतिर हतारहतार सडक कालोपत्रे गरी बजेट सकाउने प्रवृत्तिले यसपटक पनि प्राथमिकता पाइरहेको छ । अहिले काठकाडौं उपत्यकाका अधिकांश स्थानीय तहलाई कालोपत्रेमाथि कालोपत्रे गर्न भ्याइनभ्याइ छ । उनीहरूलाई ठेकेदार र सरकारी निकायले पनि साथ दिइरहेका छन् । 

हतारमा सडक पूर्वाधार निर्माण गर्दा गुणस्तरीय त हुँदैन नै बजेटको समेत चरम दुरुपयोग हुने विज्ञहरू बताउँछन् । पूर्वाधार विकास निर्माणको अनुगमन गर्ने निकायले आँखा चिम्लिँदा यो प्रवृत्ति बढिरहेको छ । अबको दुई महिनाभित्र काठमाडौं महानगरले मात्रै २३ स्थानका सडक कालोपत्रे गर्दै छ ।

ती सडक यसअघि नै पटकपटक कालोपत्रे भइसकेका छन् । महानगरले डिल्लीबजारस्थित भोजनगृहअगाडिको करिब दुई सय मिटर सडक कालोपत्रेमाथि कालोपत्रे गरिसकेको छ । लैनचौर हुँदै सामाखुसी निस्कने सडक पनि कालोपत्रे गर्ने योजनामा छ । कालोपत्रेमाथि कालोपत्रे थप्ने गरी महानगरले बजेट विनियोजन गरेको छ । 

ललितपुर महानगरले पनि कालोपत्रे र मर्मतका लागि १७ वटा सडक चयन गरेको छ । पाटन क्षेत्रका आठवटा सडक र अन्य नौवटा सडक रिङरोडबाहिरका सडक ललितपुर महानगरले असारभित्रै कालोपत्रे गर्दै छ । महानगरका प्रवक्ता राजु महर्जनले कतिपय सडक भत्किएर धुलाम्य र हिलाम्य भएकाले कालोपत्रे गर्न लागेको बताए ।

‘यो वर्ष हामीले साना सडक कालोपत्रे र मर्मतका लागि योजना अघि सारेका थियौँ, सोहीअनुसार काम सुरु भएको छ,’ उनले भने । महानगरभित्र वडा नम्बर १६ को पाटन क्षेत्रमा ढुंगा छाप्ने काम पनि भइरहेको छ । एकान्तकुना निस्कने दुईवटा साना सडक, मंगलबजार–लगनखेल सडक, ग्वार्को क्षेत्रका भित्री सडक, हात्तीवन र ढोलाहिटी क्षेत्रका सडक पनि कालोपत्रे गर्ने योजना महानगरको छ । 

गोदावरी नगरपालिकाले चापागाउँ प्रहरी वृत्तदेखि झ्याली पाटीसम्मको करिब चार सय मिटर सडक कालोपत्रे गर्ने अन्तिम तयारीमा छ । करिब १६ लाख बजेटमा उक्त सडक कालोपत्रे गर्न लागिएको हो । यो सडक एक वर्षअघि मात्रै कालोपत्रे भएको थियो । नगरपालिकाले मर्मत–सम्भारको लागि छुट्याएको बजेटले कालोपत्रे थप्न थालेको हो । त्यस्तै, चापागाउँ सडकखण्डकै ठेचो क्षेत्रमा पनि कालोपत्रेमाथि कालोपत्रे थप्ने काम सुरु भएको छ । 

सहरी पूर्वाधारविद् सूर्यराज आचार्यले सहरी क्षेत्रमा हतारहतार सडक निर्माण गर्दा सडकको आयु कम हुँदै जाने गरेको बताए । आर्थिक वर्षको अन्ततिर मात्रै हतारहतार काम गर्ने, तर त्यसभन्दा अघि काम नगर्ने प्रवृत्तिले सडक पूर्वाधारको गुणस्तरतामाथि सधैँ प्रश्न उठ्ने गरेको उनी बताउँछन् ।

कोटेश्वर–तीनकुने–बानेश्वर सडकमा पिचमाथि पिच
उपत्यकाका सडकहरूको आवधिक मर्मतका लागि सरकारले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ । यही क्रममा यस वर्ष कोटेश्वर–तीनकुने–बानेश्वर क्षेत्रमा पिचमाथि पिच (कालोपत्रे) थप्ने काम भइसकेको छ । यस्तै, लाजिम्पाट र रत्नपार्क क्षेत्रमा पनि चालू आवमै पिचमाथि पिच गरिएको छ । डिभिजन सडक कार्यालय काठमाडौंले यो सडकको पिच गरेको हो । 

सडक डिभिजन काठमाडौंले चक्रपथ, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–कलंकी सडक खण्डमा असारभित्रै कालोपत्रेमाथि कालोपत्रे थप्दै छ । यी सडक आवधिक मर्मत योजनाअनुसार कालोपत्रे हुने डिभिजनका प्रमुख नारायणप्रसाद निहुरेले बताए । उनले भने, ‘उपत्यकाका धेरै सडकहरूको आवधिक मर्मत–सम्भार गर्नुपर्ने हुन्छ । सामरिक महत्व र भिभिआइपी क्षेत्रका सडकमा कालोपत्रेमाथि कालोपत्रे गर्ने चलन छ ।’ उनले यो वर्ष अर्थ मन्त्रालयले समयमै बजेट नदिएका कारण काम ढिलो हुन लागेको बताए । 

असारभित्रै हुँदै छन् यी सडक कालोपत्रे
काठमाडौं महानगरका पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले चैतदेखि नै महानगरभित्रका सडक धमाधम कालोपत्रे भइरहेको बताए । महानगरले हरेक वर्ष यस्ता सडक मर्मत, स्तरोन्नति र कालोपत्रेमाथि कालोपत्रेका लागि बजेट छुट्याउने उनको भनाइ छ । यो वर्ष महानगरले पूर्वाधारतर्फ पाँच अर्ब बजेट छुट्याएको थियो । त्यसमध्ये तीन अर्ब बजेट सडकका लागि छुट्याइएको थियो ।

त्यसबाहेक अन्य बजेट सरकारी भवन, पार्क तथा अन्य संरचना निर्माणका लागि छुट्याएको थियो । ‘हामीलाई काम गर्ने मेसो वर्षको अन्तिमतिर नै हुन्छ, जेठ–असारमा काम भयो भन्दैमा नराम्रो हुने होइन,’ पूर्वाधार विभाग प्रमुख थापाले भने, ‘कतिपय सडक कालोपत्रे भएका छन्, कतिपयमा इँटा र ढुंगा छापिएका छन् ।’ यो आवभित्र वडा नम्बर ३२ को पेम्सीकोला–फूलबारी क्षेत्र, वडा नम्बर ६ को भुवनडाँडा, वडा नम्बर १६ को रानीबारी र वनस्थली सडक वडा नम्बर १४ को खड्गगाउँ, वडा नम्बर ३१ को शंखमूल, नयाँ बानेश्वरलगायत सडक कालोपत्र गरिँदै छ । यी सबै सडक आठ मिटरभन्दा कम चौडाइका सडक हुन् । तर, कतिपय अवस्थामा भने अवस्था हेरेर मुख्य सडक पनि महानगरले कालोपत्रे गर्नुपर्ने सडक डिभिजन काठमाडौंका प्रमुख निहुरेले बताए । 

नियमअनुसार महानगरले आठ मिटरभन्दा माथिको सडक कालोपत्रे गर्दैन । यसबाहेक सामरिक महत्वका सडकहरू सडक विभागले मर्मत–सम्भार गर्छ । भिभिआइपी क्षेत्रका सडकहरू वर्षैपिच्छे पटके मर्मत भइरहन्छन् । यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुर र आसपासका नुवाकोट, काभ्रे, धादिङ जोड्ने सहायक सडकहरूको मर्मत पनि हुने डिभिजन प्रमुख निहुरेले बताए ।