मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
वीरेन्द्रप्रसाद महतो, वनमन्त्री/प्रमिलाकुमारी यादव, शिक्षा राज्यमन्त्री
प्रेम गौतम काठमाडाैं
२०८० जेठ १० बुधबार ०८:५८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाँच महिनापछि पायो सरकारले पूर्णता : ११औँ पटकको मन्त्रिपरिषद् विस्तारमा बन्यो प्रचण्डको पूर्ण टिम

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०८० जेठ १० बुधबार ०८:५८:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पाँच महिनापछि पूर्णता पाएको छ । गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार दुई मन्त्री थपेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । यसबीचमा प्रधानमन्त्रीले दुईपटक विश्वासको मत लिइसकेका छन् । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपा सांसद वीरेन्द्र महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारी यादवलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेका छन् । महतो सिराहा ४ बाट निर्वाचित सांसद हुन् भने प्रमिला कुमारी राष्ट्रिय सभा सदस्य हुन् । शिक्षामन्त्री जसपाकै संघीय परिषद् अध्यक्ष एवं सांसद अशोक राई छन् ।  ११ पटक मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ । संविधानअनुसार संघीय मन्त्रिपरिषद् प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीसहित बढीमा २५ सदस्यीय हुन्छ । 

प्रधानमन्त्री प्रचण्डले पुसमा एकपटक, माघमा तीनपटक, फागुनमा दुईपटक, चैतमा एकपटक, वैशाखमा तीनपटक र जेठमा एकपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ११ पुस, ३, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत र ३, २१ र २४ वैशाख र ९ जेठमा मन्त्रिपरिषद् गठन र विस्तार भएको छ । 

सत्तागठबन्धनमा हेरफेर भएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन समय लागेको हो । राष्ट्रपति निर्वाचनसँगै तत्कालीन सत्तारुढ गठबन्धन भत्किएर चुनावताकाकै गठबन्धन ब्युँतिएको थियो । तत्कालीन सत्तारुढ दल एमाले, रास्वपा, राप्रपा र जनमत पार्टी हाल सरकारबाहिर छन् । जनमत पार्टीले भने सरकारलाई दिएको विश्वासको मत कायम राखेको छ । प्रचण्डलाई प्रधानमन्त्री नियुक्ति गर्न हस्ताक्षर गरेको जसपा नयाँ गठबन्धनपछि मात्रै सरकारमा सहभागी भयो । जसपाका लागि छुट्याइएको मन्त्रालय प्रधानमन्त्रीले आफैँसँग राखेका थिए ।

१४ फागुनमा राप्रपा र १६ फागुनमा एमालेका मन्त्रीहरू सरकारबाट बाहिरिएपछि कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपालगायतका दलहरू सरकारमा सहभागी भएका थिए । रास्वपा यसअघि नै सरकारबाट बाहिरिएको थियो । करिब एक महिना माओवादी र जनमत पार्टीका नेता मात्रै मन्त्री थिए । नयाँ गठबन्धनमा मन्त्रालय चित्त नबुझेपछि जनमत पार्टी सरकारबाट बाहिरिएको छ ।

प्रचण्ड सरकारमा सुरुमा तीनजना (विष्णु पौडेल, रवि लामिछाने र नारायणकाजी श्रेष्ठ) उपप्रधानमन्त्री थिए । बीचमा एक (श्रेष्ठ) हुँदै हाल दुईजना (पूर्णबहादुर खड्का र श्रेष्ठ) उपप्रधानमन्त्री छन् । खड्काले रक्षा र श्रेष्ठले गृह मन्त्रालय सम्हालेका छन् । उपप्रधानमन्त्रीपछिको वरीयतामा एकीकृत समाजवादीका उपाध्यक्ष डा. बेदुराम भुसाल छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अशोक राई, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शरत्सिंह भण्डारी, अर्थ मन्त्रालय प्रकाशशरण महत, खानेपानी मन्त्रालय महिन्द्र राय यादव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय शक्तिबहादुर बस्नेतले सम्हालेका छन् ।

यस्तै, परराष्ट्र मन्त्रालय नारायणप्रकाश साउद, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय रेखा शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मोहनबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सुदन किराँती, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अमनलाल मोदी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रकाश ज्वाला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय रञ्जिता श्रेष्ठ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रमेश रिजाल, सहरी विकास मन्त्रालय सीता गुरुङ, युवा तथा खेलकुद मन्त्रालय डिगबहादुर लिम्बू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सुरेन्द्रराज आचार्यले सम्हालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी सुशीला सिर्पाली ठकुरी र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको जिम्मेवारी नन्दा चपाईले पाएका छन् ।

अब सरकारले रफ्तारमा काम गर्छ : हरिबोल गजुरेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार 

विभिन्न कारणले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन । अब मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार क्रियाशील छ । संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम लागू गर्ने गरी सरकार अगाडि बढ्छ । सोही आधारमा बजेट पनि तयार हुँदै छ । नीति तथा कार्यक्रम र बजेट पूर्ण रूपमा कार्यान्वयन गर्दै सरकार अगाडि बढ्छ । प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पनि भइरहेको छ ।