मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०८० जेठ १० बुधबार ०८:०७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मधेसमा सत्तारूढ दलहरूबीच असन्तुष्टि : सरकारमा कांग्रेस र एकीकृत समाजवादी भित्रिए, माओवादी बाहिरियो

Read Time : > 2 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०८० जेठ १० बुधबार ०८:०७:००

चौथोपटक सरकार विस्तार हुँदा मधेस प्रदेशमा सत्तागठबन्धनमा रहेका दलहरूबीच मनमुटाव बढेको छ । कांग्रेस र एकीकृत समाजवादीको प्रवेश हुँदा भागबन्डामा अन्तुष्टि जनाउँदै माओवादी भने बाहिरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार र वीरेन्द्रप्रसाद सिंहलाई स्वास्थ्यमन्त्री तथा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपानेलाई कृषिमन्त्री बनाएका छन् । तर, २९ पुसमा जसपा संसदीय दलका नेतासमेत रहेका यादवलाई मुख्यमन्त्री बनाएर एक मन्त्री र एक राज्यसहित सरकारमा सहभागी माओवादीले भने मंगलबार सरकार छाडेको छ ।

मन्त्रालय बा“डफा“टका लागि मंगलबार छलफल हुने भनिए पनि मुख्यमन्त्री यादवले त्यसअघि सरकार विस्तार गरेपछि गठबन्धनमा असन्तुष्टि देखा परेको हो । माओवादी संसदीय दलका नेता भरतकुमार साहले मुख्यमन्त्री यादवले गठबन्धनको मर्म र भावनाविपरीत एकलौटी मन्त्री नियुक्त गरेर शपथ गराएपछि सरकारबाट बाहिरिने निर्णय लिएको बताए । ‘मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको छ, अब उहाँहरू फर्किनुहुन्छ,’ उनले भने । मधेसमा माओवादीबाट उद्योगमन्त्री सुनिता यादव र रहवर अन्सारी राज्यमन्त्री छन् । लोसपा संसदीय दलका नेता अभिराम शर्माले पनि गठबन्धनमा छलफल नै नगरी मुख्यमन्त्री यादवले कांग्रेस र एकीकृत समाजवादीलाई मात्रै सरकारमा सहभागी गराउनु गठबन्धनको मर्म र भावनाविपरीत रहेको टिप्ण्णी गरे । कांग्रेस संसदीय दलका नेता रहेका नवनियुक्त भौतिकमन्त्री यादवले सत्तासाझेदार दलबीच केही असन्तुष्टि रहे पनि सरकारमा कुनै असर नपर्ने बताए । 

विनाविभागीय बनाइएपछि जनमत असन्तुष्ट
मुख्यमन्त्री यादवले जनमतका दुईमध्ये एक मन्त्रीलाई विनाविभागीय बनाइदिएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालिरहेका जनमतका वसन्त कुसवाहलाई विनाविभागीय बनाएर एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपानेलाई जिम्मेवारी दिइएको छ । यसअघि शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री रहेका महेशप्रसाद यादवको जिम्मेवारी हेरफेर गर्न मन्त्रालयको नाम हेरफेर गरिएको छ । र, उनलाई शिक्षा तथा समाजकल्याण मन्त्रालय दिइएको छ । जनमतबाट भूमि व्यवस्था राज्यमन्त्री रहेका सञ्जयकुमार यादव पनि जिम्मेवारीविहीन बनेका छन् । 

मन्त्रालयको जिम्मेवारी खोसिएपछि कुसवाहले अर्काे मन्त्रालय नलिने बताए । ‘कृषि मन्त्रालय पार्टीको बटलाइन हो, मुख्यमन्त्रीले निर्णय नसच्चाए सरकारसँगको हाम्रो सहकार्य समाप्त हुनेछ,’ उनले भने, ‘अर्को मन्त्रालयको जिम्मेवारी लिने पक्षमा छैनौँ ।’ जिम्मेवारी सम्हालेको चार महिनामा आफूले कृषिमा सुधारका काम गरे पनि मुख्यमन्त्री यादवले ब्रेक लगाएको उनले दाबी गरे । जसपा पछिल्लो समय जनमतलाई मधेस सरकारबाट बाहिरै राख्ने रणनीतिमा रहे पनि संघ सरकारलाई समर्थन कायमै रहेकाले गठबन्धनले कुनै निर्णय लिएको थिएन । मुख्यमन्त्री यादवले आफूहरूलाई चिढाएर सरकारबाट धकेल्न खोजेको जनमतका नेताहरूको बुझाइ छ । संघ सरकारमा पनि जनमतले उद्योग वा कृषि मन्त्रालय मागेको थियो, तर खानेपानी मन्त्रालयको जिम्मेवारी दोहो¥याएर दिएपछि पार्टीले अब्दुल खानलाई सरकारबाट फिर्ता गराएको थियो ।

गठबन्धन फेरियो, ताल फेरिएन
जसपा नेता यादव एमाले, माओवादी, जसपा र जनमतको समर्थनमा २९ पुसमा मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री यादवसँगै एमालेका संसदीय दलका नेता सरोज यादव, जनमतका बसन्त कुश्वाहा र जसपाबाट सञ्जय यादवले विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए । ती मन्त्रीले १२ माघमा मात्रै जिम्मेवारी पाए । त्यसपछि २० माघमा दोस्रोपटक सरकार विस्तार हुँदा २३ फागुनमा माओवादी भित्रियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसँगै संघमा समीकरण फेरिएसँगै एमाले सरकारबाट बाहिरिए पनि मधेसमा कांग्रेस, एकीकृत समाजवादी र लोसपाको इन्ट्री हुन सकेको थिएन । मुख्यमन्त्री यादवले मंगलबार चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दा लोसपा सहभागी हुन सकेन । 

मधेसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० मन्त्रालय छन् । नौ मन्त्रीसहित तीन राज्यमन्त्रीको व्यवस्था छ । तर, मौजुदा मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित ६ मन्त्री र दुई राज्यमन्त्री मात्र छन् । त्यसमा पनि चार मन्त्रीको मात्रै जिम्मेवारी तोकिएको छ । जसपाका सुरिता साह र जनमतका वसन्त कुसवाहले जिम्मेवारी पाएका छैनन् । दुई राज्यमन्त्री जसपाका अबुल कलाम अजाद र जनमतका सञ्जय यादवलाई पनि कुनै जिम्मेवारी तोकिएको छैन ।