
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक एक करोड ८८ लाख लिटर पानी वितरण गर्दै आएको छ।
बाेर्डले १९ वटा वडा रहेको उपमहानगरपालिकाको वडा नम्बर ३, ११, १२ र १३ बाहेकका वडाहरूमा बसोवास गर्ने एक लाख ५५ हजार नगरवासीलाई उक्त परिणामको पानी वितरण गर्ने गरेको हो।
बोर्डका अध्यक्ष प्रताप विष्टले करिब २३ हजार पाँच सय धाराबाट दैनिक ६ देखि ७ घन्टा खानेपानी वितरण गर्दै आइरहेको जानकारी दिए।
उनले उपमहानगरवासीलाई राहतस्वरूप गत भदौदेखि न्यूनतम खानेपानी महसुलमा १० हजार लिटर छुटको व्यवस्थासमेत गरेको बताए।
खानेपानी वितरण गरेबापत मासिक रूपमा ९५ लाख रुपैयाँ शुल्क संकलन गर्दै आएको बोर्डले उपमहानगरका वडा नम्बर ३, १२ र १३ मा रहेका स्थानीय खानेपानी उपभोक्ता समितिलाई बोर्डमा ल्याउने तयारी भइरहेको अध्यक्ष विष्टले बताए।
उनले बोर्डमार्फत चालू आर्थिक वर्षमा हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १, २, ४, ७, ८, ९, १४ र १६ मा खानेपानी पूर्वाधार निर्माण सम्पन्न गरेको जानकारी दिए।
अध्यक्ष विष्टका अनुसार बोर्डले चालू आर्थिक वर्षको वैशाखसम्ममा आन्तरिक आयतर्फ १० करोड ६८ लाख ६५ हजार रुपैयाँ (८०.६४ प्रतिशत) र बाह्य आयतर्फ ९२ लाख ३८ हजार रुपैयाँ (३४.७७ प्रतिशत) गरी कुल १४ करोड ५१ लाख ४६ हजार रुपैयाँ (७७.१२ प्रतिशत) संकलन गरेको छ।
त्यस्तै, चालू खर्चतर्फ चार करोड १८ लाख ४१ हजार रुपैयाँ (७७.५७ प्रतिशत) र पुँजीगत खर्चतर्फ तीन करोड ६३ लाख ६२ हजार रुपैयाँ (३७.८८ प्रतिशत) गरी कुल १० करोड ६४ लाख ७० हजार रुपैयाँ (५६.५७ प्रतिशत) खर्च गरेको छ।
बोर्डले सोमबार १०औँ वार्षिकोत्सव कार्यक्रमको आयोजना गर्दै हेटौँडा उपमहानगरपालिकाभित्रका सम्पूर्ण १९ वटै वडामा खानेपानी वितरण प्रणालीलाई व्यवस्थित रूपमा सञ्चालनको तयारी गरिरहेको जानकारी दिएको छ।
बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले खानेपानी संस्थानबाट बोर्डमा परिणत भएपछि अहिलेसम्म भएका कामका प्रगति विवरण प्रस्तुत गरेका थिए।
उनले १० हजार लिटरसम्म निःशुल्क खानेपानी वितरण गर्ने उपमहानगरपालिकाको निर्णय कार्यान्वयन गर्ने गरी काम भइरहेको जानकारी दिए।
बोर्डमा गाभिन बाँकी रहेका तीन वडाका खानेपानी उपभोक्ता समूहलाई बोर्डको स्वामित्वमा ल्याएपछि उपमहानगरपालिकाले दिएको उक्त सुविधा नागरिकले उपभोग गर्न सक्ने निर्देशक सापकोटाले बताए।