
विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिका र कृषि तथा वन विश्वविद्यालय रामपुरको झन्डा फहराइएको छ । गाइड नरेन ठकुरी, सहायक गाइड चेतन भोटे सगरमाथा आरोहणका लागि गत चैत २१ गते काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए ।
यही वैशाख २५ गते आधार शिविरबाट हिँडेको टोली जेठ ३ गते बिहान ८:३३ बजे सगरमाथाको चुचुरोमा पुगेको थियो । उक्त टोली अहिले काठमाडौं फिर्ता भइसकेको छ ।
महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झन्डा फहराइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
यसैगरी सगरमाथा शिखरमा कृषि तथा वन विश्वविद्यालय रामपुरको झन्डा पनि फहराइएको छ । विश्वको सबैभन्दा उच्च स्थानसम्म कृषि तथा वन विश्वविद्यालय रामपुरका विद्यार्थी छन् भन्ने सन्देश प्रवाह गर्न सगरमाथा शिखरमा झन्डा लगिएको विश्वविद्यालयका उपकुलपति पुण्यप्रसाद रेग्मीले बताए । कृषिसँग सम्बन्धित सबै विषय हिमालसँग सम्बन्धित छन्, त्यसको पनि सन्देश प्रवाह गर्न झन्डा फहराइएको रेग्मीकाे भनाइ छ ।