१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
दुधेबालक लिएर अपी बेसक्याम्पमा यार्सा संकलनका लागि पुगेकी पार्वती धामी ।
२०८० जेठ ९ मंगलबार ०८:४७:००
Read Time : > 4 मिनेट
समाचार प्रिन्ट संस्करण

लेकमा पालभित्र वास, मृत्यु जितेर यार्साको कमाइ

Read Time : > 4 मिनेट
२०८० जेठ ९ मंगलबार ०८:४७:००

दार्चुलाको अपी–हिमाल गाउँपालिका– २ की पार्वती धामी तीन वर्षीय छोरासहित दुई महिनादेखि अपीको लोलुमा छिन् । यार्सा संकलनका लागि वैशाख दोस्रो साता लोेलु पुगेकी उनले बस्नका लागि पाल टाँगेकी छिन् । 

तीन हजार नौ सय मिटर उचाइमा रहेको पिलकन्दमा उनी सिरसिर हावासँगै रात त्यही पालमा बिताउँछिन् । ‘रहरले आएकी होइन । यार्सा नटिपेर वर्षभर छाक कसरी टार्नु ?’ उनी भन्छिन्, ‘डर त हुन्छ नि ! कहिले हिमपहिरो आउँछ, कोही लेक लागेर बितेको सुनिन्छ ।’ यार्सा संकलनका वेला सबैले पाल लगेर अस्थायी वास व्यवस्थापन गरेका हुन्छन् । 

छोरा एक वर्षको हुँदादेखि नै उनी यार्सा संकलनका लागि पाटन पुग्न थालेकी हुन् । ‘अब त चिसोमा बस्न सक्ने भइहाल्यो । हिउँमा खेलिरहेको हुन्छ । म यार्सा खोज्छु,’ उनले भनिन् । बालबालिका लिएर यार्सा संकलन गर्न पुगेकी धामी एक्ली होइनन् । अपी–हिमाल– १ का प्रेमसिंह जागरीको परिवार दुई महिनादेखि पाटनमा छ । जागरी र उनकी श्रीमतीको यार्सा संकलकलाई लक्षित गरी धौला ओडारमा खाजा–खानाको व्यवसाय छ । साथमा दुई महिनाका बालक छन् । बच्चालाई चिसोले च्याप्ने डर हुन्छ । 

उनकी जेठी छोरी २० वर्षीया पार्वती चिसो लागेर बिरामी भएपछि घर फर्किन् । ‘काम नगरी वर्षभरिको जोहो गर्न सकिँदैन, कमाइको सिजन नै यही हो,’ उनले भने, ‘गाउँको खेतको उब्जनीले कति पुग्छ र ? बेसार नगरी पुग्दैन । बेसार गर्न पैसा त चाहियो ।’ बाहिरबाट आउनेका लागि उनले खाने–बस्नेको व्यवस्था गरेका छन् । ‘धेरैले आफ्ना लागि जोहो गरेरै आउँछन्, ल्याउन नसक्नेका लागि व्यवस्था गरेको छु,’ उनले भने । 

झन्डै चार हजार मिटर उचाइमा पाइने यार्सा खोज्न कैयौँ अभिभावक नानीबाबु लिएर गएका हुन्छन् । कानुनले बालबालिकालाई यार्सा संकलनमा रोक लगाएको छ । यार्सा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका, २०७३ ले १६ वर्षमाथिका बालबालिकालाई मात्रै यार्सा संकलनका लागि इजाजत दिने व्यवस्था गरेको छ । तर, अभिभावकले बालबालिका आफूसँगै लिएर जाने गर्छन् । 

अपी–हिमाल क्षेत्रको लोलु, धौली ओडार, ठाडापानी, भवयदह, सातगंगा, रोखापु, काटै, क्षत्ति, धरमघरलगायत वनजंगलमा अहिले पाल, छाप्रा र ओडार बनाएर बसिरहेका छन् । झन्डै दुई महिना यार्सा संकलन गरे वर्षभरि पुग्ने भएपछि स्थानीय जंगलमै बस्छन् । पशुचौपायासमेत सँगै लिएर जान्छन् । 

यार्साको खोजीमा गाउँ नै रित्तो हुँदै

यार्सा खोज्न हिँडेपछि अप–हिमाल, मार्मा, नौगाड, व्याँस, दुहुँ गाउँपालिकाका कैयौँ गाउँ रित्तो भएका छन् । हिमपात ढिलोसम्म भएकाले यहाँका स्थानीय जेठ लाग्दा पनि यार्साको खोजीमा पाटन उक्लिरहेका छन् । ‘पूरै गाउँले जेठ महिनाभर यार्सा र जडीबुटी खोजीमा जान्छन्,’ अपी–हिमाल– १ का देवसिंह जागरीले भने, ‘यो महिना भ्याइनभ्याइ हुन्छ ।’ आवतजावत गर्नेलाई लक्षित गरेर उनले सिमसार क्षेत्रमा होटेल चलाएका छन् । 

०६० पछि मात्रै हो यहाँका स्थानीयले जडीबुटी संकलन गरेर तराई क्षेत्रमा घरघडेरी बनाउन थालेको । यार्सा खोजेरै यहाँका स्थानीयले छोराछोरी धनगढीदेखि काठमाडौंसम्म पढाउन पाएका छन् । अपी–हिमालका अधिकांशले भेडासहितका पशुचौपाया पनि सँगै लेक लगेका छन् । साबिकका घुसा गाविसका स्थानीयको भेडा चरिचरन क्षेत्र लोलु हो । खण्डेश्वरीका स्थानीय पशुचौपाया धरमरघ क्षत्ती लग्छन् भने नौगाड, दुहुँ, व्याँस, महाकालीका भेडापालक कृषक व्याँस गाउँपालिकाका विभिन्न वनजंगलमा लैजान्छन् । 

महँगो खाद्यान्न खान बाध्य
यार्सा संकलनमा जानेका लागि खर्चिलो भनेको खाद्यान्न हो । ४५ देखि ५० रुपैयाँमा पाइने मोटो चामल यार्सा पाइने क्षेत्रमा पुग्दा एक सय ५० रुपैयाँ नाघ्छ । अपी–हिमाल गाउँपालिकाको मकरीगाडसम्म मात्र गाडीको पहुँच छ । 

मकरीगाडदेखि घुसासम्म प्रतिकिलो १० रुपैयाँ ढुवानी पर्छ । त्यहाँबाट पनि खच्चडमार्फत ढुवानी हुने गरेको छ । ‘नुनकै प्रतिकिलो ७० रुपैयाँ पर्छ । अपी–हिमाल– १ का मीनबहादुर लोथ्यालले भने, ‘मान्छेबाट बोकाउँदा झनै महँगो हुन्छ ।’ अधिकांशले घोडा, खच्चड, भेडाबाख्रामार्फत दुई महिनालाई पुग्ने खाद्यान्न लेकमा ढुवानी गर्ने गर्छन् । ‘यसपटक मौसममा आएको परिवर्तनले यार्सा पाइने आसै छैन,’ उनले भने । तैपनि स्थानीयले खाद्यान्न भने ढुवानी गरिसकेका छन् । नौगाड– ४ का जयसिंह धामी यार्सा संकलनका लागि गाउँबाटै महँगो मूल्यमा खाद्यान्न बोकेर ल्याएको सुनाउँछन् । 

यार्सा संकलनका लागि विद्यालय बिदा !

अपी–हिमाल गाउँपालिकामा यार्सा संकलनका विद्यालय बिदा दिइएको छ । १६ वैशाखदेखि ६ जेठसम्मका लागि विद्यालय बिदा दिइएको हो । विद्यार्थी र शिक्षक नै यार्सा संकलनमा जाने भएपछि बिदा दिइएको हो । 

गाउँपालिकाका सबै विद्यालय बन्द रहेको सरस्वती आधारभूत विद्यालय मरखोलाका शिक्षक गोवद्र्धनसिंह धामीले जानकारी दिए । ‘विद्यालय चाँडो बन्द भए,’ उनले भने, ‘तर, यसपटक यार्सा सिजन ढिला भएको छ ।’ मौसममा आएको परिवर्तनका कारण यसपटक यार्सा संकलन भने हुन पाएको छैन । अहिलेलाई लामो बिदाबाट कटौती गर्ने गरी विद्यालय बिदा दिइएको हो । गाउँपालिकामा २४ विद्यालय छन् । विद्यालय बन्द हुँदा झन्डै दुई हजार विद्यार्थीको पढाइ प्रभावित बनेको छ । 

यार्सामा निर्भर रहेका यस क्षेत्रका अभिभावकले बालबालिकालाई आफूसँगै यार्सा संकलनका लागि लैजाने हुँदा विद्यालय बन्द गर्नुपरेको धामीले बताए । अभिभावककै सहमतिमा विद्यालय बन्द हुने गर्छन् । अभिभावकभन्दा पनि बालबालिकाले यार्सा बढी भेट्टाउने गर्छन् ।

एक महिना यार्सा संकलन गरेर विद्यार्थीले आफूलाई वर्षभरि पढ्न र घर खर्च चलाउने गरेका छन् । हिमाली क्षेत्रमा यार्सा सिजन सुरु हुनेबित्तिकै विद्यालयमा विद्यार्थीको उपस्थिति हुँदैन । यहाँका नागरिकको मुख्य रोजीरोटी भनेकै यार्सा हो । विद्यालय सञ्चालन गरे पनि विद्यार्थी नआउने भएकाले पछि बिदा मिलाउने गरेर बन्द गर्ने निर्णय गरिएको अपी–हिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक मदनराज जोशीले बताए ।

विगतमा अपी–नाम्पा संरक्षण क्षेत्रले यार्सा संकलनका लागि परिचयपत्र अनिवार्य गरेको थियो । पछिल्लो केही वर्ष अपी–नाम्पा संरक्षण क्षेत्रको व्यवस्थापन परिषद् नेतृत्वविहीन हुनु र राजस्व संकलनलगायत विषयमा स्थानीय तहसँग विवाद देखिएकाले परिचयपत्र तथा अनुमतिपत्रविनै यार्सा संकलन हुने गरेको छ । 

सहज छैन यार्सा संकलन

यार्सा संकलन गर्न निकै कठिन छ । उच्च भूभागसम्म पुग्नु मृत्युलाई जितेसरह हो । चार हजार मिटरभन्दा धेरै उचाइ भएका हिमाली पाटनमा मात्र पाइने यार्सा संकलन गर्नु अत्यन्तै जोखिमपूर्ण कार्य हो । बर्सेनि चिसो, हिमपहिरोमा परेर सर्वसाधारणको मृत्यु हुने गरेको छ ।

यार्सा पाइने हिमाली पाटनसम्म पुग्न अप्ठेरा र अनकन्टार भिरका बाटा पार गर्नुपर्छ । यार्सा प्रायः भिरालो पाखा, चट्टानछेउछाउमा बढी भेटिन्छ । यार्सा पाटन पुगिसकेपछि पनि भारी हिमपात, बर्सातबीच पनि दिनभर घुँडा धसेर खोज्नुपर्ने हुँदा अत्यधिक चिसोका कारण धेरैजना बिरामी पर्ने, कतिपयले ज्यान गुमाउनुपर्ने अवस्था छ । 

यार्सा सिजन सुरु भएलगत्तै दार्चुलामा यस वर्ष मात्र सातजनाले ज्यान गुमाइसकेका छन् । यार्सा खोज्न व्याँस– १ भोलिन पुगेका पाँचजना १९ वैशाखको हिमपहिरोमा पुरिए । ज्यान गुमाउनेमा दुहुँ गाउँपालिका– ४ का १८ वर्षीय प्रवीण कुँवर र उनकी आमा कमला, डोटीको जोयराल गाउँपालिका– २ का नवती डोमा थापा, क्षिमी सोमो थापा र ईश्वरी थापा छन् । अन्य १९ जना हिमपहिरोबाट जोगिएका थिए । 

व्याँस– १ कुन्तीमा ढुंगा लागेर ४ जेठमा मात्र छाङरुका ४२ वर्षीय वीरसिंह ऐतवालको ज्यान गयो भने सीतापुल प्रहरी चौकीको टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ । त्यसअघि २ जेठमा व्याँसकै स्याङ्पा पाटनमा चट्याङ लागेर दुहुँ गाउँपालिका–५ पासुका १४ वर्षीय पारस महराको ज्यान गएको छ । ३१ वैशाखमा चट्याङ लागेर दुँहु गाउँपालिका– २ का १८ वर्षीय महेश बडाल, वडा नम्बर १ पीपलचौरीका ३८ वर्षीय आनसिंह महरा र उनकी ३३ वर्षीया श्रीमती मानमती हरा घाइते भए । उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ ।