१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
प्रादेशिक अस्पताल सिराहामा जेनेरेटर जलेको ४० दिन भयो, तर अस्पतालले नयाँ व्यवस्था गरेको छैन, विद्युत् प्राधिकरणले पनि पटक–पटक विद्युत् काटिदिँदा बिरामी मारमा पर्दै आएका छन्, सोमबार अस्पताल पुगेका मिर्गौलाका बिरामी डायलाइसिस सेवा नपाएपछि सडक आन्दोलनमा
२०८० जेठ ९ मंगलबार ०६:०१:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मधेस प्रदेशकै उत्कृष्ट अस्पताल साढे तीन घन्टासम्म विद्युतविहीन

Read Time : > 2 मिनेट
२०८० जेठ ९ मंगलबार ०६:०१:००

नियमित डायलाइसिस गर्नुपर्ने बिरामीको बिचल्ली

जानकारीविना नै विद्युत् प्राधिकरणले लाइन काट्दा र अस्पताल प्रशासनले ४० दिनअघि जलेको जेनेरेटरको विकल्प तयार नगर्दा मधेस प्रादेशिक अस्पताल सिराहामा गम्भीर प्रकृतिका बिरामी बिचल्लीमा परेका छन् । अस्पतालजस्तो संवेदनशील ठाउँमा यो गम्भीर समस्या केही दिनयता दिनहुँजसो नै छ । 

सोमबार पनि बिहान ९ बजेदेखि अस्पतालमा विद्युत् आपूर्ति बन्द भयो । तर, २९ चैतमा आगलागी भएर नष्ट भएको जेनेरेटरको विकल्प पनि अस्पतालले व्यवस्था नगर्दा पालोअनुसार नियमित डायलाइसिसका लागि अस्पताल पुगेका नौ बिरामीले सेवा नै पाएनन् । ज्यानै जोखिममा परेपछि चर्को घामको पर्वाह नगरी बिरामी नै सडक आन्दोलनमा उत्रिएपछि १२ः३० बजे मात्रै विद्युत् प्राधिकरणले अस्पतालमा विद्युत् खोलिदियो । त्यसपछि मात्रै बिरामीले डायलाइसिस गर्न पाएका थिए । 

सिराहाको मिर्चैया नगरपालिका– ५ मटिर्यवाबाट प्रादेशिक अस्पताल आएका जोगिन्द्र साहले सातामा दुई दिन आफ्नो डायलाइसिसको पालो आउने गरे पनि पछिल्लो समय विद्युत् आपूर्तिको वहानमा पर्याप्त डायलाइसिस गर्न नपाएको गुनासो गरे । चार घन्टा नियमित रूपमा डायलाइसिस गर्नुपर्ने भए पनि विद्युत् आपूर्ति नियमित नहुँदा आधा–एक घन्टा मात्रै गर्दा श्वासप्रश्वासमा अप्ठ्यारो महसुस भएको उनले बताए । 

सिराहाकै औरही गाउँपालिका– ३ इटाटारका रामबालक यादवले डायलाइसिस गर्न नपाएपछि चर्को घाममा सडक आन्दोलनमा उत्रिन बाध्य भएको सुनाए । आन्दोलनकै क्रममा उनले भने, ‘मलाई असहज भइरहेको छ । नियमित डायलाइसिस नभए स्वास्थ्यमा समस्या आउँछ । विद्युत् प्राधिकरण र अस्पताल प्रशासनको लापरबाहीले हाम्रो ज्यान नै जोखिममा परेको छ ।’ प्रादेशिक अस्पताल सिराहामा ४६ बिरामीले नियमित डायलाइसिस गराउँदै आएका छन् । 

विद्युत् प्राधिकरण सिराहा वितरण केन्द्रका निमित्त प्रमुख इन्जिनियर उदय कर्णले सदरमुकाम क्षेत्रमा भत्काएको घरमा जोडर प्रयोग गर्ने क्रममा विद्युत् काटिएको बताए । पूरै बजार क्षेत्रको एउटै स्विच रहेको र त्यहाँ अफ गर्दा अस्पतालमा पनि लाइन गएको उनको भनाइ छ । ‘प्राधिकरणको गेटछेउमा स्विच छ, सबै कन्ट्रोल त्यहीँबाट हुन्छ,’ उनले भने, ‘भत्काएको घरमा डोजर चलाउँदा बिहान ९ बजे विद्युत् आपूर्ति बन्द गरेपछि अस्पतालमा पनि असर पर्‍यो । आन्दोलन गरेको खबर आएपछि अन्य ठाउँको ट्रान्सफर्मर लाइन कटौती गरी साढे १२ बजेतिर अस्पतालमा विद्युत् छोडियो ।’ 

तर, बिरामी तथा स्थानीयहरू अस्पतालमा विद्युत्को समस्या एक दिन मात्रै नभएर एक महिनाभन्दा बढी समयदेखि देखिएको बताउँछन् । स्थानीय अगुवा रामकिशोर यादवले विद्युत् आपूर्ति नियमित गरेर डायलाइसिस सेवा पूर्ण रूपमा प्रदान गर्नुपर्ने माग गरे । ‘अस्पतालजस्तो संवेदनशील ठाउँमा यस्तो लापरबाही हुनुहुँदैन । बिरामीको जिउज्यानको विषय जोडिएको छ,’ उनले भने, ‘नियमित विद्युत् र भैपरी आउँदा चाहिने जेनेरेटरको व्यवस्था तत्काल गरिनुपर्छ ।’ 

अस्पतालले भने भएको जेनेरेटर पूर्ण रूपमा जलेपछि नयाँ किन्न बजेट नभएको र प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ । अस्पतालका सूचना अधिकारी अशोककुमार सिंहले भने, ‘नयाँ जेनेरेटर जोड्न पैसा छैन, प्रदेश सरकारसँग माग गरिएको छ । पुरानो जेनेरेटर जलेलगत्तै सामाजिक विकास मन्त्रालयमा पत्राचार भएको हो । बजेट पठाउने आश्वासन आएको छ, तर अहिलेसम्म प्राप्त भएको छैन ।’ प्रादेशिक अस्पताल सिराहा मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले विभिन्न सूचकको आधारमा प्रदेशको एक नम्बरमा सूचीकृत गरेको अस्पताल हो । 

अस्पतालको अक्सिजन प्लान्ट पनि ठप्प
कोरोना संक्रमणको वेला अक्सिजन सेवालाई सहज बनाउन प्रादेशिक अस्पताल सिराहामा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो । तर, तीन महिनादेखि नियमित सर्भिसिङ नहुँदा प्लान्ट ठप्प भएको छ । ५.५ केभिएको दुईवटा कम्प्रेसरको सर्भिसिङ नहुँदा अक्सिजन प्लान्ट बन्द भएको अस्पतालका सूचना अधिकारी अशोककुमार सिंहले बताए । उक्त प्लान्टबाट दैनिक १५ सिलिन्डर भरिन्थ्यो । अक्सिजन प्लान्टको कम्प्रेसर सर्भिसिङ नहुँदा बाहिरबाट खाली सिलिन्डर भरेर ल्याउनुपर्ने बाध्यता रहेको सिंहले बताए । सर्भिसिङका लागि प्रत्येक तीन महिनामा तीन–चार लाख चाहिने उनको भनाइ छ । 

पिसिआर प्रयोगशालासमेत बन्द
यो अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोभिड– १९ परीक्षण गर्ने पिसिआर प्रयोगशाला पनि बन्द भएको छ । एक करोडभन्दा बढीको लगानीमा २८ मंसिर ०७७ मा प्रदेश सरकारले पिसिआर ल्याब स्थापना गरेको थियो । तर, गत असोजदेखि बन्द भएको छ । जनशक्ति र किट प्रदेश सरकारले उपलब्ध नगराएकाले पिसिआर ल्याब बन्द भएको सूचना अधिकारी सिंहले बताए । ल्याब सञ्चालनका लागि प्रदेश सरकारले ६ जनाको टिम परिचालन गरेको थियो । 

‘प्रदेशको उत्कृष्ट’ अस्पतालमै छैनन् विशेषज्ञ चिकित्सक
प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा गर्दा पनि यहाँ कतिपय विशेषज्ञ चिकित्सक छैनन् । वर्षौँदेखि साइकेट्रिक्स, रेडियोलोजिस्टको दरबन्दी भए पनि अझै पदपूर्ति हुन सकेको छैन । 

बालरोग विशेषज्ञ पनि करिब चार महिनादेखि छैनन् । मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले एक साताअघि मधेस प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशकको जिम्मेवारी पनि पाएका छन् ।

एकातिर करोडौँको उपकरण जडान भए पनि जनशक्तिका कारण ठप्प छन् भने अर्कोतिर यो अस्पताललाई प्रदेश सरकारले दुई सय शड्ढयामा विस्तार गर्ने जनाएको छ । २५ वैशाखमा मुख्यमन्त्री सरोज यादवले प्रादेशिक अस्पताल सिराहामा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा दुई सय शड्ढयाको अस्पतालमा रूपान्तरण गर्ने उद्घोष गरेका थिए ।

उपकरण थप्ने काम मात्र भइरहेको, तर दक्ष जनशक्ति र विशेषज्ञ चिकित्सक नहुँदा प्रादेशिक अस्पताल सिराहामा पटकपटक विवाद सिर्जना हुने गरेको स्थानीय अगुवा अरुण यादवले बताए । विशेषज्ञ चिकित्सकसँगै स्वास्थ्यकर्मी, उपकरण र आवश्यक पर्ने किटहरू उपलब्ध गराउन अस्पताल प्रशासन र प्रदेश सरकार चुकेको यादवको भनाइ छ ।