मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ८ सोमबार १८:४२:००
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

दाउरामा पकाएको परिकार पस्किने रेस्टुरेन्ट

भक्तपुरको पलाँसेमा ‘दाउरा चुलो’, फापरको ढिँडोसँग कालिज र लोकल कुखुरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ८ सोमबार १८:४२:००

भक्तपुरको पलाँसेमा सञ्चालित ‘दाउरा चुलो’का मौलिक परिकारले ग्राहक लोभ्याउन थालेको छ। रेस्टुरेन्टमा दाउराको चुलाेमा हातले पिँधेको मरमसला हालेर विभिन्न स्वादिला परिकार पाक्छन्। घरकै जस्तो स्वाद पस्किने उद्देश्यसहित काभ्रे मण्डनदेउपुरका विष्णुप्रसाद सापकोटाले डेढ वर्षअघि रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्।

दाउरा चुलोको मुख्य आकर्षण हुन्, कालिज, लोकल भाले र खसी–बोकाका परिकार। कालिज र लोकल कुखुराको फर्म सापकोटाको आफ्नै छ। लोकल खसी–बोका गाउँबाट खोजेर ल्याउँछन्। ग्राहककै अगाडि कालिज, कुखुरा, खसी काटेर पकाउने गरिन्छ।

सहरी कोलाहलबाट अलि टाढा रहेको दाउरा चुलोमा कालिज, लोकल कुखुरा र लोकल खसीका परिकारको स्वाद लिन ग्राहक आउने गरेको सापकोटा बताउँछन्। हातैले पिँधेर मरमसला हाली बनाइएका परिकार खाएका ग्राहक पटक–पटक फर्किएर आउने गरेको उनको भनाइ छ। ‘बिदाका दिन ग्राहकको बाक्लै भिड लाग्ने गर्छ, धेरैले कालिज र लोकल कुखुरासँग भात/ढिँडो खान रुचाउँछन्,’ उनले भने, ‘हामी पूर्णत: मौलिक स्वाद पस्किने गर्छौँ।’ 

काठमाडौंबाट करिब २० किलोमिटर र फन भ्याली पार्कबाट पाँच सय मिटर दूरीमा रहेको रेस्टुरेन्ट स्टिल स्ट्रक्चर र बाँसबाट तयार गरिएको छ। बाँसको पार्टेसन/सजावट लोभलाग्दो छ। दुई तलाको रेस्टुरेन्टमा एकैपटक सयजनाभन्दा बढीलाई सेवा दिन सकिने सापकोटा बताउँछन्। रेस्टुरेन्टमा खाना खाने सेप्रेट क्याबिनहरू पनि रहेका छन्। बच्चाबच्ची खेल्नका लागि छुट्टै ठाउँ छ। क्याम्प फायर गरेर रमाउनेहरूका लागि पनि सुविधा छ।

‘ग्राहकको आँखैअगाडि कालिज, भाले, हाँस, लोकल खसी काट्छौँ, ग्राहकले नै देख्ने गरी पकाउँछौँ,’ सापकोटाले भने। सहरमा उकुसमुकुस भएर बसेका मानिसहरू रेस्टुरेन्टका पाहुना हुन्। उनका अनुसार बिदामा बाहिर कतै गएर खाना खाउँ न त भन्नेहरू दाउरा चुलो पुग्ने गर्छन्। यस्तै, आशापुरी, डोलेश्वर हुँदै साँगा शिवमूर्ति दर्शनमा आउने धार्मिक ग्राहक पनि उत्तिकै हुने गर्छन्।

अरनिको र बिपी राजमार्ग हुँदै काठमाडौं आवातजावत गर्नेहरू पनि लोकल चुलो पसेर खान खाने गर्छन्। ‘सुकुटे, दोलालघाटलगायत ठाउँमा बिदा मनाउन जानेहरू पनि रेस्टुरेन्ट छिर्ने गर्छन्,’ उनले भने, ‘मान्छे बिहान दाउरा चुलोमा ब्रेकफास्ट खाएर सुकुटे जान्छन्, साँझ सुकुटेबाट फर्किंदा यहीँ खाना खाएर घर फर्किन्छन्।’ कालिज, लोकल कुखुरा, खसी, बोका, हाँसलगायतको मासुका विभिन्न परिकार पाक्ने हुँदा बाटो ओहोर–दोहोर गर्नेहरू खाजा खान पस्ने गर्छन्।

आफ्नै कालिज र कुखुरा फार्म
सापकोटाको कालिज र लोकल कुखुराको आफ्नै फार्म छ। आफ्नै फार्ममा पालेका कालिज र लोकल कुखुरा ग्राहकलाई खुवाउने गरेको उनको भनाइ छ। आफ्नै फार्म हुनाले पनि अन्य रेस्टुरेन्टको तुलनामा कालिजका परिकार सस्तोमै खुवाउँछन् उनी।

दाउरा चुलोमा कालिजको खाना सेटको मूल्य सात सय ५० रुपैयाँ रहेको छ। हालै फार्म किनेको उपलक्ष्यमा लोकल कुखुराकै मूल्य पाँच सय ८० मै कालिजको खाना सेट उपलब्ध गराइरहेको सापकोटाले बताए। लोकल कुखुरा र खसीको खाना सेटको मूल्य पाँच सय ८० रहेको छ।

रेस्टुरेन्टमा सहकारी, कर्पोरेट, विभिन्न संघसंस्थाका कार्यक्रम, पारिवारिक ग्यादेरिङ, बर्थ डे तथा एनिभर्सरी कार्यक्रम नियमित हुने गर्छन्। साना सभा तथा ग्यादेरिङका लागि हल बनाइएको छ। सापकोटाले रेस्टुरेन्टमा १५ र फार्ममा दुईजनालाई रोजगारी दिएका छन्। रेस्टुरेन्ट र फार्ममा हालसम्म दुई करोड १५ लाख रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ।