
महेन्द्र राजमार्गआसपासका सडकमा पछिल्लो १० दिनयता भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये यी प्रतिनिधि घटना मात्रै हुन् । प्रत्येक दिन राजमार्ग र आसपास हुने सवारी दुर्घटनामा कम्तीमा पाँचजनाको मृत्यु हुने तथ्यांक छ । प्रहरीको तथ्यांकअनुसार काठमाडौं उपत्यकाभन्दा तराई क्षेत्रमा सवारी दुर्घटना दर निकै कम छ । तर, दुर्घटनामा ज्यान गुमाउने दर उच्च छ । ३३ महिनामा उपत्यकामा ५० हजार पाँच सय दुईवटा सवारी दुर्घटना भए । जसमा चार सय ९९ को ज्यान गयो । सोही अवधिमा मधेस प्रदेशमा २० हजार दुई सय ६४ मात्रै सवारी दुर्घटना भए, तर दुर्घटनामा एक हजार पाँच सय ३४ ले ज्यान गुमाए ।
काठमाडौं उपत्यकाभित्र हुने सवारी दुर्घटनाभन्दा मधेस प्रदेशमा हुने सवारी दुर्घटना ५९.८७ प्रतिशतले कम छ । तर, मृत्यु हुने दर २०७.४१ प्रतिशतले धेरै छ । यस्तै, काठमाडौं उपत्यकामा भन्दा लुम्बिनी प्रदेशमा पनि सवारी दुर्घटना दर कम छ । तर, दुर्घटनामा परी ज्यान गुमाउने दर उपत्यकाको भन्दा धेरै छ । ३३ महिनामा लुम्बिनीमा चार हजार एक सय ७४ सवारी दुर्घटना भए । जसमा ज्यान गुमाउनेको संख्या एक हजार चार सय १२ पुग्यो । तथ्यांक विश्लेषण गर्दा उक्त प्रदेशमा हुने सवारी दुर्घटना काठमाडौं उपत्यकाभन्दा ९१.७३ प्रतिशतले कम छ । तर, दुर्घटनामा परी ज्यान गुमाउनेको दर १८२.९६ प्रतिशतले धेरै छ ।
लुम्बिनीमा ३३ महिनामा १४ हजार सवारी दुर्घटना
कोसी प्रदेशमा पनि सवारी दुर्घटना काठमाडौंमा भन्दा कम हुन्छ । तर, मृत्यु हुनेको दर त्यहाँ पनि अधिक छ । तथ्यांकअनुसार ३३ महिनामा कोसी प्रदेशमा १४ हजार एक सय ९८ सवारी दुर्घटना भए । जसमा एक हजार दुई सय ७८ ले ज्यान गुमाए । काठमाडौं उपत्यकासँग तुलनामा गर्दा सवारी दुर्घटना दर कोसीमा ७१.८८ प्रतिशतले कम छ । तर, मृत्यु हुनेको दर १५६.११ प्रतिशतले धेरै छ ।
३३ महिनामा उपत्यकामा ५० हजार पाँच सय दुई सवारी दुर्घटना भए । जसमा चार सय ९९ को ज्यान गयो । सोही अवधिमा मधेस प्रदेशमा २० हजार दुई सय ६४ सवारी दुर्घटना भए, तर दुर्घटनामा एक हजार पाँच सय ३४ ले ज्यान गुमाए ।
नेपाल प्रहरीको तत्कालीन केन्द्रीय सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले काठमाडौं उपत्यकाको तुलनामा तराईमा सवारी दुर्घटना कम, तर मृत्यु हुनेको संख्या धेरै हुने मुख्य कारण तीव्र गति रहेको बताए । तराईका जिल्लामा सडक फराकिलो भएकाले गति तीव्र हुने र दुर्घटना पनि धेरै हुने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘काठमाडौं उपत्यकामा भएको सवारी दुर्घटनाको तुलनामा तराईमा कम छ । तर, दुर्घटनमा परी मृत्यु हुनेको संख्या सोही ठाउँमा धेरै देखिन्छ । यसको मुख्य कारण तीव्र गति हो । तराईको अधिकांश सडक खुला छन् । महेन्द्र राजमार्ग पनि तराईकै जिल्लामा पर्छ । त्यसो हुँदा सवारीसाधन तीव्र गतिमा चलाउँछन् । दुर्घटना हुँदा यस्तोमा मर्ने सम्भावना अधिक हुन्छ । त्यसो हुँदा मर्नेको दर तराईमा धेरै देखिन्छ ।’
समयमै उपचार नपाउँदा धेरै घाइतेको मृत्यु
सरकारले ठूला राजमार्गमा सुविधासम्पन्न ट्रमा सेन्टर खोल्ने योजना प्रत्येक वर्षको बजेटमा समेट्छ । आकर्षक बजेट विनियोजन पनि हुन्छ । तर, कार्यान्वयन कुनै वर्ष हुँदैन । त्यसो हुँदा राजमार्ग र राजमार्गआसपासका सडकमा भएका दुर्घटनामा घाइतेहरूले समयमै उपचार पाउँदैनन् । मर्ने दर बढ्नुको कारण यो पनि हो । एसएसपी जिसी यो तथ्यलाई स्वीकार गर्छन् । उनी भन्छन्, ‘तराई मात्र नभई ठूला राजमार्गमा सुविधासम्पन्न ट्रमा सेन्टरको आवश्यक छ । तर, हामीकहाँ त्यस्ता अस्पताल छैनन् । राजमार्गमा दुर्घटना हुन्छ । घाइतेले समयमा नै उपचार पाउँदैन । र, उनीहरूको अकालमै मृत्यु हुन्छ ।’