मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कमलराज भट्ट काठमाडाैं
२०८० जेठ ८ सोमबार ०६:२८:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संसद्को पहिलो अधिवेशन : ३५ करोडभन्दा धेरै खर्च, नतिजा शून्य

चारमहिने अवधिमा संसद्ले एउटा पनि कानुन दिन सकेन, सभामुख, उपसभामुख र उपाध्यक्ष चयन, प्रधानमन्त्रीलाई दुईपटक विश्वासको मत, राष्ट्रपति/उपराष्ट्रपतिको चुनाव, नयाँ नियमावली र समिति गठन गरेर सकियो पहिलो अधिवेशन

Read Time : > 6 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०८० जेठ ८ सोमबार ०६:२८:००

४ मंसिरको निर्वाचनपछि २५ पुसदेखि १५ वैशाखसम्म करिब चार महिना चलेको संघीय संसद्को पहिलो अधिवेशन सञ्चालनमा ३५ करोडभन्दा धेरै खर्च भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाका पदाधिकारी तथा सदस्यको चैत मसान्तसम्मको सेवा–सुविधा र संसद् भवनको भाडामा यो रकम खर्च भएको हो । सचिवालयको नियमित खर्च तथा कर्मचारीको सेवा–सुविधाको खर्च यसमा जोडिएको छैन ।

संविधान कार्यान्वयन तथा राज्य सञ्चालनका लागि आवश्यक महत्वपूर्ण कानुन बनाउन सांसदहरूको सेवा–सुविधामा राज्यकोषबाट करोडौँ खर्च गरे पनि उपलब्धि भने शून्य रह्यो । पहिलो अधिवेशन एउटा पनि कानुन बनाउन नसकेर विधायिकी कार्यमा पूर्णतः असफल भयो । सभामुख, उपसभामुख र उपाध्यक्षको चयन, प्रधानमन्त्रीलाई दुईपटक विश्वासको मत, राष्ट्रपति÷उपराष्ट्रपतिको चुनाव, नयाँ नियमावली र समिति गठन गरेर मात्रै अधिवेशन सकियो । ४ मंसिरको निर्वाचनबाट प्रतिनिधिसभामा छानिएका सदस्यहरूले ७ पुसमा शपथ लिएका थिए । त्यही दिनदेखि उनीहरूले पारिश्रमिकलगायतका सुविधा पाउँछन् ।

संसद् सचिवालयका अनुसार पदाधिकारीको पारिश्रमिक, महँगी भत्ता, अन्य सुविधा र भत्ता, इन्धन, सवारीसाधन मर्मत, मसलन्द खर्चमा चैतसम्म ७२ लाख ८३ हजार आठ सय ९० रुपैयाँ खर्च भएको छ । त्यस्तै, पदाधिकारी र मन्त्रीबाहेकका सांसदहरूको पारिश्रमिकलगायत अन्य सुविधामा ३० करोड ११ लाख ४२ हजार एक सय ८० खर्च भएको छ । लेखा शाखाले चैतसम्मको खर्च विवरण संसद् दर्पणमा प्रकाशित गरेको छ । संघीय संसद्मा प्रतिनिधिसभाका दुई सय ७५ र राष्ट्रिय सभाका ५९ गरी तीन सय ३४ सदस्य छन् । पहिलो अधिवेशनका अन्तिम १५ दिन अर्थात् १ देखि १५ वैशाखको हिसाब भने आइसकेको छैन । 

संसद्को पदाधिकारीमा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलको नेता, सत्तापक्षको मुख्य सचेतक, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको प्रमुख सचेतक, दलको प्रमुख सचेतक, सत्तापक्षको सचेतक, विपक्षी दलको सचेतक र संसदीय समिति सभापति पर्छन् । सचिवालयको तथ्यांकअनुसार पहिलो अधिवेशनको चैतसम्म पदाधिकारीको पारिश्रमिकमा ३७ लाख १७ हजार दुई सय पाँच रुपैयाँ खर्च भएको छ । महँगी भत्ता शीर्षकमा एक लाख ३८ हजार आठ सय २७, अन्य सुविधामा ७० हजार तीन सय १०, अन्य भत्तामा १२ हजार, इन्धनमा तीन लाख ४७ हजार तीन सय ३४, सवारी मर्मतमा आठ लाख ९३ हजार ६ सय ४४, मसलन्द तथा कार्यालय सामग्रीमा २१ लाख चार हजार पाँच सय ६९ रुपैयाँ खर्च भएको छ । 

यसमा पदाधिकारीको भ्रमण र विविध खर्च भुक्तानी नभइसकेकाले समावेश गरिएको छैन । यो अधिवेशनमा सभामुख देवराज घिमिरे आइपियूको सम्मेलनमा बहराइन गएका थिए भने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रुस र कम्बोडिया भ्रमणमा गएका थिए । त्यस्तै, संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनले काठमाडौं उपत्यकामा घर नभएका सांसदको तलबलगायत मासिक सुविधा ९० हजार ७० र घर भएका सांसदको ८१ हजार ७० रुपैयाँ तोकेको छ । सचिवालयको तथ्यांकअनुसार सदस्यहरूको पारिश्रमिकमा १३ करोड ६० लाख २३ हजार सात सय ६० रुपैयाँ खर्च भएको छ । 

सांसदहरूको अन्य सुविधामा दुई करोड ९१ लाख ४६ हजार दुई सय ७८, अन्य भत्तामा १४ लाख ४५ हजार आठ सय ४३, पानी तथा बिजुलीमा आठ लाख, इन्धनमा २९ लाख ९६ हजार पाँच सय ९०, सवारी मर्मत खर्चमा २२ लाख ९७ हजार एक सय ८५ रुपैयाँ खर्च भएको छ । त्यस्तै, मसलन्द तथा कार्यालय सामग्रीमा दुई लाख ३२ हजार चार सय १५, कार्यक्रम खर्चमा ४८ लाख २९ हजार एक सय तीन, अनुगमन तथा मूल्यांकन खर्चमा ४६ लाख ११ हजार पाँच सय ३०, विविध खर्चमा ६१ लाख १७ हजार एक सय ६८, औषधि खरिद खर्चमा दुई लाख ७० हजार २३, घरभाडामा ११ करोड २३ लाख ७२ हजार दुई सय ८० रुपैयाँ भुक्तानी भएको संसद्को लेखा शाखाले जनाएको छ । 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भाडा वार्षिक १५ करोड
संसद् सचिवालयले संसद् भवन सञ्चालनका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक १५ करोड भाडा तिर्दै आएको छ । यो अधिवेशनको चार महिनाको भाडा करिब तीन करोड ७५ लाख हुन आउँछ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार लेखा शाखाबाट वैशाखको भुक्तानी भइनसकेकाले यो हिसाबमा अधिवेशन अन्त्य भएको १५ दिनको खर्च भने जोडिएको छैन । पुसदेखि चैतसम्म संसद् सचिवालयतर्फ कर्मचारीको तलबलगायत छुट्टै ११ करोडभन्दा बढी खर्च भएको छ । यो नियमित खर्च हो । 

यो अधिवेशनमा प्रतिनिधिसभाका २८ र राष्ट्रिय सभाका १९ बैठक बसेका थिए । संसद् सचिवालयका अनुसार एउटा बैठक सञ्चालनमा करिब १० लाख खर्च हुन्छ । तर, सांसदहरू कानुन निर्माणभन्दा पनि भाषणबाजीमै अल्झिएका छन् । जसका कारण संसद्ले कानुन निर्माणमा हस्तक्षेपकारी भूमिका खेल्न सकेको छैन । संसद् सरकार बनाउने र सरकारको अनुकूलमा चल्ने थलोका रूपमा विकसित हुँदै गएको छ । यसैकारण रास्वपा सांसद सुमना श्रेष्ठले सदनलाई कार्यसूची बनाएर सञ्चालन गर्नुपर्ने आवाज उठाउँदै आएकी छिन् । तर, प्रतिनिधिसभाको नयाँ नियमावलीको मस्यौदामा परिसकेको सदनको कार्यसूची बनाउने विषय अन्तिम समयमा हटाइएको थियो । 

सभामुख देवराज घिमिरे भने संसद् प्रभावकारी नहुनुमा दलहरूको अकर्मण्यतालाई दोष दिन्छन् । ‘संसद् प्रभावकारी हुन नसकेको यथार्थ हो । तर, यो कमजोरी कसको हो ? को हुँदा प्रभावकारी हुन्थ्यो ? के कारणले प्रभावकारी हुन सकेन ? प्रधानमन्त्रीले आउने, जवाफ दिने, यो व्यक्तिविशेषको कुरा हो कि प्रणालीको हो ? त्यो प्रणालीलाई प्रभावकारी बनाउन नसक्नुमा सभामुखको भूमिका अभावले हो कि अरू अभावले ? यो कुराहरू निष्पक्ष ढंगले हेरिनुपर्छ,’ उनले भने ।

 के–के सुविधा पाउँछन् पदाधिकारीले ?
सभामुख र अध्यक्षले प्रतिमहिना तलब ६७ हजार तीन सय २०, विशेष भत्ता एक हजार, सञ्चार सुविधा तीन हजार, निजी सचिवालय बन्दोबस्त दुई हजार, गार्डघर दुई हजार, अतिथि सत्कार दुई हजार पाँच सय, बिजुली–धारा दुई हजार र सवारी इन्धन दुई सय ५० लिटर पाउँछन् । यसका अलावा प्रतिबैठक एक हजार भत्ता, दैनिक भ्रमण भत्ता तीन हजार, फर्निचर खर्च (एकमुस्ट) १५ हजार तथा प्रत्येक तीन महिनामा १० लिटर मोबिल पाउने ऐनमा व्यवस्था छ । 

उनीहरूले सचिवालयका लागि स्वकीय सचिव (प्रथम श्रेणी) एक, द्वितीय श्रेणी एक, तृतीय श्रेणी एक, कम्प्युटर अप्रेटर एकजना पाउँछन् । त्यस्तै, सवारीचालक दुई, कार्यालय सहयोगी दुईजना, प्रिन्टरसहितको कम्प्युटर एक थान, साइकल दुई थान, अंगरक्षक पदिक एकजना, बिल्लादार गार्ड एक, सैनिक जवान १० जना पाउँछन् ।

उपसभामुख र उपाध्यक्षले प्रतिमहिना तलब ७२ हजार सात सय ३०, विशेष भत्ता एक हजार, सञ्चार सुविधा तीन हजार, घरभाडा २५ हजार ६ सय आठ, निजी सचिवालय बन्दोबस्त एक हजार सात सय ५०, गार्डघर एक हजार सात सय ५०, अतिथि सत्कार दुई हजार, बिजुली–धारा दुई हजार र सवारी इन्धन दुई सय ३० लिटर पाउँछन् । त्यस्तै, प्रतिबैठक एक हजार भत्ता, दैनिक भ्रमण भत्ता दुई हजार पाँच सय, फर्निचर खर्च (एकमुस्ट) १५ हजार तथा प्रत्येक तीन महिनामा पाँच लिटर मोबिल पाउने ऐनमा व्यवस्था छ । सचिवालयतर्फ स्वकीय सचिव राजपत्रांकित द्वितीय एकजना, कम्प्युटर अप्रेटर एकजना, प्रिन्टरसहितको कम्प्युटर एक थान, कार्यालय सहयोगी दुईजना, सवारीचालक दुईजना र दुई थान साइकल पाउँछन् । अंगरक्षक पदिक एक, बिल्लादार गार्ड एक र सैनिक जवान १० जना पाउँछन् । 

विपक्षी दलको नेताले प्रतिमहिना तलब ७२ हजार सात सय ३०, विशेष भत्ता एक हजार, सञ्चार सुविधा तीन हजार, घरभाडा २५ हजार ६ सय आठ, निजी सचिवालय बन्दोबस्त एक हजार सात सय ५०, गार्डघर एक हजार सात सय ५०, अतिथि सत्कार दुई हजार, बिजुली–धारा दुई हजार र सवारी इन्धन दुई सय ३० लिटर पाउँछन् । यसका साथै प्रतिबैठक एक हजार भत्ता, दैनिक भ्रमण भत्ता दुई हजार पाँच सय सय, फर्निचर खर्च (एकमुस्ट) १५ हजार तथा प्रत्येक तीन महिनामा पाँच लिटर मोबिल पाउने ऐनमा व्यवस्था छ । सचिवालयतर्फ स्वकीय सचिव राप द्वितीय एकजना, कम्प्युटर अप्रेटर एकजना, प्रिन्टरसहितको कम्प्युटर एक थान, कार्यालय सहयोगी दुईजना, सवारीचालक दुईजना र दुई थान साइकल पाउँछन् । त्यस्तै, अंगरक्षक पदिक एक, बिल्लादार गार्ड एक र सैनिक जवान १० जना पाउँछन् । 

मुख्य सचेतकले प्रतिमहिना तलब ७२ हजार सात सय ३०, विशेष भत्ता एक हजार, सञ्चार तीन हजार, घरभाडा २५ हजार ६ सय आठ, निजी सचिवालय बन्दोबस्त एक हजार सात सय ५०, अतिथि सत्कार दुई हजार, बिजुली–धारा दुई हजार र सवारी इन्धन दुई सय ३० लिटर पाउँछन् । साथै, प्रतिबैठक एक हजार भत्ता, दैनिक भ्रमण भत्ता दुई हजार पाँच सय, फर्निचर खर्च (एकमुस्ट) १५ हजार तथा प्रत्येक तीन महिनामा पाँच लिटर मोबिल पाउने कानुनी व्यवस्था छ । सचिवालयतर्फ स्वकीय सचिव राजपत्रांकित द्वितीय एकजना, कम्प्युटर अप्रेटर एकजना, सवारीचालक दुईजना, कार्यालय सहयोगी एकजना, प्रिन्टरसहितको कम्प्युटर एक थान र एउटा साइकल एक पाउँछन् । 

विपक्षी दलका प्रमुख सचेतकले प्रतिमहिना तलब ६९ हजार ३०, विशेष भत्ता एक हजार, सञ्चार तीन हजार, घरभाडा २५ हजार ६ सय आठ, निजी सचिवालय बन्दोबस्त एक हजार सात सय ५०, गार्डघर एक हजार सात सय ५०, अतिथि सत्कार १७ सय, बिजुली–धारा दुई हजार, सवारी इन्धन दुई सय लिटर पाउँछन् । यसका अतिरिक्त प्रतिबैठक एक हजार भत्ता, दैनिक भ्रमण भत्ता दुई हजार पाँच सय, फर्निचर खर्च (एकमुस्ट) १५ हजार तथा प्रत्येक तीन महिनामा पाँच लिटर मोबिल पाउने ऐनमा व्यवस्था छ । सचिवालयतर्फ स्वकीय सचिव राप द्वितीय एकजना, कम्प्युटर अप्रेटर एकजना, सवारीचालक दुईजना, कार्यालय सहयोगी एकजना, प्रिन्टरसहितको कम्प्युटर एक थान, साइकल एक, अंगरक्षक प्रहरी सहायक निरीक्षक एकजना, हेड प्रहरी कन्सटेबल एकजना र प्रहरी जवान चारजना पाउँछन् । 

विषयगत समिति सभापतिले तलब ६९ हजार ३०, विशेष भत्ता एक हजार, सञ्चार तीन हजार, घरभाडा २५ हजार ६ सय आठ, निजी सचिवालय बन्दोबस्त एक हजार सात सय ५०, गार्डघर एक हजार सात सय ५०, अतिथि सत्कार एक हजार सात सय, बिजुली–धारा दुई हजार र सवारी इन्धन दुई सय लिटर पाउँछन् । थप सुविधामा प्रतिबैठक एक हजार भत्ता, दैनिक भ्रमण भत्ता दुई हजार पाँच सय, फर्निचर खर्च (एकमुस्ट) १५ हजार तथा प्रत्येक तीन महिनामा पाँच लिटर मोबिल पाउने व्यवस्था छ । सचिवालयतर्फ स्वकीय सचिव राप द्वितीय एकजना, कम्प्युटर अप्रेटर एकजना, सवारीचालक दुईजना, कार्यालय सहयोगी एकजना, प्रिन्टरसहितको कम्प्युटर एक थान, साइकल एकथान, अंगरक्षक प्रहरी सहायक निरीक्षक एकजना, हेड प्रहरी कन्सटेबल एकजना र प्रहरी जवान चारजना पाउँछन् । 

सत्ता र विपक्षी सचेतकले प्रतिमहिना तलब ६९ हजार ३०, विशेष भत्ता एक हजार, सञ्चार तीन हजार, घरभाडा २४ हजार दुई सय ६८, निजी सचिवालय बन्दोबस्त एक हजार दुई सय, अतिथि सत्कार एक हजार पाँच सय, बिजुली धारा दुई हजार, सवारी इन्धन एक सय ५० लिटर प्राप्त गर्छन् । सुविधा शाखाका अनुसार प्रतिबैठक एक हजार भत्ता, दैनिक भ्रमण भत्ता २५ सय, फर्निचर खर्च (एकमुस्ट) १५ हजार तथा प्रत्येक तीन महिनामा पाँच लिटर मोबिल पनि पाउँछन् । सचिवालयतर्फ स्वकीय सचिव राप द्वितीय एकजना, सवारीचालक दुईजना, कार्यालय सहयोगी एकजना, साइकल एक पाउँछन् । 

सांसदहरूले प्रतिमहिना तलब ६६ हजार ७०, विशेष भत्ता एक हजार, सञ्चार तीन हजार, घरभाडा १८ हजार, अतिथि सत्कार एक हजार, बिजुली–धारा दुई हजार पाउँछन् । यसबाहेक प्रतिबैठक एक हजार भत्ता, बैठक बसेको दिन यातायात एक हजार, दैनिक भ्रमण भत्ता दुई हजार पाँच सय, फर्निचर खर्च (एकमुस्ट) १५ हजार पाउँछन् । सचिवालयतर्फ स्वकीय सचिव राप तृतीय एकजना सुविधा पाउने संसद् सचिवालयले जनाएको छ ।