मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
२०८० जेठ ७ आइतबार १६:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘पपुलिस्ट’ राजनीतिले युक्रेनजस्तो अवस्था आउँछ : महासचिव पोखरेल 

Read Time : < 1 मिनेट
२०८० जेठ ७ आइतबार १६:०६:००

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिस्ट राजनीतिले युक्रेनजस्तो अवस्था आउन सक्ने बताएका छन्। प्रेस चौतारी दाङले आइतबार घोराहीमा गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले यस्तो बताएका हुन्।

‘पपुलिस्टको राजनीति गर्नेले एकाध चुनाव जित्न सक्लान्। तर, समाजको आवश्यकता पूरा गर्न सक्दैनन्। हामीले देख्न सक्दछौँ– भारतमै सिनेमा जगतका महानायक अमिताभ बच्चनले दुईपटक मुख्यमन्त्री भइसकेका कमलापति त्रिपाठीलाई चुनाव हराए,’ उनले भने, ‘आज अमिताभले बुझे– राजनीति मेरो विषय होइन रहेछ। कहिलेकाहीँ यस्ता प्रवृत्ति राजनीतिमा देखा पर्छन्। तर, त्यो सफलताको यात्रा हो त ? त्यसले समाजले चाहेको परिवर्तनको आकांक्षा पूरा गर्न सक्छ त ?’

एउटा कलाकारलाई राष्ट्रपति बनाउँदा युक्रेन तहसनहस अवस्थामा आएको भन्दै उनले यस्ता प्रवृत्तिबाट जनता पनि सचेत हुनुपर्नेमा जोड दिए। राजनीतिक दलहरू कहिल्यै पुराना नहुने दाबी गर्दै उनले भने, ‘पाँच वर्षमा महाधिवेशन गर्ने, नीति अद्यावधिक गर्ने, नयाँ नेतृत्व चयन गर्ने राजनीतिक दलहरू कहिल्यै पुराना हुँदैनन्। त्यो नबुझ्दा कतिपयले एमाले, कांग्रेस पुराना पार्टी भन्छन्। तर, नीति नभएको, उद्देश्य, लक्ष्य नै कायम नगरेको पार्टी नै नयाँ पार्टी भन्छन्, त्यसो होइन।’

समाजमा लोकप्रियता हासिल गरेपछि राजनीतिमा आएर आफूलाई स्थापित गर्न खोज्ने पपुलिस्ट राजनीति भित्रिएको भन्दै महासचिव पोखरेलले त्यसले समाज रूपान्तरणमा बाधा पुग्ने इतिहास साक्षी रहेको बताए।