Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० जेठ ६ शनिबार ०९:५७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिम सरकारका सय दिन : सरकार अपूर्ण, संसद् कामविहीन

Read Time : > 3 मिनेट
२०८० जेठ ६ शनिबार ०९:५७:००

सुदूरपश्चिम सरकार गठन भएको सय दिन पुगेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सरकारका उपलब्धी सार्वजनिक गरेका छन् । उनले सय दिनमा सडक, पुलपुलेसा, खानेपानी, सिँचाइ लगाएतका आयोजना निर्माण गरेको आफ्नो उपलब्धीमा समावेश गरेका छन् । नियमित हुने कामकाजहरुलाई सरकारको उपलब्धीका रुपमा समावेश गरिएकाे छ ।

मुख्यमन्त्री शाहले सय दिने अवधि उपलब्धीपूर्ण रहेको दावी गरेका छन् । तर, सय दिनसम्म पनि सरकार अस्तव्यस्त छ । कामविहीन हुँदा प्रदेश सभा चल्न सकेको छैन । आमनागरिकले महसुस गर्ने गरी कुनै काम र निर्णय भएको देखिदैन । मुख्यमन्त्री र मन्त्रीको समय औपचारिक कार्यक्रम, सभा, समारोहमा बितेको देखिन्छ । 

मुख्यमन्त्रीसहित सातवटा मन्त्रालय रहेको प्रदेशमा चार मन्त्रालय चार महिनादेखि मन्त्रीविहीन छन् । दलहरुबीच भागवण्डा नमिल्दा सय दिनसम्म सरकार विस्तार भएको छैन । विभागीय मन्त्री नहुँदा मन्त्रालयका कतिपय महत्वपूर्ण कामहरु प्रभावित बनेका छन् । नयाँ बजेटको तयारी प्रभावित बनेको छ ।

‘विजनेश’ दिन नसक्दा प्रदेश सभा ठप्प

सरकारले ‘विजनेश’ दिन नसक्दा प्रदेश सभा ठप्प छ । विजनेश अभावले साढे दुई महिनादेखि प्रदेश सभा बैठक बसेको छैन । बजेट अधिवेशन सुरु गर्नुपर्ने बेला सदनको पहिलो अधिवेशन नै अन्त्य गरिएको छैन । चालु अधिवेशनमा सभामुख र उपसभामुख चयन गर्ने तथा मुख्यमन्त्रीले विश्वासको मत लिने काम भएको छ । यसबाहेक प्रदेश सभामा कुनै पनि विधेयकमाथि छलफल भएको छैन । प्रदेश सभाका विषयगत समिति गठनको प्रकृयासमेत अगाडि बढेको छैन ।   

मुख्यमन्त्री शाहले भने सय दिनमा २२ किलोमिटर पक्की सडक र ७५ किलोमिटर ग्राभेल सडक निर्माण गरेको दावी गरेका छन् । मुख्यमन्त्रीले सार्वजनिक गरेको सय दिनका उपलब्धी विवरणमा तीन वटा सडक पुल र एक झोलुङ्गे पुल निर्माण भएको ३६ वटा खानेपानी आयोजनाबाट चार हजार ५३८ जना लाभान्वित भएको र एक हजार २२६ हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको दावी गरिएको छ । 

त्यस्तै एक सय ५० लाख किलो खोटो संकलन र पाँच लाख किलो जडिबुटी संकलनलाई पनि सरकारले आफ्नो उपलब्धीमा राखेको छ । १८ किलोमिटर नहर निर्माण भएको, करिब १६ किलोमिटर तटबन्ध निर्माण भएको, सात वटा सार्वजनिक भवन निर्माण गरेको दावी गरिएको छ । 

मुख्यमन्त्री शाहले वार्षिक बजेट तर्जुमामा स्थानीय तहसँगको उच्चतम समन्वय र सहकार्यको संस्कृति सरकारले प्रारम्भ गरेको बताए । योजना तर्जुमा दिग्दर्शनमा संशोधन गरी योजना छनोट प्रकृयालाई मागमा आधारित, यथार्थपरक र सहभागितामुलक बनाउने अभ्यास सुरुवात गरिएको उनले दावी गरे ।

१९ वर्षमुनिको विश्वकप क्रिकेटमा छनोट भएका नेपाली टोलीमा रहेका सुदूरपश्चिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिनु, प्रदेशको धार्मिक, सांस्कृतिक र आध्यात्मिक पक्षको उजागर गर्न मानस खण्ड सम्मेलन गर्नु तथा शिक्षा र स्वास्थ्यमा सुधारका लागि समिति गठन गर्नुलाई सरकारले आफ्नो उपलब्धीमा राखेको छ । मुख्यमन्त्री शाहले पहिलो चौमासिकमा १४ प्रतिशत रहेको बजेट खर्चलाई दोस्रो चौमासिकमा ३३ प्रतिशतमा पुर्‍याइएको बताए । आर्थिक अनुशासन कायम गरी खर्च प्रणालीमा सुधार गरिएको उनले दावी गरे ।

सरकारका सय दिन घुमफिरमै बितेकाे प्रतिपक्षीको आराेप

मुख्यमन्त्रीका सय दिन घुमफिरमै बितेको प्रतिपक्षी दलले आराेप लगाएकाे छ । निवर्तमान मुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री र मन्त्रीहरुले घुमफिरमै सय दिन बिताएको बताए । नियमित हुने कामलाई सरकारले आफ्नो उपलब्धीका रुपमा ब्याख्या गरेको भन्दै उनले सरकारका सय दिनले नागरिकमा उत्साह दिन नसकेको बताए । 

‘सरकारले पूर्णता पाएको छैन । मुख्यमन्त्री र मन्त्रीलाई घुमघाममै ठीक्क छ । प्रदेश सभालाई सरकारले विजनेश दिन सकेको छैन’ रावलले भने, ‘सरकार असफल देखिएको छ ।’ यो अवधिमा एउटा पनि जनपक्षीय काम हुन नसकेको उनले दावी गरे ।

मन्त्रिमण्डल विस्तार हुन नसक्दा सरकारका कामकारबाहीमा असर

पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट मन्त्रिमण्डल विस्तार हुन नसक्दाको असर सरकारका कामकारबाहीमा परेको बताउँछन् । ‘सरकार पूर्ण नहुँदा सबैतिर असर परेको देखिन्छ । चार मन्त्रालय रिक्त हुँदा सरकारका काम प्रभावित भएकाे देखिएको छ’ भट्टले भने, ‘निरन्तरतामा हुने कामहरु भएका छन् तर नागरिकले धेरैठूलो परिवर्तन भएको महसुस गरेका छैनन् ।’ सरकारका उपलब्धीलाई आफूले राम्ररी अध्ययन गर्न नपाएको तर पहिलो र दोस्रो चौमासिकमा निरन्तरतामा भएका कामहरु उपलब्धीका रुपमा आएका उनले बताए ।

सरकार विस्तार हुन नसक्नु लज्जाको विषय

माओवादी संसदीय दलका नेता खगराज भट्टले सरकारका सय दिन सफल रहेको दावी गरे । ‘सरकार सफल भएको छ । केही महत्वपूर्ण काम गर्ने संकल्प मुख्यमन्त्रीले गर्नु भएको छ’ उनले भने । सरकार विस्तार हुन नसक्नु आफूहरुका लागि लज्जाको विषय भएको स्वीकार्दै उनले अब सरकार विस्तारसँगै तीव्र गतिमा कामहरु अगाडि बढ्ने दावी गरे ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सदनबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश सभाको ठूलो दलको नेताको हैसियतले गत २६ माघमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सरकारमा काँग्रेसबाट मुख्यमन्त्रीसहित प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास मन्त्री र एकीकृत समाजवादीबाट नरेशबहादुर शाही आर्थिक मामिला मन्त्री छन् । गठबन्धनमा आवद्ध माओवादीसहित नागरिक उन्मुक्ति सरकार बाहिर छन् । 

सर्वसाधारण भने सरकारले नागरिकमा आशा जगाउन नसकेको बताउँछन् । सरकारका सुरुवाती कामले नागरिकमा आशा जगाउन नसकेको धनगढीका स्थानीय लक्ष्मण जोशीले बताए । ‘नागरिकमा प्रदेश सरकारप्रति आशा जगाउने र परिवर्तन भएको महसुस गर्ने गरी न कुनै निर्णय भएको छ, न त कुनै काम’ उनले भने, ‘नेताहरु सरकारको जोडघटाउमै व्यस्त भए ।’