मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० जेठ ५ शुक्रबार १५:०३:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

चेपाङ बालबालिका कुपोषणको सिकार, बेनीघाट–रोराङमा मात्रै ३७५ जना कुपोषित

Read Time : > 2 मिनेट
२०८० जेठ ५ शुक्रबार १५:०३:००

स–साना हातखुट्टा, उस्तै लिखुरे ज्यानका बालबालिका । एउटै कोठामा सासू–ससुरा र पाँच छोराछोरीसहित नौजनाको परिवार । एउटा कुनामा चुलो, अर्को कुनामा शिशु सुताउन सलले बनाएको झोलुंगो । छेउमै बिरामीले थलिएकी आमा । घरमा न खाने अन्नपात छ, न बिरामीको उपचार गर्ने पैसा । समस्याको भुमरीमा परेकी कल्पना चेपाङ भन्छिन्, ‘सुत्केरी हुँदासमेत खान पाइनँ । बच्चालाई पनि कुपोषण भयो । अहिले मलाई कुपोषित दुई छोराछोरीसहित सासूआमाको उपचार गर्न आफैँ मर्नुबराबर बनेको छ ।’

धादिङको बेनीघाट–रोराङ गाउँपालिका– ८ जिरवाङकी २८ वर्षीया कल्पनाले १६ वर्षमा विवाह गरी १२ वर्षको अन्तरालमा ६ सन्तानलाई जन्म दिइन् । ‘जेठो छोरा २ वर्षको हुँदा गुमाएँ । अहिले तीन छोरा र दुई छोरी साथमा छन्,’ उनले भनिन् । आठ महिनाका छोराछोरी युनिस र युनिसा कुपोषित छन् । उनीहरूको तौल चार–चार केजी मात्रै छ । ‘सुत्केरी हुँदा घरमा खानेकुरा थिएन । ६ महिना सहकाल, ६ महिना अनिकाल हाम्रो नियति बनेको छ । कमजोरीकै कारण सुत्केरी हुँदा म बिरामी भएर ढलेँ । केही दिनको अस्पताल बसाइपछि महिना दिन एउटै ओछ्यानमा बस्नुपर्दा दूध आएन । घरमा पनि खुवाउने कुरा नहुँदा छोराछोरी नै कुपोषित बने,’ उनले दुःखेसो पोखिन्।

कल्पनालाई कुपोषित बालबालिकाको उपचार सम्भव छ भन्ने थाहा छ । तर, उनलाई यो पनि थाहा छ– सित्तैमा हुँदैन। चुलोमा आगो बाल्नै मुस्किल पर्ने चेपाङ समुदायका लागि अस्पताल पुगेर उपचार गर्नु परको कुरा हो । कसैले सहयोग गरिदिए आफ्ना छोराछोरीको ज्यान बच्ने उनलाई आस छ । ‘हामी भोक र रोगसँग लडिरहेका छौँ,’ गहभरिको आँसु पुछ्दै कल्पनाले सुनाइन् । उनकी सासूआमा ६४ वर्षीया सानुमाया प्यारालाइसिसका कारण तीन वर्षदेखि एउटै ओछ्यानमा थलिएकी छिन् । ‘अहिले मलाई ढुंगा खाउँ कि माटो खाउँ भएको छ । कुपोषित छोराछोरी बचाउँ कि बिरामी सासू ? पिरैपिरको भारीले आफैँ थलिन बाँकी छ,’ उनले भनिन् ।

परिवार नियोजनको अस्थायी साधन संगिनी सुई लगाउने गरेको कल्पना बताउँछिन् । उनी भन्छिन्, ‘लगाउँदै आएको सुई एकपटक छुटेछ । त्यही वेला जुम्ल्याहा छोराछोरी जन्मिए । उनीहरू नै कुपोषित छन् ।’ पृथ्वी राजमार्गबाट गाडीमै तीन–चार घन्टा यात्रा गर्नुपर्ने यो ठाउँमा उनलाई सहयोग गर्न कोही आउँछ भन्ने लाग्दैन । तैपनि सहयोग पाए कुपोषित छोराछोरी बचाउन सकिने झिनो आशा भने जीवितै छ ।

प्यारालाइसिस भएर ढलेकी आमाको उपचारमा ६० हजार खर्चिएको कल्पनाका श्रीमान् ३७ वर्षीय जीवन चेपाङ बताउँछन् । ‘एक प्याकेट नुन किन्ने पैसा नभएका हामीलाई ६० हजार निकै ठूलो पैसा हो । ज्याला–मजदुरी गरेर आमाको उपचार गर्ने केही पैसा जुटाएँ । केही दिदी–बहिनीले दिनुभयो । तैपनि आमा ठीक हुनुभएन । अहिले त झनै छोराछोरीमा पनि कुपोषण भयो,’ लामो सास फेर्दै उनले भने, ‘वृद्ध बुबा पनि काममा जानुहुन्छ । सधैँ काम पाइन्न । कहिलेकाहीँ पाइने ज्याला–मजदुरीबाट मुस्किलले परिवार चलेको छ ।’

बेनीघाट–रोराङ गाउँपलिकामा ३८ प्रतिशत चेपाङ जातिको बसोवास छ । अधिकांश चेपाङ परिवारको अवस्था उस्तै छ । बेनीघाटकै वडा नम्बर १० जवाङकी ईश्वरी चेपाङका २१ महिनाका छोरा कुशल पनि कुपोषित छन् । आफ्नो खेतबारीबाट उब्जनी भएको अन्नपातले नपुग्ने उनको परिवार पनि ज्याला–मजदुरीले नै चलेको छ । तर, पोषणयुक्त खानेकुरा अभावले कुपोषित छोराको उपचार गर्ने पैसा नहुँदा समस्या भएको ईश्वरीको गुनासो छ ।

बेनीघाट–रोराङ– २ सिमथलीका लीला चेपाङको १७ महिनाको छोराको पनि अवस्था फरक छैन । उमेरअनुसार हुनुपर्ने तौलभन्दा निकै कम छ उनको तौल । शान्ति नेपाल नामक संस्थाको सहयोगमा एकपटक उपचार गरेर स्वस्थ भएका उनी पुनः कुपोषित बनेका हुन् । पोषणयुक्त खानेकुरा, सरसफाइ र स्वास्थ्यमा होसियारी अपनाउन नसक्दा कुपोषण फेरि दोहोरिएको शान्ति नेपालका उद्धव चेपाङले बताए ।

कुपोषण न्यूनीकरण गर्न कुपोषण सुधार केन्द्र
बेनीघाट–रोराङ गाउँपालिकामा पाँच वर्षमुनिका दुई हजार आठ सय बालबालिका छन् । तीमध्ये करिब ५० जना अति कुपोषित, ७५ जना मध्यम कुपोषित र दुई सय ५० जना सामान्य कुपोषित रहेका गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाब दुवाडीले बताए ।

‘पालिकाकै समन्वयमा अहिले बालबालिकाले लिटो पिठो खाइरहेका छन्,’ उनले भने, ‘स्वास्थ्यकर्मीले प्रत्येक महिना बालबालिकाको स्वास्थ्य जाँच, जनचेतना तथा रेखदेख गरिरहेका छन् । तर, कुपोषण पनि सिजनल भइदियो । वर्षमा दुईपटकसम्म कुपोषणको जोखिम हुने हुँदा समस्या थपिएको छ ।’ 

दुवाडीका अनुसार पोषण सुधार केन्द्र सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्र सञ्चालनमा आएपछि एकपटकमा १० देखि २० कुपोषित बालबालिका र बुबाआमामध्ये एकजना राखेर ६० दिन पोषणयुक्त खाना खुवाउने र दक्ष चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने उनले बताए।  आमाबाबुलाई आयआर्जन वृद्धिमा सहयोग पुग्ने सीपमूलक तालिममा सहभागी गराई कुपोषण अन्त्य गर्ने गाउँपालिकाको लक्ष्य रहेको उनले जानकारी दिए । ‘विगत १० वर्षलाई हेर्ने हो भने निकै सुधार आएको छ । कुपोषित संख्या शून्य बनाउने अभियानमा गाउँपालिका छ,’ दुवाडीले भने ।