
जिल्ला अदालत सप्तरीले झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाउने कार्यमा सघाएको अभियोग दुईजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । थुनछेक बहसपछि न्यायाधीश हरिश्चन्द्र इङनामको इजलासबाट राजविराज नगरपालिका– ११ का वडाध्यक्ष उदीतनारायण यादवलाई एक लाख र स्थानीय राधेश्याम यादवलाई २५ हजार धरौटीमा छाड्न आदेश भएको अदालतका प्रवक्ता भरतमणि पोखरेलले जानकारी दिए ।
अदालतले बुधबार उदीत र राधेश्यामसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । दुईजना बिहीबार अदालतमा हाजिर भएपछि थुनछेक बहस भएको थियो ।
सूर्यनारायण यादवले छोरीका छोरा नाति सतिश यादवलाई आफ्नो छोरा भनेर झुटो विवरण पेस गरेर २१ फागुन ०७९ मा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट १६–०१–७९–११६३१ नम्बरको नागरिकता प्राप्त गराएका थिए ।
सूर्यनारायण र सतिश धरौटीमा रिहा भइसकेका छन् । सरकारी वकिल कार्यालय सप्तरीबाट ३१ वैशाखमा नागरिकता प्रकरणमा २८ जनाविरुद्ध मुद्दा चलेको थियो । जसमा २६ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो ।