मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ५ शुक्रबार ०६:२०:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हारबाट जोगियो साबिक विजेता मच्छिन्द्र

खेलमा दुईपटक पछि परेको मच्छिन्द्रले फ्रेन्ड्सलाई २–२ को बराबरीमा रोक्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ५ शुक्रबार ०६:२०:००

दुईपटक पछाडि परेको अवस्था उल्ट्याउँदै साबिक दुईपटकको विजेता मच्छिन्द्र फुटबल क्लबले फ्रेन्ड्ससँग २–२ को बराबरी नतिजा निकालेको छ । दशरथ रंगशालामा बिहीबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्सले दुईपटकको अग्रता रक्षा गर्न नसक्दा मच्छिन्द्रसँग अंक बाँडेको हो । 

बराबरीपछि मच्छिन्द्रले दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । १९ खेलमा ३१ अंक बनाएको मच्छिन्द्र तेस्रो स्थानमा यथावत् छ । लिगको उपाधि ह्याट्रिक गर्ने योजनामा रहेको मच्छिन्द्रले आठ जित, सात बराबर र चार खेलमा हार बेहोरेको छ । फ्रेन्ड्स रेलिगेसन क्षेत्रमै छ । समान खेलबाट २१ अंक बटुलेको फ्रेन्ड्स १३औँ स्थानमा छ । शीर्ष स्थानको चर्च ब्वाइजले ३३ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको जावलाखेल युथको ३२ अंक रहेको छ । 

फ्रेन्ड्सका लागि प्रकाश बुढाथोकी र राफिक अमिनुले समान एक गोल गरे । मच्छिन्द्रका लागि दुवै गोल आफिज ओलावालेले गरेका हुन् । लिगमा आफिजले गोल संख्या १४ पुर्‍याएका छन् । डबल लिगमा मच्छिन्द्र फ्रेन्ड्सविरुद्ध अपराजित रह्यो । पहिलो लेगमा मच्छिन्द्र २–१ ले विजयी भएको थियो ।

लिगअन्तर्गत भएका अन्य दुई खेलमा बराबरी नतिजा निस्किए । सर्वाधिक विजेता मनाङ मस्र्याङ्दी क्लब र संकटाले २–२ गोलको बराबरी खेलेका छन् । सातदोबाटोले न्युरोड टिम (एनआरटी) सँग १–१ को बराबरी नजिता निकाल्यो । 

मच्छिन्द्र र फ्रेन्ड्सका प्रशिक्षक खुसी भएनन्
ह्याट्रिक उपाधि योजना बुनिरहेको मच्छिन्द्रले अर्को बराबरी नजिता निकाल्दा मच्छिन्द्रका प्रशिक्षक किशोरकुमार केसी खुसी भएनन् । दुईपटकको अग्रता रक्षा गर्न नसक्दा फ्रेन्ड्सका प्रशिक्षक उर्जेन श्रेष्ठको अवस्था पनि यस्तै रह्यो ।मच्छिन्द्रका प्रशिक्षक केसीले लक्ष्यअनुसार तीन अंक प्राप्त गर्न नसकेको जनाए । मच्छिन्द्रको तुलनामा पुछारको फ्रेन्ड्सले राम्रो प्रदर्शन गरेको केसीको भनाइ छ । ‘हामीले प्रस्ट तीन अंक लिने लक्ष्य बनाएका थियौँ, तर एक अंक मात्रै आयो,’ केसीले भने, ‘यद्यपि, हामीले शीर्ष स्थानको होड परित्याग गरेका छैनौँ ।’ 

पुछारमा रहेको फ्रेन्ड्सको स्तर थाहा भएको उनले बताए । ‘फ्रेन्ड्स बलियो छ, उनीहरूको खेल राम्रोसँग थाहा थियो, विपक्षी टोलीका खेलाडीले रणनीतिअनुसार नै खेले,’ फ्रेन्ड्सको प्रशंसा गर्दै केसीले भने, ‘उनीहरू जितबाट टाढा रहे ।’ फ्रेन्ड्सका प्रशिक्षक श्रेष्ठले रेफ्रीको निर्णयमा सन्तुष्ट रहेनन् । फ्रेन्ड्सले आफ्नै गल्तीमा अग्रता गुमाएको श्रेष्ठले बताए । ‘रेफ्रीले रातो कार्ड देखाउनुपर्ने अवस्थामा पहेँलो कार्ड मात्र दिए,’ श्रेष्ठले भने, ‘रातो कार्ड दिँदा खेल नै परिवर्तन हुन सक्थ्यो ।’ 

खेलको १५औँ मिनेटमा काउन्टर बलमा फ्रेन्ड्सका राफिक अमिनुमाथि मच्छिन्द्रका रक्षक ओमोलाजा करिमले डिबक्सबाहिर फल गरेका थिए । रेफ्री विश्वास कार्कीले करिमलाई पहेँलो कार्ड देखाए । ‘योजनाअनुसार अग्रता लिने थियो, जुन मच्छिन्द्रविरुद्ध लागू पनि भयो,’ श्रेष्ठले भने, ‘डिफेन्समा राम्रोसँग तालमेल नमिल्दा गोल बेहोर्न पुग्यौँ ।’ 

चारै गोल दोस्रो हाफमा
खेलको पहिलो हाफमा कुनै गोल भएन । दोस्रो हाफमा चार गोल भए । ६८औँ मिनेटमा कप्तान प्रकाशले एकल प्रयासमा गोल गरे । जापानिज मिडफिल्डर युता सुजिकीको कर्नर बलमा आफिजले ७१औँ मिनेटमा मच्छिन्द्रलाई १–१ को बराबरीमा ल्याए । ७९औँ मिनेटमा एन्जल महर्जनको पासमा राफिकले फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाएका हुन् ।

८३औँ मिनेटमा आफिजले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रको हार टारेका हुन् । लिगमा आफिज उच्च गोलकर्ता दौडको शीर्ष स्थानमा छन् । १५ खेल खेलेका आफिजले १४ गोल गरेका छन् । खुलटारविरुद्ध उनले पाँच गोल गरेका थिए । खुमलटारका मेसुके ओलोमोउ र जावलाखेलका एनकोटो मासोआबीले समान १३ गोल गरेका छन् । 

मनाङको बराबरी 
आठपटकको कीर्तिमानी विजेता मनाङले संकटासँग २–२ को बराबरी खेल्दै अंक बटुलेको छ । च्यासल मैदानमा अग्रता जोगाउन नसक्दा मनाङ अंक बाँड्न बाध्य भएको हो । खेलपछि मनाङले १९ खेलमा २३ अंक जोडेर मध्यस्थानमा रहेको छ । संकटाको पनि समान खेलबाट २३ अंक नै छ । पहिलो लेग भिडन्तमा मनाङ १–० ले विजयी भएको थियो । दोस्रो लेगमा मनाङका लागि दुवै गोल टिमोथी कोफीले गरे ।

संकटाका युसुफ एट्रिस र मनीष डाँगीले समान एक गोल गरेका हुन् । खेलको १९औँ मिनेटमा कोफीले मनाङलाई अग्रता दिलाए । ४४औँ मिनेटमा युसुफले संकटालाई बराबरीमा ल्याए । ४५औँ मिनेटमा कोफीले मनाङलाई २–१ को अग्रता दिलाए । खेलको ५२औँ मिनेटमा मनीषले गोल गर्दै संकटालाई २–२ को बराबरीमा ल्याएका हुन् ।