मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 22 July, 2025
Invalid date format o५:५८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री प्रचण्ड जेठ तेस्रो साता भारत भ्रमणमा जाने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५८:oo

पूर्वपरराष्ट्रमन्त्रीहरूसँग आज सुझाव लिने, एड्भान्स टोली दिल्ली जाने तयारीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ तेस्रो साता भारत भ्रमण गर्ने भएका छन् । प्रतिनिधिसभामा १५ जेठमा सरकारले बजेट प्रस्तुत गरेपछि प्रधानमन्त्रीको भारत भ्रमण गराउन नेपाल र भारतका परराष्ट्र मन्त्रालय सहमत भएका छन् । 

१० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डको करिब पाँच महिनापछि भारत भ्रमणको साइत जुरेको छ । प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डाबारे छलफल गर्न परराष्ट्रमन्त्री एनपी साउदले शुक्रबार पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्दै छन् । 

गोविन्द आचार्य, प्रधानमन्त्रीका प्रेस सल्लाहकार 
जेठ १५ पछि प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ । दुवै पक्षको सहमतिमा मिति सार्वजनिक हुन्छ ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार सांसदहरूसँग प्रतिनिधिसभामा प्रश्नोत्तरका क्रममा निकट भविष्यमा भारत भ्रमणमा जान लागेको बताएका थिए । ‘बजेटभन्दा पहिला प्रधानमन्त्रीको भारत भ्रमण हुन सकेन । त्यसलगत्तै भ्रमण गर्ने गरी तयारी भइरहेको छ । नेपाल र भारत दुवै पक्षको सहमतिमा भ्रमणको मिति सार्वजनिक गर्ने भन्ने छ,’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले नयाँ पत्रिकासँग भने । 

परराष्ट्र मन्त्रालयले सबै मन्त्रालयसँग एजेन्डा मागिसकेको छ भने परराष्ट्रमन्त्रीले पनि सक्रियता देखाएका छन् । परराष्ट्रमन्त्री साउदले शुक्रबार पौने २ बजे पूर्वपरराष्ट्रमन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयमा छलफलका लागि बोलाएका छन् । ‘प्रधानमन्त्रीको भ्रमणका विषयमा सुझाव दिनका लागि आउनु भनिएको छ,’ पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नयाँ पत्रिकासँग भने । 

कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणअघि परराष्ट्र मन्त्रालयको एड्भान्स टोली नयाँदिल्ली जाने तयारी छ । ‘सकभर तयारीका लागि परराष्ट्रमन्त्री साउद नै जाने भन्ने छ, तर तय भइसकेको छैन,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो । 

भारत भ्रमण गरेर फर्केपछि प्रधानमन्त्री प्रचण्ड उत्तरी छिमेकी चीन भ्रमण जाने तयारीमा छन् । त्यसका लागि दुवै देशका परराष्ट्र मन्त्रालयबीच समन्वय भइरहेको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोलप्रसाद गजुरेलका अनुसार भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री चीन जाने गरी कूटनीतिक च्यानलमा छलफल भइरहेको छ । 

गत वर्ष बुद्धजयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण भएको थियो । त्यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेका थिए । मोदीले लुम्बिनी भ्रमणका वेला नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । 

प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्रीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले भ्रमणको निमन्त्रणा पठाइसकेका छन् ।

सीमालगायतका विषयमा छलफल हुन्छ : प्रधानमन्त्री 
प्रधानमन्त्री प्रचण्डले आसन्न भारत भ्रमणमा इपिजीले तयार गरेको प्रतिवेदन, सीमा समस्या, नेपाली भूमिलगायत सबै विषयमा छलफल हुने बताए । ‘निकट भविष्यमा हुने मेरो भारत भ्रमणमा इपिजी प्रतिवेदन, हाम्रो जमिनसँग सम्बन्धितलगायतका विषयमा छलफल हुन्छ । दुई देशको सम्बन्ध आधुनिक युग सुहाउँदो हुने गरी सम्बन्धको पुनरावलोकन गर्ने गरी कूटनीतिक प्रयास भइरहेको छ,’ प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, इपिजी प्रतिवेदन बुझ्ने कि नबुझ्ने भन्ने कुरा भारत भ्रमणपछि मात्रै थाहा हुन्छ ।’ 

प्रधानमन्त्री प्रचण्डले एक इन्च जमिन पनि लेनदेन नहुने प्रस्टीकरण दिए । ‘हामी हाम्रो एक इन्च जमिन पनि छाड्दैनौँ र छिमेकीहरूको एक इन्च जमिन पनि हामीलाई चाहिएको छैन,’ प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामाथि कहीँ–कतै सम्झौता हुँदैन ।’ 

पहिलो भ्रमण हुनैपर्ने बाध्यता छैन 
पहिलो भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यता के छ भन्ने सांसद चित्रबहादुर केसीको प्रश्नमा त्यस्तो बाध्यता नरहेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘म पहिलोपटक प्रधानमन्त्री हुँदा (०६४) नै यो बाध्यता छैन भन्ने पुष्टि भइसकेको छ । मैले यो देखाइसकेको छु ।’ पहिलो संविधानसभापछि प्रधानमन्त्री भएका प्रचण्डले पहिलो भ्रमण चीनबाट सुरु गरेका थिए । बोआओ फोरम फर एसिया सम्मेलनका लागि उनले पहिलो भ्रमण चीनबाट गरेका थिए । यद्यपि, त्यो द्विपक्षीय औपचारिक भ्रमण थिएन । उनले पहिलो औपचारिक द्विपक्षीय भ्रमणचाहिँ भारतको गरेका थिए । 

‘खुला सिमाना, बहुआयामिक सांस्कृतिकलगायतको सम्बन्धका कारण म भारत जान लागेको हुँ । पहिलो भ्रमण भारतबाटै हुनुपर्छ भन्ने कहीँ–कतै राजनीतिक बाध्यता छैन,’ प्रधानमन्त्री प्रचण्डको जवाफ थियो ।