१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लम्पी स्किनबाट बागमतीमा २६० गाई मरे, ८० प्रतिशतसम्म दूध उत्पादनमा ह्रास 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:११:oo

बागमती प्रदेशमा गाईवस्तुमा लाग्ने संक्रामक रोग लम्पी स्किनका कारण अहिलेसम्म दुई सय ६० वटा गाई मरेका छन्। प्रदेशका १३ मध्ये १० जिल्लामा फैलिएको संक्रमणका कारण दुई सय ६० गाई मरेका हुन्।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेशमा अहिलेसम्म १८ हजार तीन सय २४ गाई संक्रमित भएका छन्। 

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार यस रोगबाट सबैभन्दा बढी मकवानपुरमा मात्रै एक सय ९७ वटा गाईवस्तु मरेका छन्। यहाँ बुधबारसम्म चार हजार आठ सय ३५ वटा गाईवस्तु संक्रमित भएका छन्। 

यसैगरी मकवानपुरपछि सबैभन्दा बढी ४७ वटा गाईवस्तु मरेको सिन्धुलीमा भने संक्रमणको संख्या सबैभन्दा बढी छ। यहाँ अहिलेसम्म नाै हजार ६ सय ३२ वटा गाईवस्तुमा संक्रमण फैलिएको छ। लम्पी स्किनको संक्रमणका कारण नुवाकोटमा १०, काठमाडौंमा चार र काभ्रेमा दुईवटा गाईवस्तु मरेका छन्। 

सूचना अधिकारी अधिकारीका अनुसार रसुवा, दोलखा र धादिङमा अहिलेसम्म गाईवस्तुमा रोगको संक्रमण देखिएको छैन भने ललितपुर, भक्तपुर, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा संक्रमणका कारण गाईवस्तु मरेका छैनन्। 

रोगको संक्रमण फैलिएको रामेछापमा एक हजार नाै ६५, चितवनमा एक हजार ६०, काभ्रेमा चार सय, नुवाकोटमा तीन सय, काठमाडौंमा ८३, ललितपुरमा ४०, सिन्धुपाल्चोकमा ६ र भक्तपुरमा एउटा गाईमा संक्रमण देखिएको पनि सूचना अधिकारी अधिकारीले जानकारी दिए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव शरणकुमार पाण्डेका अनुसार रोगको संक्रमणको दरको अनुपातमा पशुको मृत्युदर भने न्यून छ। रोगको संक्रमणबाट पशु मृत्युदर करिब ६ प्रतिशत मात्रै रहेको सचिव पाण्डेले बताए।

उनले दुहुना पशुहरूको दूध उत्पादनमा भने ह्रास आएको जानकारी दिए। ‘संक्रमणको तुलनामा मृत्युदर कम भए पनि दूध उत्पादनमा भने ह्रास आएको छ। प्रदेशमा रोगको संक्रमणका कारण ८० प्रतिशतसम्म दूध उत्पादनमा ह्रास आएको छ। जसले गर्दा किसानले ठूलो क्षति व्यहोर्नुपरेको छ,’ सचिव पाण्डेले भने। 

सचिव पण्डेले प्रदेशभित्र तीव्र गतिमा फैलिरहेको रोगको संक्रमण नियन्त्रण तथा रोकथाम र गाई–भैँसीको स्वास्थ्य संरक्षण गर्न र दूध उत्पादनमा हुने कमीलाई न्यूनीकरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

‘रोग संक्रमण नियन्त्रण र रोकथामका लागि मन्त्रालयले जनचेतना फैलाउन प्रचारप्रसार सामग्री तथा सूचना प्रकाशन गर्ने, रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप कार्यक्रम सुरु गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरूलाई निर्देशन दिएका छौँ,’ उनले भने।

रोग सर्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासन कार्यालयसँगको समन्वयमा प्रचलित कानुनबमोजिम पशु ढुवानी र ओसारपसार कार्यलाई नियन्त्रण वा निषेध गर्न विज्ञ केन्द्रहरूलाई निर्देशन दिनुका साथै रोग नियन्त्रण र रोकथाम कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन लम्पी स्किन रोग नियन्त्रण र रोकथाम रणनीति, २०८० तयार गरी कार्यान्वयन गर्ने तयारी भइरहेको पनि सचिव पाण्डेले जानकारी दिए।