१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अजित अधिकारी काठमाडाैं
२०८० जेठ ३ बुधबार ०७:०५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमले गर्‍यो नौ महिनामा साढे १६ अर्ब बक्यौता भुक्तानी

अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा पेट्रोलियमको मूल्य नघटाउँदा उपभोक्ता भने मर्कामा

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
२०८० जेठ ३ बुधबार ०७:०५:००

चालू आर्थिक वर्ष ०७९/८० मा आयल निगमले नाफालाई प्राथमिकतामा राखेर गत आव ०७८/७९ देखिको बक्यौता भुक्तानी गर्दै आएको छ । चालू आवको साउनसम्ममा इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई तेल खरिदबापतको बक्यौता २३ अर्ब थियो ।

भदौदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा सामान्य गिरावट आउन थाले पनि निगमले अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा मूल्य नघटाएर नाफा रकम बक्यौता भुक्तानीमा खर्च गरेको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । ‘हामीलाई लिखित पत्र नै पठाएर बक्यौता बुझाउन निरन्तर ताकेता भइरहेको थियो । अहिले बक्यौता रकम घटेपछि भने ताकेता कम हुन थालेको छ,’ प्रवक्ता ठाकुरले भने, ‘कतिसम्म भने कुनै सार्वजनिक कार्यक्रममा पुग्दासमेत नेपालस्थित भारतीय दूतावासका कुनै अधिकारी भेटिए बक्यौता कहिले तिर्ने भनेर लज्जित बनाउने गरेका थिए ।’ बक्यौता छिटो बुझाउनुपर्ने दबाबकै कारण भदौदेखि अलि ठूलो दरमा निरन्तर नाफा राखेर मूल्य निर्धारण गर्दै आएको निगमको भनाइ छ ।

प्रवक्ता ठाकुरका अनुसार वैशाख अन्तिमसम्म आइओसीको बक्यौता ६ अर्ब ४० करोडमा झरिसकेको छ । वैशाखमा मात्रै निगमले दुई अर्बभन्दा बढी नाफा गरेको प्रारम्भिक अनुमान छ । वशाख १ देखि १५ सम्म ५९ करोड र १६ देखि ३१ वैशाखसम्म थप एक अर्ब ५३ करोड नाफा अनुमान गरिएको छ ।

वैशाखमा गरेको सबै नाफाबापतको रकम आइओसीको बक्यौता तिर्न खर्च हुने निगमले जनाएको छ । आउँदो २२ जुन (९ जेठ)मा तेल खरिदको रकममा बक्यौताबापतको करिब दुई अर्ब थपेर आइओसीलाई भुक्तानी गर्ने कार्यतालिका छ । निगमले प्रत्येक महिनाको ८ र २२ तारिखमा तेल खरिदको पैसा पठाउँछ । आइओसीले बक्यौता रकममा ७ प्रतिशतका दरले ब्याजसमेत तिराउँदै आएको छ । निगमले सरकारबाट लिएको सात अर्ब ऋणको भने ब्याज र किस्ता मात्रै भुक्तानी गर्दै आएको छ । एक महिनाअघि निगमले ऋणको किस्ताबापत ७५ करोड तिरेको थियो । नोक्सानीमा रहेका कारण सरकारी ऋण तिर्न भने ठूलो दबाब नरहेको निगमले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पनि विगतमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गराउँदा ठूलो नोक्सानी खेपेका कारण सो बक्यौता तिर्न जनअपेक्षाअनुसार अहिले मूल्य समायोजन गर्न नसकिएको बताए । ‘तेल किन्दा खेपेको नोक्सानी तेल बेचेरै तिर्नुपर्ने अवस्था छ,’ मन्त्री रिजालले भने, ‘अहिले बक्यौताबापतको रकम भुक्तानी गरौँ भन्ने छ । सो बक्यौता भुक्तानी भइसकेपछि भने ठूलो नाफा राखेर इन्धनको मूल्य निर्धारण हुनेछैन ।’

 एकै वर्ष ४९ अर्ब घाटा भएको थियो
आर्थिक वर्ष ०७८/७९ को मंसिरदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर उकालो लागेको थियो । अन्तर्राष्ट्रिय मूल्य ह्वात्तै वृद्धि भए पनि नेपाली बजारमा सोहीदरमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न नसक्दा आयल निगमले उक्त वर्ष ४९ अर्ब नोक्सान व्यहोरेको नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए । ‘एकै आर्थिक वर्षमा ४९ अर्ब नोक्सान भएपछि हामीले सञ्चित कोषमा रहेको रकम प्रयोग गेरेर घाटा पूर्ति गरेका थियौँ,’ उनले भने । 

शाहका अनुसार ०७१ देखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य स्वचालित प्रणालीमा लैजाँदा मूल्य स्थिरीकरण कोष शुल्क लगाउनबापत पैसा जम्मा गर्न थालिएको छ । यो कोषमा पेट्रोलबाट १.७५ रुपैयाँ, डिजेल र मट्टीतेलबाट समान १.६५ रुपैयाँ, आन्तरिक हवाई इन्धनबाट १.६० रुपैयाँ र बाह्य हवाई इन्धनबाट १.७६ रुपैयाँ प्रतिलिटर तथा ग्यासबाट १८ रुपैयाँ प्रतिसिलिन्डरका दरले कोषमा रकम जम्मा हुने गरेको छ । यसरी उठेको कुल रकम २० अर्ब गत आवको घाटा पूर्ति गर्न खर्च भएको शाहले बताए । त्यस्तै, कर्मचारी कल्याणकारी कोषको तीन अर्ब रुपैयाँ पनि घाटा पूर्तिमा खर्च भएको उनले जानकारी दिए ।

आयल निगमले विभिन्न समयमा नाफा आर्जन गर्दा बोनसबापत छुट्याएको तीन अर्ब ४९ करोड पनि गत आवको घाटापूर्तिमा खर्च भएको उनले बताए । ‘यसरी हामीसँग भएका कोषहरूको २६ अर्बभन्दा बढी रकम घाटा पूर्तिमा खर्च गरिएको छ,’ उनले भने, ‘जसकारण चालू आवको सुरुवातदेखि २३ अर्ब बक्यौता तिर्नबाट कारोबार सुरु भएको थियो ।’

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो
आयल निगमले मंगलबार रातिबाट लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटाएको छ । निगम सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले डिजेल र मट्टीतेलको मूल्य घटाउने र अन्य पेट्रोलियमको मूल्य यथावत् राख्ने निर्णय गरेको हो । मूल्य घटेपछि काठमाडौंमा डिजेल र मट्टीतेलको खरिद मूल्य एक सय ५५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यसअघि २० चैतमा पनि निगमले डिजेल र मट्टीतेलको मूल्य १०–१० रुपैयाँ प्रतिलिटर घटाएको थियो ।

इन्डियन आयल कर्पोरेसनले मंगलबार दिउँसो आगामी १५ दिनका लागि पेट्रोलियम पदार्थको नयाँ खरिददर पठाउँदा मूल्य घटाएर पठाएको थियो । नयाँ खरिदमा पेट्रोल ९.५१ रुपैयाँ र डिजेल ८.०८ रुपैयाँ घटेर आएको थियो । मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि समायोजन गरेको हो । 

नाफा रकम बक्यौता तिर्न खर्च भइरहेको छ
मनोज ठाकुर, प्रवक्ता, नेपाल आयल निगम लिमिटेड

आयल निगमले जस्तोसुकै विषम परिस्थितिमा पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्दै आएको छ । डेढ वर्षअघि प्रतिमहिना झन्डै १० अर्ब रुपैयाँसम्म नोक्सानी खेपेर पनि पेट्रोलियमको आपूर्तिमा कुनै असर पर्न दिएका थिएनौँ । त्यतिखेर खेपेको नोक्सानीलाई पछिल्लो समय भर्पाई गर्दै आएका छौँ ।