
एभरेस्ट प्रिमियर लिग (इपिएल)का संस्थापक आमिर अख्तरले नेपाल क्रिकेट संघ (क्यान)विरुद्धको मुद्दा फिर्ता लिएका छन् । क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्बीचको सम्झौता गैरकानुनी जनाउँदै अख्तरले सर्वोच्च अदालतमा रिट दायरगरेका थिए ।
क्यानले सेभेन थ्री स्पोर्टस्सँग सहकार्य गर्दै नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । क्यानले आफ्नो इतिहासमै पहिलोपटक टी–२० फ्रेन्चाइज लिग आयोजना गर्दा विवादास्पद बनेको थियो । क्यानले इपिएल आयोजना गर्न विश्वास दिलाएपछि अख्तरले मुद्दा फिर्ता लिएका हुन् ।
गत फागुनमा बसेको क्यानको साधारणसभाले भारतीय कम्पनीसँगको सम्झौता रद्द भएकाले इपिएललाई मुद्दा फिर्ता लिन अनुरोध गरेको थियो । मुद्दा फिर्ता भएपछि आपसी सहमतिमा इपिएल सञ्चालनका लागि बोर्ड बैठकबाट आवश्यक निर्णय गरिने क्यानले उल्लेख गरेको थियो । यससँगै इपिएल आयोजनाका लागि बाटो खुलेको थियो ।
‘क्यानले भारतीय कम्पनीसँगको सम्झौता रद्द गरेको छ, हामीलाई इपिएल पुरानै शैलीमा गर्ने विश्वास दिलाएको छ,’ इपिएलका अख्तरले भने, ‘त्यसपछि हामीले क्यानविरुद्धको मुद्दा फिर्ता लिएका हौँ ।’ डेढ वर्षयता क्यान र इपिएलबीच आपसी लडाइँ चलिरहेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को प्रतिबन्धमा क्यान रहँदा इपिएलले खेलाडीलाई चलायमान बनाउन एभरेस्ट प्रिमियर लिग आयोजना गरेको थियो ।
क्यान प्रतिबन्धमा रहेका वेला पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगसमेत आयोजना भएका थिए । यद्यपि, यी दुईवटा टी–२० लिगका आयोजकले प्रतियोगिता आयोजना गर्न सकिरहेका छैनन् । तर, अख्तरले पनि इपिएललाई एक नयाँ उचाइमा पुर्याउँदै घरेलु क्रिकेटलाई व्यावसायिक बनाउने कार्य गरेका थिए । आइसिसीबाट प्रतिबन्ध फुकुवा भएपछि क्यानले तत्कालै नेपाल टी–२० लिग हुने घोषणा गरेको थियो । क्यानले आयोजना गर्ने टी–२० लिगले मात्र अन्तर्राष्ट्रिय मान्यता पाउने र यसै किसिमका नेपालमा आयोजना हुने लिगले मान्यता नपाउने जनाएको थियो ।
क्यानको यस निणर्यसँगै इपिएल चिढियो । गत वर्ष इपिएल आयोजना हुने समयमै क्यानले स्वीकृति प्रदान गरेन । त्यसपछि इपिएलमा आबद्ध फ्रेन्चाइज टोलीका मालिकहरूले घरेलु क्रिकेट प्रतियोगितामा आफूहरूले लगानी नगर्ने चेतावनी दिए । ती मालिकहरूले घुमाउरो रूपमा नेपाल टी–२० लिगमा लगानी गर्ने जनाएका थिए । यद्यपि, क्यानले नेपाल टी–२० लिग ग¥यो ।
भारतीय कम्पनीको हालिमुहाली
भारतीय कम्पनीको प्रत्यक्ष हालिमुहाली भएको नेपाल टी–२० मा फिक्सिङदेखि सट्टेबाजीसमेत भयो । लिगमा आबद्ध खेलाडीहरूले नै आफूलाई ‘खेल मिलेमतो’ गर्न प्रस्ताव आएको खुलासा गरेपछि आइसिसी, राष्ट्रिय खेलकुद परिषद् तथा सिबिआईले अनुसन्धान गरेका थिए । आइसिसीका प्रतिनिधि नेपालमा आएर नै अनुसन्धान गरेका थिए । नेपाल टी–२० लिगमा खेल मिलेमतो र सट्टेबाजहरू चलायमान हुँदा इपिएलले यसको कडा विरोध जनाएको थियो ।
दिनदिनै नेपाल टी–२० लिगमा विवाद बढेपछि भारतीय कम्पनी बीचमै भागेर गयो । अनुसन्धानका क्रममा नेपालका पूर्वक्रिकेटरहरू समातिए । चर्को विरोधपछि क्यानको गत फागुनमा भएको साधारणसभाबाट सेभेन थ्री स्पोर्टस्सँगको सम्झौता खारेज गर्ने निर्णय गर्यो । इपिएलका संस्थापक अख्तरले क्यानसँगको लडाइँ समाप्त भएको बताएका छन् । ‘सम्भवतः क्रिकेटमा लडाइँ सकियो, हामीलाई पहिलाकै जस्तै इपिएल गर्न पाउने क्यानले स्पष्ट पारेको छ,’ अख्तरले भने, ‘अब हामी यसको तयारीमा लाग्छाैँ ।’
इपिएलमा विश्वचर्चित खेलाडी
अख्तरले भारतीय कम्पनीसँग कानुनविपरीत सम्झौता गरेकाले नेपाली क्रिकेटप्रतिको चिन्ताका कारण मुद्दा हालेको बताएका छन् । ‘हामीलाई नेपाली क्रिकेटको धेरै चिन्ता लागेको थियो, क्यानले सम्झौता रद्द गर्ने निर्णय गरेसँगै हामीले पनि मुद्दा फिर्ता लिएका हौँ,’ उनले भने, ‘क्यानले अब इपिएल आयोजना गर्न स्वीकृति प्रदान गर्नेछ ।’
अख्तरले अन्तर्राष्ट्रिय क्यालेन्डरअनुसार इपिएल आयोजना गर्ने बताएका छन् । दुई वर्षअघि भएको इपिएलमा पाकिस्तानका विश्वचर्चित पाकिस्तानी अलराउन्डर साहिद अफ्रिदीसमेतले प्रतिस्पर्धा गरेका थिए । इपिएलमा विश्वका चर्चित खेलाडीहरूको उपस्थिति रहने गरेका थिए । नेपाल टी–२० लिगमा इपिएलमा आबद्ध विदेशी स्तरका खेलाडी थिएनन् ।