Skip This
पर्वत सहकारी ठगी : अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतको आनाकानी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o जेठ २ मंगलबार o७:४८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पर्वत सहकारी ठगी : अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतको आनाकानी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २ मंगलबार o७:४८:oo

सहकारीको रकम दुरुपयोग गर्ने अभियुक्तविरुद्ध प्रहरीले मागेको पक्राउ अनुमतिलाई स्वीकृति दिन जिल्ला अदालत पर्वतले आनाकानी गरेको छ । कुश्मास्थित शिवालय बहुउद्देश्यीय सहकारीको दुई करोड रुपैयाँभन्दा धेरै रकम दुरुपयोग भएको भन्दै सहकारीका अध्यक्ष विदुर पौडेल, कोषाध्यक्ष नरेन्द्रबहादुर खत्री, लेखा संयोजक विनोद कर्माचार्य र व्यवस्थापक दिलकुमारी सुवेदीविरुद्ध पक्राउ अनुमति माग्न प्रहरी गत बिहीबार जिल्ला अदालत पुगेको थियो । तर, अदालतले प्रक्रिया नपुगेको भन्दै अनुसन्धान प्रतिवेदन जिप्रका पर्वतमै फिर्ता गरिदिएको छ । यसअघि जिल्लाका प्रमुख न्यायाधीश नभएको भन्दै अदालतले पक्राउ पुर्जी दिन मानेको थिएन । 

पीडितको पक्षबाट वकालत गरिरहेका रामचन्द्र शर्माले अदालतले नियतवश अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी नगरेको आरोप लगाए । ‘प्रहरीले अदालतमा अभियुक्त पक्राउ गर्न बिहीबार नै पक्राउ पुर्जीको माग गरेको थियो । तर, त्यसवेला न्यायाधीश नभएको भन्दै पुर्जी जारी गरेन । अहिले अनुसन्धान प्रतिवेदन नै प्रहरी कार्यालयमा फिर्ता पठाएको छ । यो सरासर गलत हो । अदालतको गलत नियत देखिन्छ,’ उनले भने ।

जाहेरीकर्ता मीनाकुमारी सोही सहकारीको सचिव प्रेमप्रसाद शर्माकी श्रीमती हुन् । सहकारीको रकम दुरुपयोग भएको भन्दै प्रेमप्रसादले गत २९ पुसमा आत्महत्या गरेका थिए । मृतक प्रेमप्रसादकी श्रीमती मीनाकुमारीले सहकारी ऐन ०७४ को १२२ अनुसार प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीमा जमानत वा सुरक्षण नराखी ऋण प्रवाह भएको, सहकारीको सदस्य, व्यवस्थापक वा कर्मचारीले सहकारी संस्थाको सम्पत्ति, बचत वा सेयर रकम हिनामिना गरेको, ऋण असुल हुन नसक्ने गरी समितिका सदस्य, निजको नातेदारलाई ऋण प्रवाह गरेको, संस्थाको सेयर वा बचत रकम आफूखुसी परिचालन गरी सहकारी संस्थालाई हानि–नोक्सानी पुर्‍याएमा विषय उल्लेख छ । 

आत्महत्यापछि प्रेमप्रसादकी श्रीमती मीनाकुमारीले सहकारीका अध्यक्ष विदुर, कोषाध्यक्ष नरेन्द्र, व्यवस्थापक दिलकुमारीविरुद्ध आत्महत्या दुरुत्साहनविरुद्धको जाहेरी प्रहरी कार्यालयमा दर्ता गरेकी थिइन् । जाहेरीपछि प्रहरीले विदुर, नरेन्द्र र दिलकुमारीलाई पक्राउ पनि गरेका थियो । १७ दिनको हिरासतपछि जिल्ला अदालत पर्वतको आदेशमा उनीहरूलाई प्रहरीले धरौटीमा छाडेको थियो ।

जिल्ला अदालत पर्वतका श्रेस्तेदार राजु ढुंगानाले पक्राउ पुर्जी जारी गर्न कागजात नपुगेपछि प्रतिवेदन जिप्रकामै फिर्ता पठाइएको जानकारी दिए । ‘ठगी मुद्दामा पक्राउ पुर्जी जारी गर्न प्रहरीले माग गरेको थियो । हामीले प्रतिवेदन हेर्‍यौँ । तर, पक्राउ पुर्जी जारी गर्न कागजात पुगेको देखिएन । त्यसैले आवश्यक कागजातसहित पक्राउ पुर्जी लिन आउन भन्दै हामीले जिप्रकालाई लेखी पठाएका छौँ,’ उनले भने ।