१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:२३:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

गृहकै गाडीमा बिचौलियाले ओसार्थे पैसा 

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२३:oo

बिचौलियाहरूले जिल्ला–जिल्ला पुगेर पीडितहरूको फाराम भराउने, पैसा उठाउनेदेखि उच्चपदस्थलाई बुझाउनसम्म गृह मन्त्रालयकै गाडी प्रयोग गर्थे

ठगी गिरोहले प्रयोग गरेको गृह मन्त्रालयको बा.१झ १५८१ नम्बरको गाडी प्रहरीद्वारा बरामद

बरामद गाडी गृहअन्तर्गतकै हज कमिटीका अध्यक्ष शमशेर मियाँले चढ्थे, गिरोहसँग साँठगाँठ देखिएपछि उनी सम्पर्कविहीन छन् ।

शमशेर मियाँ

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने गिरोहले गृह मन्त्रालयकै गाडीमा पैसा ओसारपसार गरेको अनुसन्धानमा भेटिएको छ । प्रहरीले त्यसरी दुरुपयोग गरिएको गृहको बा.१झ १५८१ नम्बरको सरकारी गाडी बरामद गरेको छ । 

सो गाडी गृह मन्त्रालयअन्तर्गतको नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँको भएको खुलेको छ । मियाँको समेत गिरोहसँग निकटता देखिएको छ, उनी प्रहरीको सम्पर्कमा आएका छैनन् । 

‘सेतो नम्बर प्लेटको गाडी प्रयोग गर्दा सहज हुने भएकाले बिचौलियाले पटक–पटक गृहको गाडी प्रयोग गरेको देखियो,’ अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीले भने, ‘बोरामा राखेर पैसा ओसारपसार पनि यसैमा भएको पक्राउ परेका अभियुक्तले बताएका छन् ।’ 

विभिन्न व्यक्तिलाई पैसा बुझाउने वेला सोही गाडी प्रयोग भएको थियो । मोटो रकम निजी गाडीमा ओसारपसार हुँदा जोखिम हुने भएकाले गिरोहले गृहको गाडी प्रयोग गरेको थियो । पीडितहरूसँग उठाएर करोडौँ रकम उनीहरूले उच्चपदस्थलाई बुझाएका थिए । त्यही गाडीमा राखेर पैसा ओसारपसार गरेको अभियुक्तहरूले बयानमै बताएका छन् । 

साथै बिचौलियाहरूले पीडितहरूलाई विश्वासमा पार्न पनि सो गाडी प्रयोग गरेको पाइएको छ । चितवन, विराटनगरलगायत ठाउँमा सोही गाडी लिएर गई पीडितहरूलाई फाराम भराउनेदेखि फोटो खिच्नेसम्म काम भएको थियो । सो गाडीमा गृहको परिचयपत्र भिरेका केही कर्मचारी पनि संलग्न रहेको पीडितले उजुरीमा दिएका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अनुसन्धानका लागि गृहको गाडी बरामद गरिएको पुष्टि गरे । ‘ठगीको उद्देश्यले गृहले त्यो गाडी दुरुपयोग गरेको पाइएपछि अनुसन्धानका लागि ल्याइएको हो,’ उनले भने । स्रोतका अनुसार अपराधमा प्रयोग भएका अन्य केही गाडी पनि बरामद भएका छन् । कतिपय अवस्थामा निजी गाडीमै समेत सरकारी नम्बर प्लेट राखेर उनीहरूले प्रयोग गर्दथे । 

हज कमिटीका अध्यक्ष मियाँले समेत आफ्नो गाडी प्रयोग गर्न दिएर गिरोहलाई सघाएको प्रहरी अनुसन्धानमा देखिएको छ । मियाँ २९ पुस ०७५ मा पहिलोपटक हज कमिटीको अध्यक्षमा नियुक्त भएका थिए । त्यतिवेला रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए । बादल पनि हाल छानबिनमा छन् । अर्घाखाँचीको बालकोट घर भएका हज कमिटीका अध्यक्ष मियाँ एमाले नेता टोपबहादुर रायमाझीका निकट हुन् । रायमाझीकै जोडबलमा उनी त्यहाँ नियुक्त भएको स्रोत बताउँछ । रायमाझीकै जोडबलमा त्यसअघि उनी मुस्लिम आयोगको सदस्य पनि भएका थिए । 

सुरुमा दुई वर्षलाई हज कमिटीमा नियुक्त भएका मियाँ त्यसयता निरन्तर अध्यक्ष छन् । प्रहरीले अनुसन्धान थालेको चाल पाएपछि उनी मोबाइल स्विच्ड अफ गरेर सम्पर्कविहीन छन् । प्रहरीलाई अनुसन्धानमा सहयोग नगरे उनलाई मतियारका रूपमा मुद्दा चलाउने तयारी भइरहेको छ । 

आङटावाले गरे आत्मसमर्पण
प्रहरी खोजीमा रहेका नेपाली कांग्रेसका पूर्वसभासद् आङटावा शेर्पा सोमबार आफैँ प्रहरीमा उपस्थित भएका छन् । बालकृष्ण खाणलाई जोगाउन अभियुक्तहरूको बयान प्रभावित पार्न खोजेको खुलेपछि प्रहरीले उनलाई खोजी गरेको थियो । केही दिन भूमिगत भएका उनी आफन्तसहित सोमबार टेकुस्थित प्रहरी कार्यालय पुगेका थिए । उनलाई अभियुक्तकै रूपमा मुद्दा चलाउने वा कागज गरेर छाड्ने भन्ने विषयमा कुरा नटुंगिएको प्रहरी अधिकारी बताउँछन् ।

मंगलबार अनुसन्धान पूरा नहुने 
जिल्ला सरकारी वकिल कार्यालयले मंगलबारभित्र अनुसन्धान पूरा गर्न निर्देशन दिए पनि सम्भव नहुने देखिएकोे छ । अभियुक्तहरू थपिएपछि प्रहरीले अनुसन्धानका लागि अझै केही दिन समय मागेको छ, त्यसमा सरकारी वकिल पनि लचिलो भएको छ । 

‘थप अभियुक्तहरू आएकाले मंगलबार नै अनुसन्धान नसकिनेजस्तो देखियो,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने, ‘प्रहरीलाई एक–दुई दिन थप समय लाग्न सक्छ । त्यसका लागि म्याद दिनुपर्ने हुन्छ ।’ 

१२ जना हिरासतमा रहेको यो मुद्दामा प्रहरीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । संगठित अपराधको कसुरमा ६०औँ दिनभित्र अदालतमा अभियोग दर्ता गर्नुपर्ने हुन्छ । सोमबार ५१ दिन सकिएको छ । ठूलो मुद्दा भएकाले प्रतिवेदन अध्ययन र अभियोजनको तयारीका लागि सरकारी वकिल कार्यालयले एक साताको समय मागेको छ । 

 ‘कार्यदल गठनअघिदेखि नै टोपबहादुरको संलग्नता’

शरणार्थी प्रकरणको योजनादेखि नै रायमाझीको साथ रहेको बिचौलियाद्वय सानु भण्डारी र सन्देश शर्माको बयान

अभियुक्त अभिवादन ! म्याद थपका लागि जिल्ला अदालत लैजानुअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंंमा टोपबहादुर रायमाझी । अदालतले तीन दिन थुनामा राख्न म्याद दिएको छ । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

शरणार्थी समस्याको दिगो समाधानका लागि भन्दै गृह मन्त्रालयबाट कार्यदल गठन हुनुभन्दा अघिदेखि नै एमाले नेता टोपबहादुर रायमाझीको ठगी गिरोहमा संलग्नता देखिएको प्रहरीले जनाएको छ । योजनादेखि नै उनले त्यसमा आफूहरूलाई सघाउँदै आएको पक्राउ परेका अभियुक्तले बयान दिएका छन् । ‘कार्यदल गठनको योजनाकार नै उनी भन्ने बुझिएको छ,’ अनुसन्धानमा आबद्ध प्रहरी भन्छन्, ‘सुरुदेखि नै उनले यसमा सहयोग गर्दै आएका छन् ।’ गृहमा बिचौलियालाई लिएर गई उच्च अधिकारीलाई समेत भेटाउने गरेका थिए । 

त्यसका लागि टोपबहादुरलाई केही पैसा नगदमै दिएको तथा उनका छोरा सन्दीपको खातामा पटक–पटक पैसा हालेको दाबी छ । सन्दीपले भने सो पैसा व्यापारमा लगानी गर्न लिएको दाबी गरेका छन् । तर, कुन व्यापारमा लगानी गर्न लिएको तथा त्यससम्बन्धी कुनै सम्झौता भएको प्रमाण पेस गर्न सकेका छैनन् । सन्दीप २० वैशाखदेखि नै हिरासतमा छन् । आइतबार पक्राउ परेका रायमाझीको सोमबारदेखि बयान सुरु भएको छ । गिरोहका सदस्यसँग चिनजान भए पनि आफूले पैसा नलिएको बयान उनले दिएका छन् ।

जिल्ला अदालतबाट थुनामा राख्द म्याद लिएलगत्तै बबरमहलस्थित सरकारी वकिल कार्यालयमा उनको बयान भएको थियो । सरकारी वकिल कार्यालय स्रोतका अनुसार उनले सो विषयमा आफूलाई जानकारी नै नभएको दाबी गरेका छन् । उनको बयान भने पूरा भएको छैन । तर, उनीविरुद्ध प्रशस्त प्रमाण रहेको प्रहरी अधिकारी बताउँछन् । पक्राउ परेका बिचौलियाहरू सानु भण्डारी र सन्देश शर्मासँग उनको विशेष निकटता देखिएको छ । ०६४ देखि नै उनीहरूबीच निकटता देखिएको छ । दुवैले बयानका क्रममा रायमाझीले कसरी सुरुदेखि नै सघाएका थिए भन्ने विषयमा विस्तृत बताएका छन् । 

छैटौँ दिन खाणको बयान सुरु : पेटमा समस्या देखाउँदै बीचमै बयान रोके 

शरणार्थीका नाममा भएको ठगी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको छैटौँ दिनबाट बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार उनको डेढ घन्टा बयान भएको छ । पेटमा समस्या भएको भन्दै उनले थप बयान गर्न नसक्ने बताएपछि बीचमै रोकिएको थियो । 

खाणको अब मंगलबार बयान निरन्तर हुनेछ । ‘आज सामान्य सोधपुछ मात्र भयो,’ सरकारी वकिल कार्यालय स्रोतले भन्यो, ‘अब मुख्य विषयमा मंगलबार मात्र बयान हुनेछ ।’ सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार स्वास्थ्य समस्या देखाउँदै खाणले धेरै समय बयान गर्न नसकेका हुन् । 

खाणको इच्छाअनुसार बयान लम्बिएको स्रोत बताउँछ । आफूविरुद्ध अन्य अभियुक्तले दिएको बयानको विषयमा सकेसम्म धेरै जानकारी लिने र कानुन व्यवसायीसँग छलफल गरेर मात्र उनले बोल्न चाहेका छन् । त्यही कारण बयानमा उनले ढिलाइ गरेका हुन् । बयानअघि धेरै व्यक्ति भेट्ने र अन्य व्यक्तिको बयानको विषयमा अनावश्यक चासो राखेपछि खाणलाई भेटघाटमा कडाइ गरिएको प्रहरी परिसर टेकुका एक अधिकृतले बताए । हिरासतमा नराखी प्रहरीले उनलाई डिएसपीको कोठामा बस्ने सुविधा दिएकाले पनि उनलाई सहज भएको छ । खाण गत २७ वैशाखमा पक्राउ परेका थिए । उनका सहयोगी नरेन्द्र केसीको भने बयान भइसकेको छ । 

ad
ad