१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १२:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्राथमिक स्वास्थ्य केन्द्रको भवन अलपत्र छाडेर ठेकेदार फरार

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १२:२७:oo

मन्थली नगरपालिका– ११ गेलुमा निर्माणाधीन प्राथमिक स्वास्थ्य केन्द्रको भवन अलपत्र छाडेर ठेकेदार फरार भएका छन्।

प्राथमिक स्वास्थ्य केन्द्रको भवन नहुँदा अस्पतालमा उपचार लिन आउने बिरामीलाई असहज हुँदै आएको छ। उपचार लिन आउने बिरामीलाई न भर्ना गरेर राख्ने ठाउँ छ, न उपचार गराउने कोठा । स्वास्थ्य केन्द्रमा रहेको पुरानो भवन भत्काएर सोही ठाउँमा नयाँ सुविधासम्पन्न भवन निर्माणका लागि टेन्डर प्रक्रियामार्फत भवन निर्माणको जिम्मा विवश निर्माण सेवाले पाएको थियो।

भवन निर्माणको काम सुरु गरेको उक्त निर्माण सेवाले बीचमै काम छाडेर हिँडेको महिनौँ भइसकेको छ। व्यवसायीले सरासर काम गरेको भए यतिखेर भवन निर्माणको काम पूरा भइसक्ने मन्थली नगरपालिका– ११ का वडाध्यक्ष भीमबहादुर मगरले जानकारी दिए। उनले भने, ‘हामीले भवन निर्माण समयमा सक्नुस् भनेर निर्माण व्यवसायीलाई पटकपटक भन्यौँ। हामीले जति भने पनि निर्माण व्यवसायीले कुनै चासो देखाएनन्। उल्टै भवनको काम नै छाडेर महिनौँदेखि सम्पर्कविहीन छन्।’ निर्माण व्यवसायीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा आग्रह गरेको उनले बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गर्न थालेको गेलुसहित जिल्लाका १९ वटा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि सम्झौता गरेको उक्त निर्माण सेवाले हालसम्म बिजुलीकोट र सालु स्वास्थ्यचौकीबाहेक अन्य सबै स्वास्थ्य संस्थाको काम अलपत्र छाडेर सम्पर्कविहीन भएको छ।

सो भवन निर्माणको काममा प्राविधिक सहयोग गर्दै आएको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार गेलु प्राथमिक स्वास्थ्य केन्द्रको काम करिब ६५ प्रतिशत मात्र सकिएको छ। निर्माण कार्यका लागि भएको सम्झौताको अवधि सकिएकाले पुनः तीन महिनाको म्याद थपका लागि प्रक्रिया अघि बढेको आयोजनाका इन्जिनियर सञ्जयकुमार महतोले बताए।