१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
पेथोंगतार्न सिनावात्रा
२o८१ बैशाख २० बिहीबार ११:२९:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

अँध्यारो वा उज्यालो मार्ग थाइल्यान्डले के रोज्ने ?

Read Time : > 3 मिनेट
पेथोंगतार्न सिनावात्रा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२९:oo

सन् २०१४ को सैन्य ‘कु’पछि थाइल्यान्ड मानव अधिकार उल्लंघन र शक्तिको दुरुपयोगको चपेटामा फसेको छ, जसले यो मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा र आर्थिक सम्भावनालाई नराम्ररी क्षति पुर्‍याएको छ । मार्ग परिवर्तनविना थाइल्यान्डको भविष्य अन्धकारमय प्रतीत हुन्छ ।

प्रधानमन्त्री प्रयुथ चान–ओचा नेतृत्वको थाइल्यान्डमा अभिव्यक्ति स्वतन्त्रत व्यापक रूपमा प्रतिबन्धित छ । युवा राजनीतिक कार्यकर्तालाई प्रताडित गर्ने, जेलमा कोच्नेदेखि विदेशमा शरण लिन बाध्य पार्नेसम्मका काम भइरहेका छन् । रोहिंग्यालगायत जातीय अल्पसंख्यक एवं आप्रवासीले नियमित विभेदको सामना गर्नुपरेको छ भने उनीहरू दयनीय अवस्थामा बाँच्न विवश छन् ।

यसबाहेक, थाइल्यान्डमा आय असमानता र पारिवारिक ऋणको स्तर एसियामै उच्च छ । वास्तवमा, कुनै समय उदाउँदो थाइल्यान्डको ‘टाइगर इकोनोमी’को वृद्धिदर आसियानको न्यून बिन्दुमा खस्किएको छ । यदि मे १४ को निर्वाचनबाट प्रधानमन्त्री निर्वाचित भएँ भने म यो मार्ग परिवर्तन गर्नेछु । थाइल्यान्ड विधिको शासनको उदाहरण बन्नुपर्छ । भूराजनीतिक तनाव र महाशक्तिबीचको प्रतिद्वन्द्विताले यस क्षेत्रमा उथलपुथल मच्चाइरहेको समयमा हामीले अहस्तक्षेप र शान्तिको सिद्धान्तलाई अँगाल्नुपर्छ । साझा समृद्धि हासिल गर्न हामीले आत्मविश्वास र भरोसामा आधारित अनि भ्रष्टाचार र शंकारहित आसियानको निर्माणका लागि काम गर्नु छ । 

थाइल्यान्डको भविष्यका लागि जरा समानुभूतिमा गढेको पुँजीवाद नै वर्तमान सरकारले सिर्जना गरेका असंख्य सामाजिक–आर्थिक समस्याका साथै विभाजनहरूलाई सम्बोधन गर्ने एक मात्र उपाय हो भन्ने फेउ थाई पार्टीको मूल दृष्टिकोण रहेको छ । थाई अर्थतन्त्रको पुनर्निर्माण गर्न, हामीले खुला र स्वच्छ प्रतिस्पर्धालाई प्रोत्साहित गर्नुपर्छ । अल्पतन्त्र, नाता र कृपावादको सट्टा बजार–सञ्चालित नवप्रवर्तनलाई बढावा दिनुपर्छ ।

आयलाई अभिवृद्धि गर्ने र प्रभावकारी कल्याणकारी कार्यक्रम लागू गरेर, थाइल्यान्डले बढ्दो असमानताको सामना गर्न सक्छ । अघिल्लो अप्रिलमा मैले ‘वन फ्यामिली वन सफ्ट पावर (एक परिवार एक नरमशक्ति)’ योजनाको घोषणा गरेको थिएँ, जसको उद्देश्य थाई कामदारको सीप विकास गर्नु रहेको छ । हाम्रो लक्ष्य हाम्रा सबै नागरिकका निम्ति रोजगारी र आयका अवसर वृद्धि गर्ने र यसका लागि श्रमबलको क्षमताको लाभ उठाउने हो । फेउ थाईको सरकारमा हामी ‘थाइल्यान्ड क्रिएटिभ कन्टेन्ट एजेन्सी (थाका)को स्थापना गर्नेछौँ । यो सार्वजनिक तथा निजी क्षेत्रका सेवा प्रदायकलाई एक ठाउँमा ल्याउन, नियमनलाई व्यवस्थित गर्न र निजी क्षेत्रको प्रतिस्पर्धात्मकता बढाउन ऋण एवं कर प्रोत्साहन प्रदान गर्न डिजाइन गरिएको एकलद्वार निकाय हो । थाकाले उद्योग तथा कृषिमा अनुसन्धान र नवप्रवर्तनलाई पनि सहयोग गर्नेछ ।

यसबाहेक, प्रभावकारी सरकारी सहयोगसहित थाई सामानहरूलाई विश्वव्यापी आपूर्ति शृंखलामा पुनः एकीकृत गरिनेछ । हाम्रो लक्ष्य विदेशी व्यवसाय, संगठन, उत्सव र कार्यक्रमलाई आकर्षित गर्न यो मुलुकको रणनीतिक अवस्थिति तथा आसियान सदस्यता (जसले यसलाई ६६ करोडभन्दा बढी मानिसको बजारमा पहुँच प्रदान गर्छ)को लाभ उठाउने र विश्व अर्थतन्त्रमा थाइल्यान्डको स्थानलाई पुनस्र्थापित गर्ने रहेको छ ।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरीको नाताले मैले विश्वका धेरै नेतालाई भेट्ने र सफल कूटनीतिमा अन्तरदृष्टि हासिल गर्ने अनुपम अवसर पाएकी छु । प्रधानमन्त्रीको हैसियतले देशको विश्वसनीयतामाथिको विश्वास पुनस्र्थापित गर्नु मेरो जिम्मेवारी हुनेछ, जुन विगतका सरकारका गलत कार्यले ध्वस्त बनाएको छ । म एक विश्वसनीय वार्ताकारको रूपमा विश्वका नेता र लगानीकर्तासँग संलग्न हुन चाहन्छु अनि विधिको शासनलाई बहाल गर्ने र साँच्चै प्रतिस्पर्धी व्यावसायिक वातावरणलाई बढावा दिने सरकारको स्थापनाले आर्थिक वृद्धिलाई प्रोत्साहित गर्नेछ भन्ने मेरो विश्वास छ ।

दिगो र समावेशी अर्थतन्त्रलाई बढावा दिएर नै हामी थाइल्यान्डलाई आवश्यक नयाँ लगानी आकर्षित गर्नेछौँ । तर, आसियानको वित्तीय हब बन्ने हाम्रो लक्ष्य पूरा गर्न हामीले थाईहरूलाई आजको डिजिटल अर्थव्यवस्थाका चुनौतीको सामना गर्न आवश्यक पूर्वाधार र सीपले सुसज्जित गर्नुपर्छ ।

यसका लागि हामीले १६ वर्षमाथिका प्रत्येक नागरिकलाई १० हजार भाट (२९७ अमेरिकी डलर) को डिजिटल वालेट उपलब्ध गराउने योजना घोषणा गरेका छौँ । यसबाहेक, हामी ब्लकचेन टेक्नोलोजीलाई संघीय सरकारी प्रणालीमा एकीकृत गर्ने योजना बनाइरहेका छौँ ताकि सार्वजनिक सेवाहरूमा पहुँच बढाउन सकियोस् । यसले नागरिकहरूको जीवनमा सुधार ल्याउनेछ र थाइल्यान्डलाई अन्तर्राष्ट्रिय लगानीकर्ताको लागि थप आकर्षक बनाउनेछ ।

सन् २०१४ को ‘कु’पछि पहिलेका धेरै मित्र देशहरूले थाइल्यान्डमाथि प्रतिबन्ध लगाउनुका साथै सहायता कटौती गरेका छन् । फेउ थाईले सरकार बनाउन पाए अमेरिका, क्यानडा, दक्षिण अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, युरोपियन युनियन, जापान, दक्षिण कोरिया, चीन र बाँकी एसियासँग आफ्नो व्यापार साझेदारी विस्तार गर्न र देशको बिग्रिएको सम्बन्धलाई सुधार गर्न रातदिन काम गर्नेछ ।

विशेषगरी, हामी पश्चिमा देशसँगको सम्बन्धलाई पुनर्जीवित गर्न चाहन्छौँ । थाइल्यान्डको कुल गार्हस्थ उत्पादनमा १.६ प्रतिशतले वृद्धि गर्ने थाइल्यान्ड–इयू स्वतन्त्र व्यापार सम्झौतालाई अन्तिम रूप दिने कार्य हाम्रो उच्च प्राथमिकतामा पर्नेछ । यसले हाम्रा नागरिकलाई धेरै देशमा भिसामुक्त यात्रा गर्न सक्षम बनाउने छ र आर्थिक गतिविधि र अन्तर–सांस्कृतिक अन्तरक्रियालाई सहजीकरण गर्नेछ । 

फेउ थाई सरकार यस क्षेत्रका देश, विशेषगरी चीनसँगको सम्बन्ध सुदृढ गर्न पनि प्रतिबद्ध हुनेछ । छिमेकी लाओस हुँदै जाने उच्च गतिको रेलमार्फत चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा एकीकृत भएर हामीले तिनै देशबीच शान्ति, स्थिरता र समृद्धिलाई बढावा दिन सक्छौँ । हामी आसियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्न चाहन्छौँ र म्यान्मार, लाओस, कम्बोडिया र मलेसियाजस्ता छिमेकी मुलुकसँग हाम्रो आर्थिक सम्बन्ध बढाउन चाहन्छौँ । यी सम्बन्धलाई मजबुत बनाउन र व्यापार बढाउन फेउ थाईअन्तर्गतको थाइल्यान्डले सीमापार परियोजना अघि बढाउने, भन्सार प्रक्रियालाई मानवीकृत गर्ने, नियमनलाई व्यवस्थित गर्ने र विशेष आर्थिक क्षेत्र निर्माण गर्नेछ । यस सन्दर्भमा कम्बोडियासँगको संयुक्त विकास सम्झौतालाई अन्तिम रूप दिनाले ऊर्जा सुरक्षा र क्षेत्रीय सहयोगमा महŒवपूर्ण भूमिका खेल्न सक्छ ।

थाइल्यान्डले मानव अधिकारको रक्षा र अन्तर्राष्ट्रिय कानुनको परिपालनाविना आफ्नो विश्वव्यापी हैसियत पुनः प्राप्त गर्न र क्षेत्रीय नेताको रूपमा आफूलाई स्थापित गर्न सक्दैन । फेउ थाई देशभित्र र बाहिरका रोहिंग्याजस्ता जातीय अल्पसंख्यकलगायत सबै मानिसको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध छ । यसैगरी, सन् २०१४ को ‘कु’पछि वातावरणीय मुद्दालाई पनि बेवास्ता गरिएको छ । तर, कार्बन मूल्य निर्धारण, नवीकरणीय ऊर्जा, दिगो कृषि र विद्युतीय सवारी साधनहरूको अंगीकार आदि पनि थाइल्यान्डको आर्थिक एजेन्डाको शीर्ष सूचीमा हुनुपर्छ । म निर्वाचित भएमा थाइल्यान्डले सन् २०२१ मा हस्ताक्षर गरेको कोप–२६ सम्झौतालाई कायम राख्न र दिगो अर्थतन्त्र निर्माण गर्न प्रतिबद्ध छु । र, थाइल्यान्डका छिमेकीलाई दिगो कृषि अनुशरणमा प्रोत्साहित गर्न, हामी इयू र अमेरिकाले लगाइरहेकोजस्ता महसुलका छेकबार लागू गर्नेतर्फ विचार गर्नेछौँ ।

सन् २०१४ यता राजनीतिक भ्रष्टाचार र नातावाद, कृपावाद, आर्थिक अक्षमता र वातावरणीय ह्रासले थाइल्यान्डको विकासमा बाधा पुर्‍याइरहेको छ । विगत चार दशकमा हाम्रा मिहिनेती नागरिकले हासिल गरेको प्रगतिलाई मेटाएको छ । आर्थिक वृद्धिलाई बढावा दिएर, विधिको शासनलाई पुनस्र्थापित गरेर र लोकतान्त्रिक वैधतालाई पुनः हासिल गरेर मात्र सरकारले नागरिकको विश्वास पुनः आर्जन गर्न र देशलाई विश्व मञ्चमा सही स्थानमा पुर्‍याउन सक्छ । म त्यही गर्ने प्रण गर्छु । 

–प्रोजेक्ट सिन्डिकेटबाट

(फेउ थाई पार्टीकी प्रमुख सिनावात्रा प्रधानमन्त्रीकी उम्मेदवार पनि हुन्)

ad
ad