मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० बैशाख ३० शनिबार १३:४३:००
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

ब्ल्याक बेल्ट दीपक : भारतमा लुकेर सिकेको सीप गाउँमा सिकाउँदै

Read Time : > 2 मिनेट
२०८० बैशाख ३० शनिबार १३:४३:००

इस्मा गाउँपालिकाका विभिन्न विद्यालयका चौरमा भेटिन्छन् २७ वर्षीय दीपक घर्ती। विभिन्न अवरोध झेलेरै भारतमा तेक्वान्दो सिकेका दीपक अहिले गाउँमै तेक्वान्दो सिकाउँछन्।

इस्मा– ३ दर्लाचौरमा जन्मिएका उनले सानैदेखि भारतमा पढे। परिस्थितिले गर्दा कक्षा ८ भन्दामाथि पढ्न भने पाएनन्। दीपक ०५६ सालमा परिवारसँग भारत पसेका थिए। परिवारको खर्च जोहोका लागि उनले सानै उमेरबाट होटेलमा कुकको काम सुरु गरे। सानैदेखि डब्लुटिएफ तेक्वान्दो सिक्ने रहर भए पनि आर्थिक अभावका कारण सिक्न पाएका थिएनन्।

१४ वर्षको उमेरमै काम गर्न थालेका उनले पछि कामसँगै डब्लुटिएफ तेक्वान्दोको अभ्यास थाले। उनलाई खेलको रहरसँगै परिवारको पालनपोषणको कहर पनि थियो। तेक्वान्दो खेल्दा चोटपटक लाग्ने भएकाले छिमेकीमा यसलाई राम्रो मान्दैनथे। परिवारलाई पनि काम बिग्रने डर थियो। दीपकको परिवार उनले तेक्वान्दो खेलेकोमा खुसी भएन।

लुकेरै भए पनि तेक्वान्दो खेल्न थाले दीपक। कामबाट फुर्सद मिलाउन र परिवार ढाँटेर अभ्यास गर्न त्यति सजिलो भने नभएको उनी सम्झन्छन्। बीचमा विभिन्न समस्या आए पनि निरन्तर काम र खेललाई सँगै अघि बढाएका उनले ०७० सालमा अल इन्डिया तेक्वान्दो एकेडेमीबाट ब्ल्याक बेल्ट पाए।

ब्ल्याक बेल्टसँगै दीपकले एउटा अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएका थिए। उनी ‘इन्टरनेसनल खुला तेक्वान्दो च्याम्पियनसिप’मा जुनियरमध्येबाट सहभागी हुने भारतका ५० खेलाडीमध्येका एक हुन्। उनी सो च्याम्पियनसिपमा प्रथम भए।

भारतका जुनियर र सिनियर गरी सातभन्दा बढी खेलमा उनले सहभागिता जनाएका छन्। सातमध्ये पहिलो हरियाणा राज्यको खेलमा उनी प्रथम भएका थिए। त्यसपछि भारतमा थुप्रै क्षेत्रीय र राष्ट्रियस्तरका खेलमा राष्ट्रिय खेलाडीको रूपमा सहभागी बने। मिडियाहरूमा चर्चा कमाएपछि मात्रै परिवारले दीपक तेक्वान्दो खेल्न थालेको पत्तो पाए। ‘परिवारले खेल्न नै नदिनेमा ढुक्क थिएँ। निकै दुःख झेलेर ब्ल्याक बेल्ट र प्रतियोगिताहरूमा भिडेँ,’ उनले विगतलाई सम्झिए।

तर, अहिले भने दीपकको परिवार खुसी छ। भारतमै तीन वर्ष प्रशिक्षकका रूपमा काम गरेपछि अहिले उनी परिवारसहित गाउँ फर्किएका छन्। बुबा टंकबहादुर घर्ती छोराको खेलबाट आफू निकै खुसी भएको बताउँछन्। ‘सुरुमा त पैसा थिएन। खेलभन्दा घरखर्चको जोहो ठूलो कुरा रहेछ,’ उनले भने, ‘छोराछोरीको प्रतिभा बेलैमा पहिचान गरेर अगाडि बढ्न दिनुपर्ने रहेछ।’

आफ्नै गाउँमा तेक्वान्दो प्रशिक्षण
इस्माका चौरहरूमा प्रशिक्षार्थीहरूसँगै उफ्रिरहेका भेटिन्छन् दीपक। थुप्रै खेलमा उत्कृष्ट प्रदर्शन देखाएकाले भारतमै कैयौँ अवसर पाए पनि उनलाई जन्मभूमिको मायाले तान्यो। गुरु इन्द्रबहादुर रानासहित भारतमा खेल सिकेर उनी नेपाल फर्किए। ०७२ सालबाट नवलपरासीको अरुण खोलामा प्रशिक्षण सुरु गरे।

नवलपरासीमा करिब पाँच वर्ष डब्लुटिएफ तेक्वान्दो सिकाएपछि पछिल्लो ढाई वर्षदेखि उनी गृहजिल्ला गुल्मी आएका छन्। उनी आएपछि जिल्लामा तेक्वान्दो संघ स्थापना गरे। उनले इस्मा गाउँपालिकाको वडा नं १, २, ३ र ४ का विद्यालयका करिब ८० विद्यार्थीलाई तेवान्दो सिकाउँदै आएका छन्। हप्तामा चार दिन प्रत्येक स्थानमा एकदेखि डेढ घण्टा प्रशिक्षण दिने गरेका छन्।

महिनामा कमाउनेले २० हजारले मोटरसाइलमा पेट्रोल राख्न पनि नपुग्ने भए पनि आफूले लुकेर प्राप्त गरेको खेल गाउँका खुलेर सिकाउन पाउँदा दीपकले खुसी व्यक्त गरे। ‘मैले पैसा ठूलो सोचेको भए भारतमै राम्रो थियो। खेल र गाउँको मायाले स्वदेश फर्किएँ,’  उनले भने।

सरकारी बेवास्ताले खेल क्षेत्र ओझेलमा
नेपालमा खेल र खेलाडीप्रति सम्मान र सुविधा नभएकोमा भने दीपकको गुनासो छ। डब्लुटिएफ तेक्वान्दो कभर्ड हलमा खेल्ने खेल भए पनि संरचना अभावमा खुला चौरमा प्रशिक्षण चलाउनुपर्ने बाध्यता रहेको उनले बताए।

‘मेरो दुःखभन्दा बिडम्बना खेलाडी र खेल क्षेत्रलाई सरकारले बुझेन्,’ उनले भने। सहरभन्दा गाउँमा खेलप्रति सम्मान र ऊर्जा कम भएको उनको बुझाइ छ। ‘गाउँका गरिब युवा खेल्न उत्साहित छन्, तर पैसा छैन। सहरमा पैसा हुनेका छोराछोरीसँग खेलमा रहर छैन,’ उनले भने। खेलप्रति राज्यकै सोच नबदलिएसम्म यो अवस्था बदल्न नसकिने दीपक बताउँछन्।