
धादिङको गल्छी गाउँपालिका– ८ का विनोद थापामगरको धारिलो हतियार प्रहारपछि ज्यान गएको छ । होटेलमा सामान्य विवादका कारण चक्कु प्रहार गरी घाइते भएका थापामगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
एसपी मिश्रले भने, ‘याे बुधबारको घटना हो । ग्राहकको रूपमा होटेलमा आएका विनोद र होटेल सञ्चालकबीच सामान्य भनाभन भएपछि घटना घटेको हो । चक्कु प्रहार गरी घाइते बनेका थापामगरको उपचारका क्रममा ज्यान गयो । छानबिनका लागि होटेल सञ्चालक सरस्वती पण्डित र उनका छोरा नीरज पण्डित प्रहरीको नियन्त्रणमा छन् । होटेलमा खाना खान आएका अन्य चारजना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।’
अहिले गल्छी–नुवाकोट–त्रिशूली सडकखण्ड अवरुद्ध भएको छ । घटनापछि पीडित पक्षले उक्त सडकखण्ड अवरुद्ध गरेकाे हाे ।