Skip This
नौ महिनामा भित्रियो नौ खर्ब रेमिट्यान्स
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ जेठ १६ बुधबार o६:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नौ महिनामा भित्रियो नौ खर्ब रेमिट्यान्स

रेमिट्यान्स उच्चदरमा बढ्दा अर्थतन्त्रमा भरथेग, बाह्य क्षेत्र निरन्तर सन्तुलनमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार o६:१९:oo

वैदेशिक रोजगारीमा जानेको संख्यासँगै रेमिट्यान्स अप्रवाह उच्चदरमा बढेको छ । चालू आर्थिक वर्षको नौ महिनामा नौ खर्ब ३ अर्ब रुपैयाँबराबर रेमिट्यान्स भित्रिएको छ । जुन गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनामा रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो । 

नेपाल राष्ट्र बैंकका अनुसार चैतमा पछिल्ला नौ महिनायताकै सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । चैतसम्मको तथ्यांकलाई हेर्दा मासिक औसत एक खर्ब तीन अर्ब रुपैयाँबराबर रेमिट्यान्स भित्रिरहेको देखिन्छ । चैतमा चालू आर्थिक वर्षकै सर्वाधिक एक खर्ब नौ अर्बको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यस अवधिमा अमेरिकी डलरमा ६ अर्ब ९२ करोडको रेमिट्यान्स भित्रिएको हो । डलरमा यस्तो वृद्धिदर १३.९ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो । 

चैतसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले बढेको छ । यसबीच श्रम स्वीकृति लिनेको संख्या तीन लाख ८७ हजार आठ सय ३९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई दुई लाख १७ हजार नौ सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या करिब दुई सय प्रतिशतले 
बढेको थियो । 

 शोधनान्तर एक खर्ब ८० अर्बले बचतमा
रेमिट्यान्स उच्चदरमा बढेसँगै शोधनान्तर अवस्थासमेत सन्तुलित देखिएको छ । देशबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी भएपछि शोधनान्तर स्थिति एक खर्ब ८० अर्बले बचतमा पुगेको छ । गत आर्थिक वर्षको नौ महिनामा यो दुई खर्ब ६२ अर्बले घाटामा थियो । गत भदौसम्म शोधनान्तर २३ अर्ब ६८ करोड रुपैयाँ घाटामा थियो । पछिल्लो समय सोधनान्तरमा निरन्तर सुधार आएकाले बचत हुन पुगेको हो । शोधनान्तर स्थिति बचतमा गएसँगै बैंक तथा वित्तीय संस्थामा तरलता प्रवाह सहज हुँदै जाने देखिएको छ । 

रेमिट्यान्स बढेकै कारण शोधनान्तर पनि उल्लेख्य बचतमा गएको हो । यद्यपि, आयातमा भने वृद्धि भएको छ । शोधनान्तर स्थिति बचत हुने क्रम बढ्दै जाँदा यसले निक्षेप संकलनमा समेत सुधार आएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.२ प्रतिशत छ । 

बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि अर्थतन्त्र संकुचित भएकाले सन्तोषजनक हुने ठाउँ नरहेको अर्थशास्त्रीहरूको भनाइ छ । नेपाल राष्ट बैंकका पूर्वकार्यकारी निर्देशक केशव आचार्यले अहिलेको सुधार क्षणिक मात्रै भएकाले सुधार हुनुपर्ने अझै बाँकी रहेको बताए । उनले भने, ‘अहिलेको सुधार ट्रान्जेटरी मात्रै हो । आयातको लय पहिलेभन्दा फरक छैन । राष्ट्रिय तथ्यांक कार्यालयले अर्थतन्त्र ऋणात्मक भएको तथ्य सार्वजनिक गरिसकेको छ । बाह्य क्षेत्रमा आएको क्षणिक सुधारलाई समग्र अर्थतन्त्रको सुधार मान्न मिल्दैन ।’ 

 दुई आवकै सबैभन्दा धेरै सञ्चिति
विदेशी मुद्राको सञ्चितिमा पनि सुधार देखिएको छ । एक महिनामै सञ्चिति ३२ अर्ब ५२ करोड रुपैयाँले बढेर १४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । यो भनेको पछिल्लो दुई आर्थिक वर्षकै उच्च सञ्चिति हो । यो सञ्चितिले अब ११ महिनाको वस्तु र ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्छ । यसअघि सञ्चिति घटेर ६.६ महिनासम्म धान्ने अवस्थामा झरिसकेको थियो । 

 महँगी बढ्यो
त्यस्तै, चैतमा मुद्रास्फीति बढेर ७.७६ प्रतिशत पुगेको छ । अघिल्लो महिना महँगी दर ७.४४ प्रतिशतमा सीमित थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८.४२ प्रतिशत रहेको छ । चैतमा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मूल्यवृद्धि रहेको राष्ट्र बैंकले जनाएको छ ।

तर,जोखिम कायमै
मासिक आयात पछिल्लो नौ महिनाकै उच्च छ । चैतमा मात्रै एक खर्ब ४३ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको हो । चालू आर्थिक वर्षमा औसत एक खर्ब ३३ अर्ब रुपैयाँ मासिक आयात हुने गरेको छ । राष्ट्र बैंकका अनुसार चैतसम्म १२ खर्बको वस्तु आयात भएको हो । गत आर्थिक वर्षको अन्त्यसम्म १९ खर्ब २० अर्बको आयात भएको थियो । पोहोर चैतको तुलनामा ३२ प्रतिशत आयात बढेको राष्ट्र बैंकले जनाएको छ ।

आयात बढ्दै गयो र मूल्यवृद्धि यत्तिकै चापमा बस्ने हो भने विदेशी मुद्रा फेरि क्षयीकरण हुन सक्ने पूर्वकार्यकारी निर्देशक केशव आचार्य बताउँछन् । नौ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आई १ खर्ब १८ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो ।

चालू खातामा घाटा पनि बढेको छ । भदौमा ३७ अर्ब १८ करोड पुगेको घाटा चैतमा ५१ अर्ब ८२ करोड पुगेको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा चार अर्ब २७ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा पुगेको छ । ‘सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । मूल्यवृद्धि चापमै छ । बाह्य क्षेत्रमा तीन महिनायता सुधार देखियो भन्दैमा यसलाई टिकाउ मान्न सकिँदैन’ अचार्यले भने, ‘उत्पादन बढाउन नसकिएसम्म जोखिम कायम नै हुन्छ ।’

ad
ad
ad
ad