१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २७ बुधबार १३:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद पन्तको प्रश्न- धुलो लागेर बसेको नागरिकता विधेयक टक्टक्याउँदै राष्ट्रपतिले जारी गर्न मिल्छ ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २७ बुधबार १३:o२:oo

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। 

सांसद पन्तले संघीय संसदमा छलफल गरेर पारित गर्नुपर्ने विषयलाई राष्ट्रपतिले छलफल गरिरहनु संविधानको स्पिरिटअनुसार पनि नमिल्ने भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। 

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले संविधानको संरक्षकको रूपमा रहेको राष्ट्रपतिले आफ्नो कार्यालयमा थन्किएर बसेको सो विधेयकलाई छलफल गर्न नमिल्ने तर्कसमेत गरे। 

उनले सो विधेयक तत्काल संसदमा पेस गर्न सरकारसँग माग पनि गरे। आफूहरू सो विधेयकलाई दिनरात छलफल गरेर छिटो पारित गर्न तयार रहेको सांसद पन्तको भनाइ थियो।

उनले भने, ‘राष्ट्रपतिले छलफल गरिरहनुभएको छ, निष्क्रिय भएर थन्किएर बसेको नागरिकता विधेयकमा। म सरकारलाई आग्रह गर्दछु– त्यो नागरिकता विधेयक तुरुन्त यो प्रतिनिधिसभाका ल्याएर दर्ता गरोस्। त्यसमाथि छलफल सुरु गरोस्। हामी त्यसलाई छिटोभन्दा छिटो छलफल गरेर, दिनरात छलफल गरेर पारित गर्न तयार छौँ। तर, धुलो लागेर बसेको विधेयकलाई टक्टक्याउँदै राष्ट्रपति झिकेर यो जारी गर्न मिल्छ कि मिल्दैन भनेर छलफल गर्न संविधानको स्पिरिटले दिन्छ? संविधानको संरक्षकले गर्ने काम हो यो? म राष्ट्रपतिज्यूलाई विनम्रतापूर्वक आग्रह गर्दछु– यो प्रतिनिधिसभाको, राष्ट्रिय सभाको अधिकार उहाँबाट नखोसियोस्। यो विधेयक यहाँ आउनुपर्‍यो। विधेयक जारी गर्ने, त्यसलाई छलफल गर्ने, त्यसलाई कानुन बनाउन प्रारम्भिक काम गर्ने दायित्व हाम्रो हो। यो अधिकारको सुरक्षा होस्।’